आगामी चैत महिनामा रुकुम (पूर्व) जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र तकसेरामा बृहत् आँखा शिविर हुने भएको छ । कर्मफ्लाइट्स फाउन्डेसन नेपाल, हिमालय आँखा अस्पताल पोखरा, आई कियर फाउन्डेसन र पुथा उत्तरगङ्गा गाउँपालिकाको संयुक्त आयोजनामा मोतियाविन्दु रोगको लागि विशेष आँखा शिविर हुन लागेको कुरा कर्मफ्लाइट्स फाउन्डेसन नेपालका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले बताएका छन् ।

चैत ९ गतेदेखि १५ गतेसम्म गाउँपालिकाका विभिन्न ७ वटा केन्द्रमा आँखाको जाँच हुनेछ र १६ र १७ गते तकसेरामा आँखाका बिरामीको अप्रेसन हुने बताइएको छ । चैत ९ गते वडा नं ८ को स्वास्थ्य कार्यालय रिबाङचौर, चैत १० गते वडा नं १४ राङ्सीको स्वास्थ्य कार्यालय, चैत ११ गते वडा नं १२ कोलको स्वास्थ्य कार्यालय, चैत १२ गते वडा नं १ मैकोटको स्वास्थ्य कार्यालय, चैत १३ गते वडा नं ५ हुकामको स्वास्थ्य कार्यालय, चैत १४ गते वडा नं ६ को डिम्मुरगैरा र चैत १५ गते वडा नं १० तकसेराको स्वास्थ्य कार्यालयमा पहिलो आँखाको चेकजाँच हुने कुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुब बिकले बताएका छन् ।

आँखा शिविरमा सयौं मानिस लाभान्वित हुने कुरा पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले बताए । यसपालिको आँखा शिविरमा आँखा जाँच गर्ने केन्द्र नजिक हुने भएको हुँदा सयौं जनता यो कार्यक्रम मार्फत लाभान्वित हुने कुरा स्थानीय समुदायको अनुमान रहेको उनको भनाई छ । तकसेरामा हुने मोतियाविन्दुको अप्रेसनमा हिमालय आँखा अस्पतालका बरिस्ठ डाक्टरहरूबाट हुने कुरा कर्मफ्लाइट्स फाउन्डेसनका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले बताएका छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...