भिम बुढाथोकी
इतिहास कहिल्यै टाढाको कथा मात्र हुँदैन । कहिले काहीँ त्यो अर्कै देशको नाममा लेखिन्छ । तर पीडा, असफलता र चेतावनी हाम्रो आफ्नै समाजसँग ठोक्किएर आउँछ । बुल्गेरियाको राजनीतिक यात्रा आज नेपालका लागि त्यस्तै एउटा ऐना बनेको छकी जहाँ हेर्दा त्यहाँको अनुहार देखिन्छ । तर प्रतिबिम्बमा आफ्नै थकित लोकतन्त्र झल्किन्छ । बुल्गेरियाले विश्वलाई एउटा कठोर तर सत्य पाठ दिएको छकी नेता तथा राजनीतिमा दर्शन, विचार, नीति, रोडम्याप, अठोट र इमानदारी भएन भने नयाँ सरकार मात्रै बनेर सुशासनमा स्थिरता आउदो रहेनछ ।
योग्य र सक्षम नेतृत्व नहुँदा देश स्थायी अस्थिरताको दलदलमा फस्दो रहेछ । बुल्गेरिया कुनै तानाशाही राज्य थिएन । त्यहाँ चुनाव हुन्थे, सरकार बन्थ्यो, संसद् चल्थ्यो । कागजमा सबै कुरा लोकतान्त्रिक थिए । तर व्यवहारमा राजनीति क्रमशः खोक्रो हुँदै गइरहेको थियो । भ्रष्टाचार संस्थागत थियो, शक्ति सीमित समूहको वरिपरि घुम्थ्यो र जनता केवल मतदाता मात्र बन्दै गएका थिए । यही निराशाको गर्भबाट त्यहाँ जेन–जीको आन्दोलन जन्मिएको थियो । जेन–जी त्यो पुस्ता हो जसले पुरानो भाषणमा विश्वास गर्दैन । उनीहरू प्रश्न गर्छन्, प्रमाण खोज्छन् र परिणाम माग्छन् । बुल्गेरियामा पनि यही पुस्ता सडकमा उत्रियो । “अब पुग्यो” भन्ने भावनाले सिंगो समाजलाई छुयो । सामाजिक सञ्जाल देखि सडकसम्म युवाको आवाज गुञ्जियो । त्यो आन्दोलन केवल सत्ता परिवर्तनका लागि थिएनकी त्यो राजनीतिक संस्कारको परिवर्तनको आकांक्षा थियो । तर समय बित्दै जाँदा त्यो आकांक्षा अपेक्षित परिवर्तनमा रूपान्तरण हुन सकेन । सरकार फेरियो, गठबन्धन बदलियो, नयाँ अनुहार देखा परे । तर शासनको आत्मा बदलिएन । यहीँ प्रश्न जन्मिन्छकी यति सचेत जेन–जीको यति ठूलो जनदबाब हुँदाहुँदै पनि बुल्गेरिया किन परिवर्तन हुन सकेन ?
यसको उत्तर आन्दोलनको कमजोरीमा होइनकी नेतृत्वको संरचनामा थियो।बुल्गेरियामा आन्दोलन भयो तर साझा दीर्घकालीन दृष्टिकोण र विचार थिएन । युवाले भ्रष्टाचार, पुरानो सत्ता खेल, उत्तरदायित्वहीनता जस्ता विषयको विरोधमा थिए।बास्तवमय नीति, रोडम्याप र संस्थागत खाका बलियो बन्न सकेन । आन्दोलन भावनामा बलियो थियो तर राज्य सञ्चालनको तयारीमा कमजोर हुदा परिणामस्वरूप आन्दोलनको ऊर्जा पुरानै संरचनामा हराएर गयो । सत्ता नजिकिँदै जाँदा नयाँ राजनीतिक शक्ति पनि सम्झौतामा फसे । अठोट कमजोर भयो । परिवर्तनको साहस लोकप्रियता र सत्ता गुम्ने डरले दबियो । यसरी बुल्गेरियामा आन्दोलनले सरकार त फेर्न सक्यो तर शासनको चरित्र फेर्न सकेन ।
यही बिन्दुबाट बुल्गेरियाको कथा नेपालसँग जोडिन्छ । नेपाल आन्दोलनहरूको देश हो । यहाँ हरेक ठूला राजनीतिक परिवर्तन करीव १०/१० वर्षको अंतरालमा सडकबाट आएको छ । २०४६, २०६२÷६३ र ०७२÷०८२ सबै परिवर्तन यी सबै जनताको बलिदानका कथा हुन् । ती आन्दोलनमा पनि युवाको भूमिका निर्णायक थियो । तर आज पनि प्रश्न उहीँ छकी यति धेरै परिवर्तनपछि पनि आम नेपालीको जीवन किन उस्तै छ ?
