नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिमबाट आगामी प्रतिनिधीसभा सदस्य प्रत्यक्ष तर्फको उम्मेदवारमा आफ्नो दावी रहेको नेता लक्ष्मी पुनले घोषणा गर्नुभएको छ । आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै आफ्नो दावी घोषणा गर्नुभएको हो । पुन साविक नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य हुनुहुन्छ । माओवादीले उहाँलाई पटक पटक समानुपातिक बन्द सूचीमा राखेर आश्वासन दिएपनि सांसद हुन भने अवसर पाउनुभएन ।

‘रुकुम पश्चिमबाट आगामी प्रतिनिधीसभामा मेरो उम्मेदवारी रहन्छ, पार्टीले यसपटक महिलाई प्रत्यक्ष तर्फको उम्मेदवार बनाउनुपर्छ भन्ने मेरो प्रष्ट धारणा छ’ आहा सञ्चारसंग कुरा गर्दै पुनले भन्नुभयो । यहि विषयलाई लिएर उहाँले पार्टी अध्यक्ष प्रचण्ड संग पनि कुरा गरेको बताइएको छ । आगामी प्रतिनिधीसभा उम्मेदवार कसलाई बनाउने बन्ने निर्णय नगरेपनि गोपाल शर्माको नाम चर्चामा छ । उहाँले उम्मेदवारी घोषणा गरेसंगै नेकपा रुकुम पश्चिमको राजनीति तरंगीत भएको छ । रुकुमका माओवादी नेता जनार्दन शर्मा नेकपाको एकता प्रकृयामा नगएर प्रलोपा गठन गरेपछि जिल्ला पार्टी विभाजित छ ।

को हुन लक्ष्मी पुन ?
२०५४ सालमा विद्यार्थी राजनीतिबाट उहाँ पार्टीमा जोडिनुभयो । युद्धको धुवाँ, पहिरन बदलिएको पहिचान र अनिश्चितताको कालकोठरीमा पनि उहाँले हिम्मत हार्नु भएन । त्यो समय पार्टीले उहाँलाई गणतन्त्र रेडियोमा युद्ध पत्रकारका रूपमा खटायो । रेडियो जनगणतन्त्र मगरातबाट प्रसारित अङ्ग्रेजी समाचारमा उहाँको आवाज सुनिन्थ्यो— स्थिर, आत्मविश्वासी र विद्रोही चेतनाले भरिएको । युद्धकै बीचमा उहाँले अध्ययन पनि छाड्नु भएन । अङ्ग्रेजीमा स्नातकोत्तर र नेपाल ल क्याम्पसबाट एलएलबी— यी दुवै हासिल गर्दै उहाँले आफ्नो योग्यता, समर्पण र मानसिक दृढता साबित गर्नु भएको छ ।

यसपछि उहाँ सानीभेरी गाउँपालिका–३ बाट उठेर राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै माओवादी केन्द्रको आठौँ राष्ट्रिय सम्मेलनमा केन्द्रिय सदस्य पनि बन्नुभयो । तर, किर्तिमानी संघर्ष र क्षमताका बाबजुद बारम्बार समानुपातिक सूचीमा नाम राखिए पनि अन्तिम चरणमा पहुँच, सम्बन्ध र अन्तर्कक्षीय खेलमा पछि पारिनुपर्ने पीडा उहाँले भित्रै बोकिरहनु भयो । रुकुम पश्चिममा उहाँको उदयले महिला समुदायमा आशा जगाएको देखिन्छ । रुकुम आज एउटा ठूलो प्रश्नको जवाफ खोजिरहेको छ–इतिहास दोहोर्याउने कि भविष्य बनाउने ? लक्ष्मी पुन भने आफ्नो उत्तर पहिले नै दिन सक्ने ठाउँमा उभिनु भएकोछ—संघर्ष, अध्ययन, अनुभव, स्पष्ट दृष्टि र जनभावनाको आधारमा । उहाँको यात्रा कस्तो रहन्छ आगामी यात्राले नै देखाउने छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...