नेपाली काग्रेस रुकुम पश्चिमको आगामी प्रतिनिधीसभा सदस्य निर्वाचनको लागि उम्मेदवार सिफारिस गर्ने प्रकृयामा किचलो देखिएको छ । जिल्ला पार्टी सभापति प्रेमप्रकाश ओलीले उम्मेदवार सिफारिस टुंगो लागेको बताएपनि उम्मदवारका अन्य आकांक्षीहरु सार्वजनिक रुपमै असहमति जनाएका छन ।
उम्मेदवारका आकांक्षी शिव आचार्य र राजु केसीले उम्मेदवार सिफारिसमा कुनै सर्बसम्मत निर्णय नभएको र योजनाबद्ध रुपमा पार्टी नेतृत्वले टुंगो लागेको भनेर विभिन्न मिडियाहरुलाई एकलौटी जानकारी दिएको आरोप समेत लगाएका छन ।
उम्मेद्वारका आकांक्षी राजु केसीले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश राख्दै कुनै कोठे बैठकमा गरिएको निर्णय मान्य नहुने बताएका छन । (उहाँले फेसबुकमा पोष्ट गरेको पुरा भिडियो सुन्न यहाँ क्लिक गर्नुहोस)
कार्यसमितिले लिखित रुपमा माइन्युट गरेपछि मात्रै आधिकारिक हुने भन्दै हालसम्म त्यस्तो कुनै निर्णय नभएको र पुनः आकांक्षी सहितका जिल्ला पार्टीको बैठक र छलफलबाट मात्र अन्तिम निर्णय हुने उहाँले बताउनु भएको छ । त्यस्तै उम्मेदवारका अर्का आकांक्षी नेता शिव आचार्यले आहा सञ्चारसंग कुरा गर्दै सभापतिले उम्मेदवार टुंगो लागेको भनेर मिडियामा दिएको कुरा सत्य नभएको बताए । पार्टीका अन्य नेता कार्यकर्ताहरुको सल्लाहमा थप आवश्यक प्रतिक्रिया दिने उहाँको भनाई थियो ।
तर आगामी प्रतिनिधीसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस जिल्ला समिति रुकुम पश्चिमले पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको विवरण सार्वजनिक भएको थियो । जस अनुसार प्रतिनिधी सभा सदस्यमा प्रत्यक्षतर्फ पूर्व राज्यमन्त्री समेत रहेका गोपाल जी जंग शाह र पार्टी सभापति समेत रहेका प्रेम प्रकाश ओली रहेका छन । प्रत्यक्ष तर्फ सिफारिस गर्न एक जना महिलाको टुंगो लगाउन बाँकी छ । समानुपातिकतर्फ भने मानबहादुर नेपाली र मनिषा भण्डारीको नाम सिफारिस गर्ने निर्णय गरिएको पार्टी सभापति प्रेम प्रकाश ओली आहा सञ्चारलाई जानकारी दिनुभएको थियो ।
‘प्रतिनिधीसभामा उम्मेदवार सिफारिस गर्न २ जना प्रत्यक्ष र २ जना समानुपातिक उम्मेदवार सिफारिस गर्ने निर्णय भैसकेको छ, एकजना महिलाको बाँकी छ, छलफल गरेर टुंगो लगाउछौं’ सभापति ओलीले उहाँले भन्नुभयो । शुरुमा प्रतिनिधीसभा प्रत्यक्ष तर्फ गोपाल जी जंग शाह, प्रेम प्रकाश ओली, शिव आचार्य र राजु केसी सबैको नाम सिफारिस गर्ने निर्णय भएपनि सभापतिले पछि दुई जना पुरुषको मात्र नाम सिफारिस गरेको निर्णय सार्वजनिक गरेपछि किचलो सतहमा आएको बताईएको छ ।

