आगामी प्रतिनिधीसभा निर्वाचनका लागि नेपाली काँग्रेसले जिल्ला जिल्लाबाट उम्मेदवार सिफारिस गर्न सर्कुलर गरेसंगै रुकुम पश्चिममा पनि उम्मेदवार छनौटका लागि छलफल भैरहेको छ । त्यसकै लागि नेपाली काँग्रेस रुकुम पश्चिमले जिल्ला समितिको बैठक बोलाएको छ । हिजो शुरु भएको बैठक आज निर्णय गर्दै सम्पन्न हुने बताईएको छ ।
बैठकमा आधा दर्जन बढी नेताले आफु प्रतिनिधीसभा सदस्यको उम्मेदवार आकांक्षी भएको संकेत गरेका छन । जसमा गोपाल जी शाहले आफुलाई अन्तिम पटकको लागि प्रतिनिधीसभा सदस्य उम्मेदवारमा एकल सिफारिस गर्न अनुरोध गरेको बैठकमा सहभागी काग्रेस एक नेताले आहा सञ्चारलाई बताए । शाहले आफुलाई एकल उम्मेदवारको रुपमा सिफारिस गर्न अनुरोध गरेपनि दोस्रो र युवा पुस्ताका नेताहरुले सहजै स्वीकार गर्नेसंभावना छैन । त्यस्तै अन्य आकांक्षीहरुमा जिल्ला सभापति प्रेम प्रकाश ओली, काग्रेस नेता राजु केसी र शिव आचार्य पनि छन ।
त्यस्तै उपसभापति सुरतजंग मल्लले आफु पनि उम्मेदवार हुने जोडबल नगरेपनि नेता कार्यकर्ताले सर्वसम्मत सिफारिस गरेमा उम्मेदवार हुनसक्ने संकेत गरेका छन भने काग्रेस नेता नन्द विष्टले आफु पनि प्रतिनिधीसभाको उम्मेदवार आकांक्षी रहेको बैठकमा स्पष्ट धारणा राखेका छन । जसका कारण आजको बैठकले प्रतिनिधीसभा उम्मेदवार एकल टुंगो लगाउदा वा नाम सिफारिस गर्दा गोपाल जी जंग शाह, प्रेमप्रकाश ओली, सुरतजंग मल्ल, शिव आचार्य, राजु केसी र नन्द विष्ट लगायतका आकांक्षीबाट नै नाम सिफारिस हुनसक्ने स्रोतको दावी छ ।
त्यस्तै समानुपातिक उम्मेदवार तर्फ नेता मानबहादुर नेपाली, सीता ओली, यज्ञ परियार र मनिषा भण्डारी लगायतको नाम सिफारिस हुनसक्ने संभावना छ । तर मनिषा भण्डारीले प्रतिनिधीसभा उम्मेदवार भन्दा नेपाली काँग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा यसपटक महिलालाई नेतृत्व दिनुपर्ने र आफु त्यसको सशक्त उम्मेदवार रहेको संकेत गरेकी छिन । त्यस्तै राष्ट्रियसभा तर्फ बीरबहादुर ओली लगायतका केहि नेताको नाम सिफारिस हुनसक्ने संभावना छ । केहि नेताहरुले प्रतिनिधीसभामा नभएर गोपाल जी जंङ शाहलाई राष्ट्रियसभा सदस्यको उम्मेदवारको रुपमा सिफारिस गर्नुपर्ने धारणा पनि राखेका छन । आज बस्ने काग्रेस रुकुम पश्चिमको बैठकले सकेसम्म एकल उम्मेदवार र त्यो संभव नभए चार/पाँच जना आकांक्षीहरुको उम्मेदवार सूची केन्द्रीय समितिमा सिफारिस गर्ने बताईएको छ ।

