आखिर मृत्यु कसरी स्वीकार हुन्छ ?

Byआहा सञ्चार

२०८२ भाद्र १०, मंगलवार ११:०६ गते

दीपक संगम थापा
मर्नु, मृत्यु हुनु, काल आउनु अप्रिय शब्द मात्रै होइन यो एउटा भयंकर घटना हो । मानिस वा हरेक जीवको मृत्यु अनिवार्य छ । मान्छेको मरणको कारण धेरै हुन्छन् । कतिपय मानिसले मृत्युलाई नजिक बाट देखेर बाच्न सफल भएको भन्छन् । सायद धेरै बिरामी भएर धौ धौ बाचेको, विभिन्न अप्रेसन, सुत्केरी ब्यथा, भयानक दुर्घटना बाट बचेको, हाती, गैंडा, बाघको आक्रमण बाट बचेको, वा अन्य कारण बाट बालबाल बचेको र मृत्युलाई जितेर आएको पनि भन्ने गरिएको छ ।

अरुको मृत्यु पनि देखिन्छ र आफ्नै पनि देखिन्छ । मैले आफ्नै आमाको मृत्युवरण हुदा प्रत्यक्ष देखे । जीवनकालकै सबैभन्दा नराम्रो क्षण त्यही लाग्यो मलाई । हरेकले एकदिन अरुको वा आफनै मृत्यु देख्नुपर्नेछ । भनिन्छ ७ काल १७ बेकालले मानिसको मृत्यु हुन्छ ।

रोग, शोक, लडेर, जलेर, दुर्घटनामा परेर, पानीमा डुबेर, काटिएर, खसेर, अप्रत्याशित जस्ता धेरै कारणहरु हुन सक्छन् मृत्युका । कतिपय मान्छे आफै घरको भर्याङ बाट लडेर, बाथरुममा लडेर, मासु खादा घाटिमा अड्किएर, छत बाट खसेर, गाडी बाट खसेर जस्ता सामान्य लाग्ने दुर्घटना बाट पनि मानिसको मृत्यु भएको देखिन्छ । हरेक मानिसले ६,७ वर्षको उमेरमा मान्छे मर्छन भन्ने कुरा थाहा पाएको दिन आफै झसङग पनि भएको हो । थाहा पाउने सानो उमेरमा किन मान्छे मर्छन होला ? के मान्छे पनि मरेर जान्छन् र ? नमर्न पाए कति राम्रो हुन्थ्यो भनेर पिर मान्ने एउटा उमेर हुन्छ । त्यो बेला मृत्युको बारेमा चिन्ता लाग्छ । त्यो तपाईलाई पनि भयो होला । जवानि बढ्दै गएपछि पढाई लेखाइ, बिहेबारी र जिम्मेवारीले मृत्यु केही हदसम्म बिर्सन सकिने रहेछ । केही पिर मर्का भुल्नको लागि सुर्ती, चुरोट देखि रक्सी जुवा जस्ता नसाको प्रयोग गरिदो रहेछ । यतिन्जेलसम्म मानिस ४० वर्षमा लागिहाल्छ । जब ४० वर्षमा मान्छे लाग्छ तब पिसाब फेर्दा चुहिने, दातमा किरा लागेर एक दुई दात झरिसकेका, टाउको दुख्ने, जोर्नी दुख्ने, कम्मर दुख्ने, मान्सपेसी दुख्ने, हातखुट्टा दुख्ने, अपच हुने, हिंड्न गाह्रो हुने, कपाल फुल्ने, आमा बुवा भैसक्ने हुदा केही पारिवारिक जिम्मेवारी थपिने, सामाजिक कामले पेल्ने र आफुलाई परिपक्व मान्दै ६० वर्षमा पुगिदो रहेछ ।