नेपालको समसामयिक राजनीति हेर्दा सरकार फेरिनु अब सामान्य घटना बनेको छ । सत्ता समीकरण बदलिन्छ, प्रधानमन्त्री बदलिन्छन्, मन्त्री फेरिन्छन् । तर शासनको शैली, निर्णय प्रक्रिया र राजनीतिक संस्कार उहीँ रहन्छ । नयाँ सरकारसँगै आशा जन्मिन्छ तर त्यो आशा छिट्टै निराशामा बदलिन्छ । यो निरन्तर चक्रले समाजलाई थकित बनाइसकेको छ । यसै थकानको पृष्ठभूमिमा गत भदौ २३ र २४ गतेको आन्दोलन देखाप¥यो । त्यो आन्दोलन कुनै दलको झण्डामुनि सीमित थिएन । त्यो नागरिक आक्रोशको अभिव्यक्ति थियो । युवाको, मध्यम वर्गको, निराश नागरिकको आवाज थियो । उनीहरू सरकार परिवर्तनभन्दा बढी शासन परिवर्तन चाहिरहेका थिए । उनीहरूको माग थियोकी सामाजिक संजालको प्रयोग,सुशासन,इमानदारी, जवाफदेहिता र भविष्यको सुनिश्चिततामा केन्द्रित थियो।
भदौ २३–२४ को आन्दोलनले देखायो कि नेपाली समाज चुप छैन । जनतामा चेतना छ । तर यसले बुल्गेरियाको चेतावनी पनि सम्झाइदियोकि आन्दोलन आफैंमा समाधान होइन । यदि त्यो आन्दोलन स्पष्ट दृष्टिकोण,नीति र नेतृत्वको तयारीसँग जोडिएन भने त्यो पनि क्षणिक तरंगमै सीमित हुन सक्छ । नेपालको समस्या सरकारको अभाव होइनकि यो त दशकौं देखिको समस्या सक्षम नेतृत्वको अभाव हो । सहि दृष्टिकोण र विचार बिना राजनीति दिशाहीन यात्राजस्तै बनेको छ । देशलाई कुन आर्थिक मोडेलमा लैजाने भन्ने स्पष्टता छैन । उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा योजना छन्, तर निरन्तरता छैन । सरकार फेरिँदै जाँदा नीति फेरिन्छ । यसले विकासलाई गति होइनकी अवरोध दिन्छ ।
अठोटको अभाव अर्को गहिरो समस्या हो । कठिन निर्णय लिन सक्ने साहस बिना शासन सम्भव हुँदैन । तर लोकप्रियता घट्ने डरले सुधार रोकिन्छ । संरचनागत सुधार भाषणमै सीमित हुन्छ । बुल्गेरियामा जस्तै नेपालमा पनि सत्ता नजिकिँदै जाँदा परिवर्तनको साहस कमजोर भएको देखिन्छ । योग्यता र इमानदारीको प्रश्न झन् गम्भीर छ । राजनीति सेवाको क्षेत्र हो तर यहाँ पहुँच र निष्ठा योग्यता भन्दा माथि राखिन्छ । अयोग्य हातमा शक्ति पुगेपछि शासन कमजोर हुन्छ । भ्रष्टाचार सामान्यीकरण हुन्छ । जनतामा “सबै उस्तै हुन” भन्ने भावना बलियो हुँदै जान्छ । यो लोकतन्त्रका लागि सबैभन्दा खतरनाक अवस्था हो ।
सबैभन्दा पीडादायी यथार्थ युवाको पलायन हो । बुल्गेरियामा आन्दोलनपछि पनि अवसर नबढ्दा युवाले देश छोडे । नेपालमा पनि आज विमानस्थल मौन आन्दोलन स्थल बनेको छ । हरेक दिन हजारौँ युवा देश छोड्दैछन् । यो केवल रोजगारीको समस्या होइनकी यो त नेतृत्व प्रतिको विश्वासको संकट हो । अब प्रश्न उठ्छकी वर्तमान राजनीतिक निकास के हो ? समाधान केवल अर्को आन्दोलन वा अर्को सरकारमा छैन । समाधान राजनीतिक संस्कारको रूपान्तरणमा छ । आन्दोलनलाई भावनाबाट नीति र संस्थामा रूपान्तरण गर्न सक्ने नेतृत्व आवश्यक छ । सहि दृष्टिकोण,विचार नीति, रोडम्याप, अठोट र इमानदारीलाई राजनीतिक मूल्य बनाउनु नै आजको निकास हो ।
भदौ २३/२४ को आन्दोलन, बुल्गेरियाको जेन–जी आन्दोलन र नेपालको समसामयिक राजनीति एउटै सन्देश दिन्छन् । यहाँ जनता तयार छन् तर नेतृत्व अझै तयार छैन । वृद्व उमरेले क्षितिजको संघारमा पुगिसकेर ४०,४५ वर्ष सम्म कसैलाई पनि स्थान नदिएर लगातार सांसद,मन्त्री पद आदि ओगटी सकेका नेतृत्व मण्डलीहरू अझैं पनि सत्ताको रस्सादन गर्ने लालयी बिना ताईतुईको बालहटको जिद्विपनले छोड़न सकेको छैन ।अब प्रश्न यो होकी हामी बुल्गेरियाको पाठ सिक्छौँ कि या त त्यही असफलता दोहोर्याउँछौँ ?
देश सरकार भन्दा ठूलो हो । कुर्सी भन्दा भविष्य ठूलो हुन्छ । यदि आज पनि हामीले नेतृत्वको गुणस्तरलाई गम्भीरतापूर्वक लिएनौँ भने भोलि इतिहासले हामीलाई पनि यही प्रश्न सोध्नेछकी आन्दोलन त भयो, सरकार पनि फेरियो,तर देश किन फेरिएन ?त्यही प्रश्नको उत्तर खोज्नु नै आज नेपालको सबैभन्दा ठूलो राजनीतिक जिम्मेवारी हो ।

