भिम बुढाथोकी
आजको विश्व शान्तिको खोजीमा होइनकी शक्तिको प्रदर्शनमा दौडिरहेको देखिन्छ । मानव सभ्यताले यति धेरै वैज्ञानिक उपलब्धि, प्राविधिक उन्नति र ज्ञानको विकास गरेको भए पनि मानवीय संवेदना भने दिन प्रतिदिन संकुचित हुँदै गएको अनुभूति हुन्छ । युक्रेनको ध्वस्त शहर, प्यालेस्टाइनका भग्नावशेषमा जीवन खोजिरहेका बालबालिका र हालै अन्तर्राष्ट्रिय राजनीतिमा गम्भीर बहस र विवादको विषय बनेका केही घटनाक्रम जहाँ शक्तिशाली राष्ट्रहरूले सार्वभौम मुलुकको नेतृत्व र निजी जीवनसम्म हस्तक्षेप गरेको आरोप लागेका छन्।यी सबैले एउटै गहिरो प्रश्न उठाउँछनः के आजको विश्व व्यवस्थामा साना र कमजोर राष्ट्रको सार्वभौमसत्ता वास्तवमै सुरक्षित छ ?

युक्रेन युद्ध आधुनिक शक्ति राजनीतिको ज्वलन्त उदाहरण बनेको छ । यो युद्ध केवल दुई राष्ट्रबीचको सीमित द्वन्द्व होइन ।यो त विश्व शक्तिहरू बीचको रणनीतिक प्रतिस्पर्धाको परिणाम हो जसको मूल्य युक्रेनी जनताले चुकाइरहेका छन् । शहरहरू उजाड बने, लाखौँ मानिस विस्थापित भए, परिवार टुक्रिए र भविष्य अनिश्चित बन्यो । तर युद्ध किन भयो र कसको स्वार्थका लागि भयो भन्ने प्रश्नको उत्तर युक्रेनका सर्वसाधारण नागरिकसँग छैन। जब कुनै राष्ट्र कुनै एक शक्ति गठबन्धनको अत्यधिक नजिक पुग्छ तब उसले आफ्नो स्वतन्त्र निर्णय क्षमता गुमाउन थाल्छ र अन्ततः उसको भूगोल नै युद्धको रंगमञ्च बन्न पुग्छ । युक्रेनको पीडाले यही कठोर सत्य संसारलाई देखाइरहेको छ ।

यही पीडाको अर्को अनुहार प्यालेस्टाइनमा दशकौँदेखि देखिँदै आएको छ। प्यालेस्टाइन कुनै एक युद्धको कथा होइनकी यो निरन्तर पीडाको इतिहास हो । पुस्तौँ पुस्ताले विस्थापन, हिंसा र अनिश्चिततामा जीवन बिताइरहेका छन् । अस्पताल, विद्यालय र शरणस्थल सम्म सुरक्षित नहुनु मानव सभ्यताको सबैभन्दा ठूलो विडम्बना हो। विश्व शक्ति विभाजित हुदा कोही खुलेर बोल्छन्, कोही मौन बस्छन्, कोही आफ्ना रणनीतिक हितका कारण पक्ष लिन्छन् । मानव अधिकारको भाषा सबैले बोल्छन् तर व्यवहारमा त्यो भाषा शक्तिको तराजुमा तौलिन्छ । यसले प्रमाणित गर्छ कि अन्तर्राष्ट्रिय राजनीति नैतिकताले होइनकी स्वार्थले निर्देशित हुन्छ ।
यस्ता घटनाक्रमहरूको पृष्ठभूमिमा भेनेजुएला सम्बन्धी हालैका विवादास्पद प्रसङ्गहरूले साना राष्ट्रहरूलाई झनै चिन्तित बनाएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यम र राजनीतिक बहसमा आएका आरोपहरू अनुसार शक्तिशाली राष्ट्रहरूले सार्वभौम मुलुकको नेतृत्व, उनीहरूको परिवार वा आन्तरिक राजनीतिक प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप गरेको चर्चा भयो। यी आरोपहरूको अन्तिम सत्यता कानुनी र कूटनीतिक तहमा छुट्टै विषय हुन सक्छ ।तर यसले एउटा गहिरो सन्देश भने स्पष्ट रूपमा दिएको छकि आजको विश्वमा सार्वभौमिकता कमजोर राष्ट्रका लागि सधैं सुरक्षित छैन ।
जब कुनै राष्ट्र शक्तिशालीहरूको स्वार्थ अनुकूल नचल्ने प्रयास गर्छ तब उसमाथि विभिन्न प्रकारका दबाब सिर्जना हुन सक्छन् । यहि यथार्थले नेपाल जस्तो सानो, भौगोलिक रूपमा संवेदनशील र ऐतिहासिक रूपमा स्वतन्त्र राष्ट्रलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनाउँछ । नेपाल कुनै एक शक्ति केन्द्रको छायामा सुरक्षित हुन सक्दैन । इतिहासले देखाइसकेको छकि सानो राष्ट्रको सुरक्षा शक्तिको नजिकतामा होइन, सन्तुलन, सिद्धान्त र आत्मसम्मानमा निहित हुन्छ । नेपालले विगतमा नाकाबन्दी, दबाब र बाह्य हस्तक्षेपका अनुभवहरू भोगेको छ। त्यसैले नेपालको परराष्ट्र नीति कुनै क्षणिक लाभ, भावनात्मक आवेग वा बाह्य दबाबमा आधारित हुन सक्दैन ।