मानौ एउटा बोकालाई खसी बनाएझै आधा शरीर र इक्षा चहाना त शिथिल हुँदै जादो रहेछ । ६० वर्ष लागेसी नातिनातिना देख्दा आफ्नो त अलि उमेर पुगिसकेछ भनेर भित्र भित्र बुढेसकाल स्वीकार हुने रहेछ । यो समयमा कपाल पुर्ण रूपमा फुलिसकेको हुन्छ । यो समय स्वीकार गरिसक्दा गाला चाउरी परिसकेका, आधा दातले काम नगर्ने वा झरिसकेका, दात झरेको कारण गाला भित्र पसिसकेका, बोली लर्बराउदै जाने, थेत्लो बोली बोल्ने, शरीर भित्रका केही अङग कमजोर हुँदै जाने, खोकी लाग्ने, स्वास्वा भएको अनुभव हुने, आखाले धमिलो देख्दै जाने, कानले कम सुन्दै जाने हुन्छ । यी आँखा, कान, छाला, दात लगायतका अंगका काम कमि हुदै जादा कपाल फुलेर सेताम्मे हुँदै सबै थोक बेर्थै लाग्न थाल्दो रहेछ । उहिले यो मेरो यो तेरो भनेको सबै ब्यर्थै लाग्ने उमेर हुदो रहेछ ।
जेष्ठ नागरिक भैसक्दा कतिपय ब्यक्तिहरुले आफ्नो जीवनकालका रमाइला कुराहरु स्मरण गर्दै आत्मसन्तुष्टि लिने, आफुले आफैलाई धन्यवाद दिने, भगवाणप्रती कृतज्ञ हुने गर्दछन । केहिले वर्ष वा उमेर भनेको अङ्क मात्रै हो, म बुढो भएको छैन भनेर आफैप्रती बिश्वास लिने गर्दछन । ७० वर्ष लाग्दा वरपरका आफ्ना उमेर कालका साथीहरू मरिसकेका हुन्छन् यी घटनाले मन खिन्न र बैराग लाग्दो हुने गर्दछ । मानौ मन्दिरमा बोका चढाउदै गर्दा पालो कुरेको बोका जस्तै । बढदै गएका शारीरिक पिडा र त्यसमाथि एउटा जीवन साथिले छोडेर गैसकेको हुदा झन एक्लो महसुस हुदो हो । आफ्नो जीवन साथी नै नहुदा, आफ्नो शरीरले केही काम गर्न नसकेपछि र अरुको भरमा बाच्नुपर्दा आफैप्रती आत्मग्लानी हुने, रिस उठने र मर्न पाए आनन्द मान्ने स्वभाव आउदो रहेछ । आफ्नो शरीर बोझ लाग्ने, खान मन नलाग्ने, शरीरका आफ्नै हड्डी दुख्ने हुदो हो । त्यसपछि केही न केही रोग, शोक र दोख लागेको निहु हुँदै मान्छेका अनेक दुखाई, पिर ,ब्यथा सहन नसकी वा सहन बाध्य भएर मान्छे बिस्तारै घरमा थलिदो रहेछ । अस्पताल भएको भए घरमै जाने र घरमै मर्ने ईक्षा आउदो रहेछ । हरेक ब्यक्तिले अस्पताल होइन आफ्नै घरमा र गाउमा मर्ने ईक्षा राख्दछ्न र अरुको घरमा मर्न चाहदैन मान्छे । सायद मान्छेको अन्तिम ईक्षा पनि त्यही हुने रहेछ ।

४/५ वर्ष घरमा थलिदा अनेक आफ्नो जीवनकालका राम्रो नराम्रो काम सम्झेर एक्लै बोल्ने, बरबराउने र मृत्युलाई भित्र देखि नै स्वीकार हुने हुदोरहेछ । आँखा चिम्लेर पनि संसार देख्दा रहेछन । घरमा थलिदा खानाको मात्रा बिस्तारै घट्दै जान्छ । जसले गर्दा मांसपेसि घट्न गइ शरीर सानो हुन्छ । महिनौसम्म खानाको मात्रा नहुदा शरीर सुक्न थाल्छ, हड्डि मात्र देखिन्छ । (मक) शरीरमा भएको केही मासु र रगतले केही दिन खानाको काम गर्दोरहेछ । मान्छेले आफ्नो मंस आफै खाएर अर्थात शरीरले आफनै मासु खियाएर÷खाएर केहिदिन टिक्दो रहेछ । त्यही कारण शरीर खुम्चिदै सानो हुदै गएपछि बिस्तारै होस बाट बेहोस हुँदै बोल्न पटक्कै नआउने बरु कानले थोरै बाहिरी गतिविधि सुन्दै, बेहोस हुँदै, मुख क्यापख्याप गर्दै जुनसमयमा हिरनपानी, दहि खुवाउने चलन हुन्छ, त्यसपछि मिठो निद्राको अनुभव गर्दै चुपचाप मृत्यु वरण गर्नु पर्दो रैछ । कसैले प्राण पर्ने पनि भन्दा रहेछ्न । यहाँ मिठो निद्रा भन्नुको तात्पर्य बेहोसिपनमा गएको समय हो । त्यसैले मृत्यु एउटा स्वास्वत सत्य घटना हो ।

