आजदेखि एक नयाँ कम्पनीको आईपिओ विक्रि खुला गरिएको छ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधरणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ । यद्यपि, कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा रहेको छ । अर्थात लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ ।
बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा ९१३० को उपदफा ९१० बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो ।
लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा पुस ११ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ ।
शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ ।
रिलायन्स स्पिनिङ्ग मिल नेपालको धागो उत्पादन गर्ने उद्योगहरुमध्ये रोजगारदाता उद्योगको रुपमा पनि सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको छ । १० बजेपछि मेरो सेयर अनलाईन तथा मोवाईल एप्लीकेशनबाट आबेदन दिन सकिने छ ।

