डिभाइड शर्मा (सुबम)
नेपालको माओवादी आन्दोलनलाई नेतृत्व गर्दै आएको माओवादी केन्द्रभित्र प्रचण्ड र जनार्दन शर्माको सम्बन्धबारे विभिन्न तहमा चर्चा–विचार भइरहेका छन् । कतिपयले यस सम्बन्धलाई चाकडी र व्यक्तिगत स्वार्थको दृष्टिले बुझ्न खोज्छन्, तर वास्तविकता एकदमै फरक छ ।
यो आत्मीयता दशकौँ लामो संघर्ष, जनयुद्धको बलिदान, शान्ति प्रक्रियाको जटिलता र राज्य सत्तासम्मको यात्राले निर्माण गरेको ऐतिहासिक सम्बन्ध हो । प्रचण्डपथ र प्रभाकरको उदय २०५२ सालमा सुरु भएको जनयुद्धमा प्रचण्डले प्रस्तुत गरेको ‘प्रचण्डपथ’ माओवादी आन्दोलनको जीवनरेखा बन्यो । यही मार्गदर्शनले हजारौँ युवालाई संघर्षतर्फ ताने। रुकुम–रोल्पा क्षेत्रका चर्चित कमाण्डर जनार्दन शर्मा ‘प्रभाकर’ त्यसै अवधारणाबाट प्रभावित भएर युद्धमा होमिएका थिए । उनले युद्धको कठिनाइमा संगठनात्मक, राजनीतिक र सैन्य जिम्मेवारी सम्हाल्दै प्रचण्डकै विश्वास जिते ।

युद्धकालमा प्रचण्ड–प्रभाकर सम्बन्ध केवल कमाण्डर र अध्यक्षबीचको सम्बन्ध थिएन, यो साझा विचार, साझा बलिदान र साझा सपना थियो । यही जगमा आजको आत्मीयता अडिएको छ । मन्त्रीका भूमिकामा प्रभाकर शान्ति प्रक्रियापछि जब माओवादीहरू सत्तामा आए, धेरै नेताहरू अवसर र पद खोज्दै प्रचण्डको छायाँमा उभिन थाले । तर जनार्दन शर्मा भने आफ्नो काम र परिणामका आधारमा प्रचण्डलाई बलियो बनाउन थाले ।
ऊर्जा मन्त्री हुँदा ः जनार्दन शर्माले ऊर्जा क्षेत्रमा दीर्घकालीन सोचसहित जलविद्युत् परियोजनाहरूलाई प्राथमिकता दिए। ‘ऊर्जा संकट समाधान वर्ष’ घोषणा गरेर उत्पादन, प्रसारण र वितरणमा ठोस योजना ल्याए । यसले प्रचण्ड नेतृत्वको सरकारलाई जनतामाझ लोकप्रिय बनाउन मद्दत पु¥यायो।
गृहमन्त्री हुँदा ः सुरक्षातन्त्रलाई जनमुखी बनाउन उनले देखाएको दृढता उल्लेखनीय रह्यो। माओवादी आन्दोलनपछिको संक्रमणकालीन सुरक्षालाई सन्तुलनमा ल्याउँदै उनले प्रचण्डलाई ‘शान्तिपूर्ण राजनीतिको संरक्षक’का रूपमा स्थापित गरिदिए।
शान्ति तथा पुनर्निर्माण मन्त्री हुँदा ः युद्धपश्चात् विस्थापित, घाइते र परिवारजनलाई राहत दिन उनले देखाएको सक्रियताले प्रचण्ड नेतृत्वको विश्वासनीयता अझै बढायो। यसरी संक्रमणकालीन न्याय र पुनर्निर्माणलाई प्राथमिकतामा राखेर उनले प्रचण्डलाई केवल ‘युद्ध नायक’ मात्र होइन, ‘शान्ति नायक’का रूपमा पनि स्थापित गर्न सहयोग गरे ।

यी सबै भूमिकामा प्रभाकरको कामकाजले प्रचण्डलाई जनतामाझ बलियो नेता र इतिहासमै अलग्गै दर्जा प्राप्त गराएको देखिन्छ । आत्मालोचना र नयाँ पुस्ताका लागि सन्देश आजको पुस्ताका क्रान्तिकारीहरू आत्मालोचना गर्दै अघि बढ्नुपर्छ भन्ने धारणा प्रचण्ड र प्रभाकर दुवैको जीवनबाट सिक्न सकिन्छ। युद्धकालमा गरेका निर्णय, शान्ति प्रक्रियामा भएका सम्झौता, सत्तामा हुँदा गरेका गल्ती–कमजोरी सबैलाई आत्मालोचनासहित मूल्याङ्कन गर्न सकिन्छ । प्रचण्डले कहिलेकाहीँ एक्लैपन महसुस गर्दा उनको साथमा दृढ भएर उभिएका थिए जनार्दन शर्मा। प्रचण्डलाई ‘प्रचण्ड’ बनाउने यो यात्रामा प्रभाकरको योगदान केवल कार्यान्वयनकर्ताको मात्र होइन, साँचो आत्मीय सहयात्रीको थियो ।
चाकडी होइन, इतिहासले बनाएको सम्बन्ध माओवादी केन्द्रभित्र प्रचण्डसँग नजिकिन चाकडी गर्नेहरूको कमी छैन । तर प्रचण्ड–प्रभाकर आत्मीयता चाकडीको जगमा होइन, इतिहास र संघर्षको जगमा निर्माण भएको सम्बन्ध हो । यसलाई बुझ्न नसक्नेहरू वास्तवमै अज्ञानी र अवसरवादी हुन् । मेरो निष्कर्ष के छ भने जनार्दन शर्मा ‘प्रभाकर’ प्रचण्डकै मार्गदर्शनमा बनेका नेता हुन् ।

उनले ऊर्जा, गृह, शान्ति तथा पुनर्निर्माण मन्त्रालय सम्हाल्दा देखाएका कामकारबाहीले प्रचण्डलाई सुदृढ नेता बनायो । युद्धदेखि शान्तिसम्मको यात्रामा, संसददेखि सरकारसम्मको अभ्यासमा, प्रचण्ड र प्रभाकरबीचको आत्मीय सम्बन्ध विचार, विश्वास र बलिदानको परिणाम हो । आजको पुस्ताका क्रान्तिकारीहरूले यो सम्बन्धलाई आत्मालोचना र आत्ममूल्याङ्कनको ढाँचामा बुझ्न जरुरी छ । किनकि प्रचण्डलाई ‘प्रचण्ड’ बनाउने शक्ति केवल व्यक्तिगत करिश्मामा होइन, प्रभाकर जस्ता आत्मीय युद्दा सहयात्रीहरूको योगदान र इतिहासमा पनि निहित छ ।
विशेष त प्रचण्ड–प्रभाकरको मित्रतालाई ‘चाकडी’ भनेर बुझ्नेहरू इतिहासविहीन छन्। यो सम्बन्ध क्रान्तिको अग्निपरीक्षाहरु बाट गुज्रिएको, संघर्षले परिपक्व बनाएको, र आन्दोलनै आन्दोलनले सत्यापित गरिरहेकै सम्बन्ध हो । लेखक शर्मा अखिल क्रान्तिकारी दाङ जिल्ला इन्चार्ज हुन ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...