उदाहरणका लागि मानौ तपाईको उमेर ८१ वर्ष भएको छ । कपाल फुलेको छ, दात झरेको छ, कान कत्ती पनि सुनिदैनन, कान दुखिरहन्छ्न, शरीर सुकेर वा चाउरी परेर खुम्चिदै गएको छ, आँखा राम्रोसँग देखिदैनन, मान्छे चिन्न नसकिने भैइयो, खाना पनि रुच्दैन, आफुले खोजेको खाना कसैले दिदैन, हातखुट्टा दुखेको बेला यताउता पल्टाउने मानिस नजिक छैन, तातो पानी र औसधि समयमै कसैले दिदैन, छोराछोरी र नातिनातिना आफ्नो कुरा भन्दा फोन, टेलीभिजन, टिकटक लगायतमा भुल्छन, खाना पनि चिसो खुवाउछ्न, नियमित सरसफाइ गरिदिदैनन, अस्पताल पनि लिदैनन, बिरामी भएको बेला कोहि भेट्न आउदैनन, तपाईलाई कस्तो छ भनेर कसैले शरीर छुदैनन, चौबिसै घन्टा एउटै ओछ्यानमा थला पर्नुपरेको छ,
श्वास स्वास्वा गर्छ, खोकी बारम्बार लागिरहन्छ, हड्डी, छाती, करङ दुखिरहन्छ, छोराछोरी, बुहारी, नातिनातिना कोहि पनि नजिक पर्ने मान्दैनन्, शरीर फोहोरले गन्ध आउने जस्तो थालिसक्यो भने यो बेला तपाई के गर्नुहुन्छ ? अवस्य पनि चुपचाप काल, मृत्यु आएर लिए हुन्थ्यो जस्तो लाग्न सक्छ । यस्तो समयमा हरेकले मृत्युलाई सहजै अझ छिटो मृत्यु स्वीकारेको हुन्छ । यो समयमा बाध्यताताले होईन आफ्नो सजिलोको लागि मृत्युलाई स्वीकारि सकेको हुन्छ । यस्तो स्वीकार लाग्नु पनि स्वभाबिक हो । यो दिन अवस्य आउनेछ । सन्तानले थप दुख, पिडा नपाउन र आफ्नो मृत्यु कष्टकरमय नहोस भनेर हरेकले सहजै मृत्युलाई स्वीकार गरेको देखिन्छ । कोहि चुपचाप जान्छन् भने कोहि कोहिले केही कुरा भनेर मृत्युवरण गर्दछ्न । चेत हुनेले केही कुरा छोडेर जान्छन् र चेत नहुनेहरु चुपचाप जादा रहेछ्न ।

मृत्युका बारेमा आ आफ्ना धारणा हुन सक्छन् । जसरी हामी कुनै बेला बालक थियौ भन्ने कुरा भुल्छौ त्यसैगरी हामी पनि मर्नेछौ भनेर बिश्वास गर्न सक्दैनौं । मृत्युका बारेमा बोल्दाखेरी हरेकले आफू सय वर्ष बाच्न पाए हुन्थ्यो भन्ने ठान्छ । तर यो लेखक यो कुरामा भरोसा राख्दैन ।

६० वर्षभित्र आफू मर्न पाए हुन्थ्यो भन्ने यो लेखकको बिचार छ । बरु मृत्यु चुपचाप आईदिओस, मिठो सपना जसरी, मिठो निद्रा जसरी । त्यसैले हरेक ब्यक्तिको पुर्व निर्धारित भयंकर घटना हो मृत्यु । एकदिन यो अवस्य आउने छ । जीवनमा अन्य कुरालाई कुरे पनि मृत्युलाई कुर्न पर्दैन । अन्य कुराको विकल्प भए पनि मृत्युको विकल्प छैन । तर अन्तिम चित्त बुझाउने एउटा उपाय चाहि छ । मानौ स्वर्गलोकले तपाई र तपाईंको छोराछोरी मध्ये एकजनालाई मृत्यु रोज्न भनियो भने हामी आफै मर्न तयार हुन्छौ, छोराछोरीलाई हामी मर्न दिदैनौ । एउटा बाँस काटेमा अर्को बास पलाउछ, एउटा हागा काटेमा अर्को हागा पलाउछ, एउटा केराको बोट ढाले पनि अर्को बोट उम्रीन्छ । एउटा चल्लेरी माउ मरे पनि उसका साना चल्लाहरु बाकी रहन्छन् । त्यसरी नै मृत्यु पनि हस्तान्तरण हुने भएकोले हामिले मृत्युलाई सहजै स्वीकार गर्छौ । त्यो आफै जरुर आउछ । त्यसैले मृत्यु देखि कोहि नभागौ । बाचुन्जेल शान्तिले श्वास फेरौ । शान्तिले बाचौ । लेखक थापा जनबिकास माबी रुकुम पश्चिमका पुर्ब प्रधानाध्यापक हुनुहुन्छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...