असंलग्न परराष्ट्र नीति नेपालका लागि कुनै वैचारिक विलासिता होइन ।यो अस्तित्वको प्रश्न हो। असंलग्न हुनु भनेको विश्वबाट अलग हुनु होइन बरु सबैसँग समान दूरीमा उभिएर समान सम्मानका आधारमा सम्बन्ध राख्नु हो। कुनै एक राष्ट्रको अत्यधिक नजिक हुनु भनेको अरूबाट टाढा हुनु हो र अन्ततः आफ्नो निर्णय क्षमतालाई सीमित गर्नु हो। नेपालले कसैसँग शत्रुता होइनकी सबैसँग मित्रता खोज्नुपर्छ । बराबरीको आधारमा र आत्मसम्मान सहितको सम्बन्ध हुन सक्नु पर्दछ ।
पञ्चशीलको सिद्धान्त यही बराबरीको दर्शनको मूर्त रूप हो । एकअर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान, आक्रमण नगर्ने नीति, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता, समानता र पारस्परिक लाभ र शान्तिपूर्ण सहअस्तित्वको यी सिद्धान्तहरू आजको विश्वमा झनै सान्दर्भिक भएका छन्। युक्रेन, प्यालेस्टाइन वा अन्य कुनै द्वन्द्वग्रस्त क्षेत्रलाई हेर्दा स्पष्ट देखिन्छकी जब यी सिद्धान्तहरू व्यवहारमा लागू हुँदैनन् तब मानवता नै पराजित हुन्छ ।

नेपालले यदि कुनै एक राष्ट्र वा शक्ति केन्द्रको अत्यधिक नजिक जाने बाटो रोज्यो भने त्यो केवल कूटनीतिक गल्ती मात्र हुनेछैन।त्यो दीर्घकालीन राष्ट्रिय जोखिम हुनेछ । विदेशी सैन्य रणनीति, सुरक्षा सम्झौता वा शक्ति प्रतिस्पर्धामा अनावश्यक संलग्नताले नेपाललाई भविष्यका द्वन्द्वहरूको सम्भावित मैदान बनाउन सक्छ । सानो राष्ट्रका लागि सबैभन्दा ठूलो बुद्धिमानी भनेको सबैसँग मीठो सम्बन्ध राख्नु हो । तर कसैको कठपुतली नबन्नु हो । आजको विश्व बन्दुक र मिसाइलबाट बाट चलेको दृष्टान्त भर्खर देखा पर्यों ।आर्थिक प्रतिबन्ध, सूचना युद्ध, साइबर आक्रमण र कूटनीतिक दबाब आधुनिक युद्धका नयाँ रूप हुन्। यस्ता अदृश्य युद्धहरूमा फस्न नदिन नेपालले आफ्नो परराष्ट्र नीतिमा स्पष्टता, पारदर्शिता र सन्तुलन कायम गर्नुपर्छ । असंलग्नता भनेको निष्क्रियता होइन।यो सक्रिय सन्तुलन हो,जहाँ नेपाल विश्वका सबै राष्ट्रसँग संवाद ,सहकार्य र आफ्नो स्वतन्त्र निर्णय क्षमतालाई कहिल्यै सुम्पँदैन ।

नेपाल बुद्धको जन्मभूमि हो भन्ने तथ्य केवल सांस्कृतिक गौरवको विषय होइन । यो विश्वप्रति नेपालको नैतिक जिम्मेवारी हो । बुद्धले सिकाएको मार्ग हिंसाको होइनकि बरु करुणा र मध्यम मार्गको हो । विश्व शक्ति र प्रतिशोधको चक्रमा फसिरहेको बेला नेपालले शान्ति, संवाद र सहअस्तित्वको आवाज बुलन्द गर्न सक्नु पर्दछ । तर त्यसका लागि पहिले नेपाल स्वयं दृढ हुनुपर्छ । हामी कुनै एक पक्षका होइनौंकि हामी मानवताको पक्षमा छौं ।
युक्रेनको जलिरहेको भूमि, प्यालेस्टाइनका रोइरहेका बालबालिका र अन्तर्राष्ट्रिय राजनीतिमा भर्खरै अमेरिकाले भेनेजुएलामा देखाएको विवादास्पद हस्तक्षेपका आरोपहरूले नेपाललाई चेतावनी दिइरहेका छन् । ती घटनाहरू फरक भूगोलमा घटे पनि सन्देश एउटै छकी सानो राष्ट्रले शक्ति होइनकि असल नीति रोज्नुपर्छ। नेपालले यदि आज असंलग्नता र पञ्चशीललाई व्यवहारमा उतारेन भने भोलि इतिहासले हामीलाई कठोर प्रश्न सोध्नेछ ।

अन्ततः नेपालको हित कुनै एक राष्ट्रको छायामा सुरक्षित छैन । नेपालको हित सबैसँग बराबरी, सम्मान र मैत्रीपूर्ण सम्बन्धमा सुरक्षित छ । मित्रता दासत्वमा बदलिनु हुँदैन । सहकार्य आत्म समर्पणमा रूपान्तरण हुनु हुँदैन । यही सन्तुलन नै नेपालको शक्ति हो । आजको अशान्त विश्वमा नेपालले यही बाटो रोज्नुपर्छकि असंलग्नता,पञ्चशीलको सिद्वांत ,सबैसँग मीठो तर आत्मसम्मान सहितको सम्बन्धको असल कूटनीतिक बाटो हो । यही बाटो नै नेपालको सार्वभौमिकता, स्थिरता र भावी पुस्ताको सुरक्षित भविष्यको एकमात्र आधार हो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...