आहा सञ्चार संबाददाता
यसवर्षको यदु स्मृति पत्रकारिता पुरस्कार रुकुमका पत्रकार नारायणकुमार शाहलाई प्रदान गरिएको छ । १९ औं यदु स्मृति दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजना गरिएको यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा रेडियो सिस्ने रुकुमका स्टेशन प्रमुख समेत रहेका पत्रकार शाहलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले पुरस्कार प्रदान गरे । पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ । यदु स्मृति प्रतिष्ठान रुकुमको आयोजना र नेकपा एमाले रुकुम–काठमाडौं सम्पर्क मञ्चको व्यवस्थापनमा उक्त कार्यक्रम गरिएको हो । २०५५ साल फागुन २१ गते आम निर्वाचनको प्रचार प्रसारको कामको शिलशिलामा रुकुमको गरायलामा तत्कालीन नेकपा माओवादीले हत्या गरेका थिए । यदु गौतम तत्कालीन समयमा नेकपा एमाले रुकुमका सचिव तथा प्रतिनिधि सभा निर्वाचनमा रुकुम क्षेत्र नं. २ बाट उम्मेदवार थिए । निर्वाचन नहुँदै उनको हत्यापछि श्रीमति तिर्था गौतम उम्मेदवार भई विजयी समेत भएकी थिईन । यदु गौतमको हत्यापछि यदु स्मृति प्रतिष्ठान गठन गरी प्रत्येक बर्ष हत्या हिंसाको विरुद्धमा कलम चलाउने पत्रकारलाई यसरी पुरस्कृत गर्ने कार्यक्रम गर्दै आएको प्रतिष्ठानका अध्यक्ष एवं नेकपा एमाले रुकुमका उपाध्यक्ष ऋषिप्रसाद जैसीले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु