मुसिकोट हेरिटेज रनको तयारी पुरा

Byआहा सञ्चार

२०८२ भाद्र १, आईतवार १५:५१ गते

डिग्रे साईकुमारी मन्दिर मुसीकोटबाट सुरु भएर जन्ती लेक खारादह, ठुलीदह, साँखदह हुँदै डिग्रे साईकुमारी मन्दिरमै पुगेर समापन हुने लामो दौड प्रतियोगिताका प्रायोजकहरूको टुङ्गो लागेको छ । उक्त प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन कमल महत दोस्रो पुरस्कार यति बिल्डर्स र तेस्रो पुरस्कार मुसीकोट-४ सोलाबाङ निवासी मुकुन्द शर्माले गर्ने हुनुभएको छ । यस्तै गरी २ वटासम्मको सान्त्वना पुरस्कारको लागि रुकुमेली वाङ्मय अधिष्ठानले र २ वटाको सगरमाथा आरोही बमकाजी सिर्पाली र थप २ वटाको सान्त्वना पुरस्कारको प्रायोजन प्रेम ओलीले गर्नु भएको छ । २५ वटा लोगो अङ्कित टिसर्टहरू विजयश्वरी बोर्डिङ स्कुल मुसीकोटले प्रायोजन गर्ने भएको छ ।

उक्त दौड प्रतियोगिताको प्रथम पुरस्कार राशि रु २५,००० द्वितीय पुरस्कार रु २०,००० तृतीय पुरस्कार रु १५,००० र सान्त्वना पुरस्कार रु ५/५,००० रहेको छ । यस प्रतियोगिताको नाम मुसीकोट हेरिटेज रन २०८२ नाम दिइएको छ । मुसीकोटका मुख्य मुख्य सम्पदा स्थल छुने गरी बनाइएको २८ किलोमिटर लामो दौड प्रतियोगिताको रुटको अधिकांश भाग कच्ची तथा पक्की सडक पर्ने, केही भाग व्यवस्थित ढुङ्गा बिछ्याइएको पदमार्ग र जन्ती लेकको करिब १ किलोमिटरको भागबाहेक बाँकी भाग पनि तेर्सो र ओरालो फराकिलो गोरेटो नै पर्ने भएकोले यो रुट नयाँ धावकहरूको निम्तिसमेत धेरै नै सजिलो भएको राप्ती साहित्य परिषद्का केन्द्रीय सदस्य पूर्ण ओलीले बताउनुभयो । उक्त प्रतियोगितामा राष्ट्रिय धावकहरूलगायत ५० जनाभन्दा बढीको सहभागिता रहने ओलीले बताउनुभयो । प्रतियोगीहरूले दौड प्रतियोगितामा भाग लिन यही भाद्र ५ गतेभित्र नाम दर्ता गर्नुपर्नेछ । नाम दर्ता गर्नको लागि दर्ता शुल्क रु ५०० नागरिकताको प्रतिलिपि, मेडिकल रिपोर्ट र स्वघोषणापत्र पेस गर्नुपर्नेछ ।

राप्ती साहित्य परिषद्ले मुसीकोटका सम्पदाहरूको परिचय र संवर्द्धनहेतु आयोजना गरेको यस प्रतियोगितालाई सफल तुल्याउन विभिन्न सहयोगदाताहरूबाट सहयोग सङ्कलन गरी यो प्रतियोगिता यही भाद्र १२ गते सम्पन्न गर्दै छ । आजको मितिसम्म कविन्द्र पुन, खगेश्वर भण्डारी, पूर्ण ओली, एक्कबहादुर केसी, जोगेन्द्र पुन, दिलबहादुर खडका, दलबहादुर खडका र जयबहादुर थापाले रु १००० देखि रु ५००० सम्म सहयोग प्रतिबद्धता गरेको पूर्ण ओलीले बताउनुभयो । यस प्रतियोगिताको आयोजक राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिम रहेको छ । दौड प्रतियोगिताको अन्तिम तयारी सम्पन्न भएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...