हरि जिज्ञासु
संग्रालय एक सम्झना मात्र नभई इतिहास अध्ययनको थलो हो । हालका लागि रुकुम, रोल्पा लगायतका जिल्लाहरूले विकासको अपेक्षासहितको विद्रोहको इतिहास बोकेका छन् । तत्कालीन माओवादीले सुरु गरेको विद्रोह सबै नेपाली नागरिकलाई मन नपरे पनि यो इतिहास बनेर स्थापित भइसकेको छ ।
सामन्तवादको अन्त्य र विकासको अपेक्षासहित सत्तापक्ष र माओवादी जनमुक्ति सेनाका हजारौं नागरिकले ज्यान गुमाए । यो दुःखद पक्ष हो । तर, हजारौं नागरिकहरू विकासको पक्षमा बलिदानी हुन तयार भएका कारण सहिदहरूप्रति उच्च सम्मान व्यक्त गरिन्छ । उनीहरुको बलिदानको कारण विकासको नमुनाहरु देखा परेका छन् ।
हजारौं सहिद, घाइते र वेपत्ता योद्धाहरूको बलिदानले ल्याएको गणतन्त्र अझ अर्थपूर्ण बनाउन माओवादीले अझ अर्थपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता छ । विकासका मोडेलहरू भन्दा पनि योगदानको कदरका साथ युद्ध संग्रालयको विषयमा केही कुरा गर्न चाहन्छु ।
रुकुम पश्चिमको खारा युद्धको विषयमा सबैलाई थाहा भएकै कुरा हो । खारा व्यारेक पनि एक ऐतिहासिक व्यारेक हो । मैले सुनेअनुसार खारा व्यारेक अहिले त्रिवेणी गाउँपालिकाको खारालाई छोडेर जिल्ला सरेको छ । अहिले पनि टिकटक लगायतका सामाजिक सञ्जालमा सुरक्षाका लागि खनिएका बंकरहरू देखिन्छन् । सुरक्षा संरचनाहरू प्रष्ट देखिन्छन् ।
रुकुमका अन्य ठाउँहरूमा भएको युद्ध भन्दा खारामा पहिलो र दोस्रो पटक चलेको युद्धले विशेष इतिहास खडा गरेको छ । त्यो एक इतिहास हो । इतिहास आफैँमा एक संग्रालय हो । सरकारले त्यसलाई युद्ध संग्रालयको रूपमा स्थापना गरेमा त्यसको महत्व अझै बढ्ने पक्का छ ।
हाल नेपाली सेनाले छोडेको खाराको व्यारेकको क्षेत्रफलभित्र जनयुद्धका विभिन्न स्मरणहरू झल्कने सामग्री र तस्बिरहरू, पुस्तकहरू र माओवादीले राखेका क्रान्तिकारी भावना त्यहाँ संरक्षित गर्न सके, भविष्य पुस्ताका लागि अध्ययनको केन्द्र बन्ने निश्चित छ ।
देशको एउटा गौरवमय युद्ध संग्रालयको रूपमा खारालाई स्थापित गर्न सकेमा देश–विदेशबाट समेत पर्यटकहरू युद्धको अवस्थाबारे अध्ययन गर्नका लागि आउन सक्छन् ।
मेरो आफ्नै अन्टी सपना सिलाले पनि खारामा ज्यान गुमाउनुभयो । युद्ध संग्रालय निर्माण गर्दा सत्तापक्ष र माओवादी पक्षबाट ज्यान गुमाएका सहिदहरूको सालिक समेत निर्माण गर्नुपर्छ । युद्ध लड्दा प्रयोग गरिएका सम्पूर्ण तस्बिरहरू र ऐतिहासिक पुस्तकहरूलाई संरक्षित गर्न सके, भविष्य पुस्ताका लागि एक नमूना संग्रालय बन्न सक्छ । यहाँ कसले कसलाई जित्ने र हार्ने कुरा भन्दा पनि देशको निम्ति दिएको बलिदानीको चर्चा हुनु आवश्यक छ ।
रुकुमको खारा, नेपालको समकालीन इतिहासमा एक महत्वपूर्ण र ऐतिहासिक स्थलको रूपमा स्थापित छ । तत्कालीन सशस्त्र जनयुद्धका क्रममा खारामा भएको भीषण आक्रमण नेपाली राजनीतिमा निर्णायक मोड ल्याउने घटनामध्ये एक थियो । माओवादी लडाकूहरूले राज्यसत्ताको खारा व्यारेकलाई आक्रमण गरेपछि त्यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापक ध्यान खिचेको थियो ।
