आहा संचार संबाददाता
रुकुम ११, माघ
रुकुमका प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले जिल्ला स्थित कुनै पनि सरकारी कार्यालयबाट सहज रुपमा सूचना पाईएन भने आफुलाई खबर गर्न अनुरोध गरेका छन । पत्रकार मात्र नभएर आम नागरिक सबैलाई सार्बजनिक महत्वको सूचनाको हक भएको बताउदै उनले कानुनले नै दिन नमिल्ने भनेर उल्लेख गरेका सूचना बाहेक अन्य सबै सूचना सहज रुपमा उपलब्ध गराउन प्रशासन हरदम तयार रहेको उनले बताए । नेपाल पत्रकार महासंघ रुकुमले बिहिबार मुसिकोटमा आयोजना गरेको सुचनाको हक सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा यस्तो कुरा बताएका हुन ।
‘कुनै पनि सूचना अधिकारी वा कार्यालय प्रमुखले तपाईले मागेको सूचना दिएन भने मलाई त्यसको लिखित वा मौखित जानकारी गर्नुहोस’ प्रजिअ आचार्यले भने, ‘सूचनाको हक सम्बन्धी ऐन अनुसारको सूचना पत्रकार वा आम नागरिकले प्राप्त गर्न रुकुममा सानातिना समस्या बाहेक खासै समस्याको रुपमा देखेको छैन ।’ देखिएका सानातिना समस्यामा समाधानका लागि आफुले प्रत्येक महिना हुने कार्यालय प्रमुखहरुको बैठकमा राख्दै आएको र आगामी दिनहरुमा पनि राख्ने उनको भनाई थियो । कार्यक्रममा रुकुमका पत्रकारहरुले गरेको सरकारी तथा अन्य निकायहरुबाट आवश्यक सूचना सहज रुपमा नपाएको गुनासो समेत गरेका थिए ।
स्थानीय सरकार बन्दा समेत मागेको सूचना दिने र कार्यालयमा भएका सूचना पनि स्वत रुपमा प्रबाह गर्ने कार्यमा प्रभावकारी काम हुन नसकेको कार्यक्रमका सहभागीहरुले बताएका थिए । पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश चिन्तनले सुचनालाई सहज बनाउनका लागी सम्बन्धीत निकायले ध्यान दिनुपर्ने बताए । कार्यक्रमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख र पत्रकारहरुको सहभागीता थियो ।