उपेन्द्रलाल कामी
बिषय प्रवेश
नेपाली राजनीतिमा केही समयदेखि यता राष्ट्रिय राजनीतिमा निर्णायक प्रभाव पार्ने पार्टीहरुभित्र नयाँपन दिनको लागि नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने बहसको बिषयले अलि व्यापक रुप लिइरहेको छ । खास गरि नेपालका दुई ठुला कम्युनिस्ट पार्टीहरु ने क पा (एमाले) मा अध्यक्ष केपि ओलीपछिको नेतृत्वको दावेदार बनाउन पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारीलाई अघि सार्ने कसरत भइरहेको छ भने ने क पा (माओवादी केन्द्र ) मा अध्यक्ष प्रचण्डपछिको नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बिषयले पार्टीका नेता–कार्यकर्ताहरुलाई कित्ताबन्दी भएर पार्टीभित्रबाट र बाहिरपनि छताछुल्ल भएर अभिब्यक्तिहरु आइरहेका छन् । यस आलेखमा बहसलाई ब्यवस्थित रुपले अघि बढाउन सहयोग पुगोस् भन्ने हेतुले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण या रुपान्तरणको सवाल लाई कसरी लिने भन्ने बिषयमा नै चर्चा गर्न खोजिएको छ ।

क) नेतृत्व निर्माणको प्रश्न एवं चारित्रिक बिशेषता
कुनैपनि पार्टी ÷ संगठनको नेतृत्व भनेको सिद्धान्त– विचार अनुसारको निर्धारित लक्ष्य वा उद्देश्य प्राप्त गर्न प्रेरित गर्ने, मार्गदर्शन गर्ने र प्रभाव पार्ने प्रक्रिया हो । सरल भाषामा नेतृत्व भन्नाले मानिसहरूसंग सहकार्य गर्न, प्रेरित हुन, र एउटै लक्ष्यतर्फ अघि बढ्न उत्प्रेरित गर्ने क्षमता पनि हो । कम्युनिस्ट पार्टीमा नेतृत्व निर्माण निकै ठूलो त्याग, तपस्या र वलिदानीबाट निर्माण भएको हुन्छ । यसरी निर्माण भएका नेतृत्वहरुको पनि निम्न चारित्रिक बिशेषता भएका ब्यक्तिगत गुण र स्वभाव– शेलीहरु रहेका हुन्छन् । ती हुन–

१– कठोर स्वभावको नेतृत्व (Autocratic Leadership )
यो बिशेषता भएको नेतृत्वले अरुलाई आदेश दिने, निर्णय आफैं गर्ने, अरूको सुझाव नलिने र पार्टी÷ संगठनलाई सैन्य ढाँचाको मोडलबाट चलाउने गरेको हुन्छ । यस खालको नेतृत्वबाट पार्टी संगठनमा हुने फाइदा भनेको छिटो निर्णय हुने, अनुशासन कडा हुने गर्दछ भने यसको नकारात्मक पक्ष वा बेफाइदा भनेको ब्यक्तिको सृजनशीलता र स्वतन्त्रतामाथि अंकुश लगाइएको हुन्छ। रुसका स्टालिन देखि उत्तर कोरियाका किम जोन सम्मका बहुचर्चित कम्युनिस्ट नेताहरू यो वर्गमा पर्दछन ।

२– लोकतान्त्रिक नेतृत्व ( Democratic Leadership)
यो चारित्रिक बिशेषता भएको नेतृत्वले पार्टी ÷ संगठनमा सबैको विचार सुन्ने, निर्णयमा सहभागी गराउने र उत्प्रेरित गरेर परिचालन गर्ने स्वभाव– शैली अवलम्बन गरेको हुन्छ । यस खालको नेतृत्वबाट पार्टी ÷ संगठनलाई हुने फाइदा भनेको टोली भावना बलियो हुन्छ, सृजनशीलता बढ्छ र केही बेफाइदा भनेको धेरैलाई छलफलमा सहभागी गराउनुपर्दा छिटो निर्णय लिनुपर्ने अवस्थामा समय लाग्न सक्छ ।

३ – स्वतन्त्र चरित्रको नेतृत्व (Lassies–Fair Leadership)
यसखाले चारित्रिक बिशेषता भएको नेतृत्वले टोलीलाई स्वतन्त्रता दिने, कम हस्तक्षेप गर्ने भएको हुँदा आफै पनि अनुसन्धान र सिर्जनशील क्षेत्रमा लाग्ने र पार्टी÷ संगठनभित्र व्यक्तिको स्वतन्त्रता र सृजनशीलतालाई पनि प्रोत्साहित गरिरहेको हुन्छ । यसका केही बेफाइदा भनेको लक्ष्य अनुसार पार्टी÷ संगठनलाई अगाडि बढाउने कुरामा अनुशासन कमजोर हुन गई अराजकता हावी हुन सक्छ ।

४– लेनदेनात्मक चरित्रको नेतृत्व (Transactional Leadership)
लेनदेनात्मक चारित्रिक बिशेषता भएको नेतृत्वले पार्टी ÷संगठनलाई बिचार र राजनीतिक कार्यदिशामा स्पष्ट बनाएर होइन आश्वासन र त्रास देखाएर पुरस्कार र दण्डको माध्यमबाट पार्टी ÷ संगठनभित्र काम गराउने गर्दछ । ब्यापारिक संस्था वा सरकारी निकायहरूमा गरिने जस्तो नाफा– घाटाको हिसाबबाट पार्टी ÷ संगठनलाई परिचालन गर्ने गरेको भए तापनि अल्पकालीन लक्ष्य प्रष्ट बनाउदै कार्यक्षमताको बिकास भने गराएको हुन्छ । यस चरित्रको नेतृत्वको नकारात्मक पक्ष वा बेफाइदा भनेको रणनीतिमा दृढता र कार्यनीतिमा लचकता हुदैन । तत्कालको फाइदाका लागि पार्टी ÷ संगठनको सिद्धान्त, बिचार र मूल्यमान्यतासंग पनि सौदाबाजी गर्ने गरेको हुन्छ