यद्यपि ठूलो संख्यामा जनयुद्ध लडाकूहरूले ज्यान गुमाए, उक्त घटना इतिहासमा एउटा विशेष मोडको संकेतक बन्यो । शान्ति प्रक्रियाको सहमतिपछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश ग¥यो । तर त्यो परिवर्तन सम्भव बनाउन लाखौं जनताको योगदान र त्यागको स्मरण गरिनु जरुरी छ ।
यिनै सन्दर्भमा, खारा जस्तो ऐतिहासिक स्थललाई युद्ध संग्रालयको रूपमा विकास गर्ने सोच अत्यन्तै सान्दर्भिक र समयानुकूल छ । यसमा सबैको ध्यान जानु आवश्यक छ ।
देशमा स्थायी शान्ति र समृद्धिको खोजी भइरहँदा, विगतका संघर्ष र बलिदानलाई सम्झनु र त्यसबाट पाठ सिक्नु अपरिहार्य हुन्छ । खारा युद्ध संग्रालयले यसै इतिहासलाई दस्तोवेजिकरण गरेर भावी पुस्तालाई ज्ञान, चेतना र प्रेरणा दिने काम गर्नेछ ।
संग्रालय केवल स्मारक होइन; यो इतिहास, राजनीति, समाजशास्त्र, र जनताको प्रतिरोधको दस्तावेज हो, जुन मैले माथिनै उल्लेख गरिसकेको छु । जहाँ युद्धका सामग्रीहरू, फोटोहरू, दस्तावेजहरू, लडाकूहरूको कथाहरू, घाइते र मृतकहरूको नामावली, शान्ति प्रक्रियाको सम्झौता लगायतका अभिलेखहरू समेटिनेछन् ।
खारालाई युद्ध संग्रालयको रूपमा विकास गर्न स्थानीय र प्रदेश सरकारको संयुक्त लगानी अत्यन्तै आवश्यक छ । खारा अब पूर्वको युद्ध स्थल मात्र होइन, ऐतिहासिक पर्यटनको केन्द्र बन्नसक्ने सम्भावना बोकेको क्षेत्र हो ।
युद्ध संग्रालय निर्माणसँगै रुकुम पश्चिमको सामाजिक तथा आर्थिक रूपान्तरणमा पनि सकारात्मक प्रभाव पर्नेछ । यसले पर्यटन, रोजगारी, स्थानीय व्यवसाय, तथा शिक्षा क्षेत्रमा नयाँ अवसर सिर्जना गर्नेछ । साथै, रुकुमजस्ता पहाडी क्षेत्रहरूमा सरकारको उपस्थिति र लगानीको अनुभूति गराउनेछ, जुन लामो समयसम्म उपेक्षित हुँदै आएका छन् ।

खारा संग्रालय केवल युद्धको स्मरण मात्रै नभई शान्ति, मेलमिलाप र पुनर्निर्माणको सन्देश बोकेको स्थल बन्नुपर्छ । संग्रालयमा द्वन्द्वका दुबै पक्षका अनुभव समेटिनुपर्छ, ताकि यो स्थल कसैको विजय वा पराजयको प्रतीक होइन, बरु राष्ट्रिय समझदारी र सहकार्यको स्मारक बनोस् ।
यसले द्वन्द्वबाट पीडित नागरिक, घाइतेहरू, लापत्ता परिवारका सदस्यहरू र पूर्व लडाकूहरूमाझ सामाजिक समावेशीकरणमा समेत टेवा पु¥याउनेछ ।
नेपाली समाजले आफ्नो विगतबाट पाठ सिक्नुपर्छ । खारा जस्तो ऐतिहासिक स्थललाई संरक्षण नगरी, स्मरण नगरी, र दस्तावेजीकरण नगरी देशको समग्र इतिहास अधुरो रहन्छ ।
स्थानीय र प्रदेश सरकारले पहल लिएर युद्ध संग्रालयको निर्माण थाल्नु, त्यसको संरचना, सामग्री संकलन, पूर्व लडाकू र पीडितका आवाज समेट्ने योजना बनाउनु अत्यावश्यक छ। यस कार्यमा केन्द्र सरकार, अनुसन्धानकर्ता, नागरिक समाज, र पत्रकारिता क्षेत्रको समेत सहयोग आवश्यक हुनेछ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...