५– रुपान्तरणात्मक चरित्रको नेतृत्व (Transformational Leadership)
बैचारिक रुपले सशक्त , दूरदर्शी सोंच भएको, दृष्टिकोण प्रदान गर्ने, बहुआयामिक र बहुप्रतिभाशाली ब्यक्तित्व भएको र मानिसहरूलाई प्रेरित गरेर ठूलो परिवर्तन ल्याउने चारित्रिक बिशेषता भएकोलाई रुपान्तरणात्मक नेतृत्व भनिन्छ । यो बिशेषता भएको नेतृत्वबाट हुने फाइदा भनेको राजनीतिमा उथलपुथल ल्याउने र दीर्घकालीन प्रगतिमा गहिरो प्रभाव पार्दछन् । उदाहरणका लागि कार्लमाक्स, लेनिन , माओत्सेतुङ, नेल्सन मण्डेला, महात्मा गान्धी, बि पि कोइराला हुँदै मदन भण्डारी, प्रचण्डसम्मलाई लिन सकिन्छ । परिवर्तनकारी नेतृत्व बन्नको लागि उच्च स्तरको समर्पण आवश्यक हुन्छ । समय–परिस्थितिको माग र आवश्यकताले परिवर्तनकारी नेतृत्व जन्माउछ । सहज परिस्थितिमा जो कोही मान्छे यस खालको नेतृत्व बन्न सक्दैन । तर हामीले बुझ्नुपर्ने कुरा के छ भने समय र परिस्थितिले नेतृत्वका चारित्रिक गुणहरुमा पनि परिवर्तन हुने गर्दछन् । जुन हामीले देख्दै र भोग्दै आइरहेका पनि छौं ।

ख) कम्युनिष्ट पार्टीमा नेतृत्व परिवर्तन किन जटिल छ ?
विश्व कम्युनिष्ट आन्दोलनमा र नेपालको सपन्दर्भलाई पनि हेर्ने हो भने पार्टीमा लामो समयदेखि योगदान गरेर स्थापित भएको नेतृत्व सहज अवस्थाबाट बहिर्गमन भएको बिरलै मात्रामा पाइन्छ । पार्टीमा जनवादी केन्द्रीयताको बिषयलाई जति ब्याख्या गरेपनि नेतृत्वको बहिर्गमन हुनलाई कि मर्नुपर्ने वा कार्वाही गरेर निकालिनुपर्ने वा अशक्त भएको अवस्थामा राजिनामा दिनुपर्ने वा महाधिवेशनमा गएर सहमतीय वा बहुमतीय प्रकृयाबाट टुंगो लगाउनुपर्ने अभ्यास हुदै आएका छन् ।

नेपालको सन्दर्भमा तत्कालीन ने क पा (माले) ले झापा बिद्रोहको असफलतापछि समिक्षा गरेर मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवादको सैद्धान्तिक राजनीतिक कार्यदिशा पारित गरेर ने क पा (एमाले) बाट उदाएका जननेता मदन भण्डारीको रहस्यमय जिप दुर्घटनाबाट हत्या हुनु, त्यसपछिका एमाले नेतृहरुमा माधवकुमार नेपाल पन्ध्रबर्ष जति महासचिवमा रहेर काम गर्दै आउदा २०६४ को संबिधान सभाको चुनावमा २÷२ स्थानबाट पराजित भएपछि नैतिकताको आधारमा राजिनामा दिएपछि मात्र बुटवलको आठौं महाधिवेशनमा के पि ओलीलाई पराजित गरेर झलनाथ खनाल पार्टी अध्यक्ष बनेको र नवौं महाधिवेशनबाट केपी ओली पार्टीको अध्यक्षमा निर्वाचित भइसकेपछि ने क पा माओवादीसंगको एकताबाट नेपाल कम्युनिस्ट पार्टी गठन र नेताहरुबीचको तिक्ततापूर्ण अन्तरसंघर्षका कारण ने क पा बिघटन हुँदादेखि आजका दिनसम्म केपि ओली नै पार्टीको प्रमुख रहेको अवस्था छ भने तेस्रो कार्यकाल पनि आफैले नेतृत्व गर्ने मनसायले राखेर अध्यक्षको दावेदार गर्न सक्ने अवस्था देखेपछि पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारीको पार्टी सदस्यता नै गायब बनाइदिएको बिषय छताछुल्ल रुपमा बाहिर आएको छ ।

यता ने क पा ( माओवादी केन्द्र ) मा सेक्टर काण्डपछि मोहनबैद्य (किरण) ले नेतृत्वबाट राजिनामा दिएर प्रचण्डलाई अघि सारेपछि साढे तीन दशकसम्म पार्टीमा एकछत्र नेतृत्व गर्दै आएका प्रचण्डले नेतृत्व हस्तान्तरण गर्ने उपयुुक्त समय र विश्वसनीय पात्र अझै देखेको अवस्था छैन । गोरखा पालुङटारको बिस्तारित बैठकबाट किरणले अघि सारेको जनबिद्रोहको लाइनलाई परिमार्जन सहित पारित गरेर बाबुराम भट्टराईको अल्पमतमा परेको शान्ति र संबिधान निर्माणको लाइनलाई कार्यान्वयन गर्दा प्रचण्डले न किरणलाई पार्टी फुटाउनबाट रोक्न सक्ने अवस्था रह्यो न त बाबुरामको राजनीतिक लाइन कार्यान्वयन गर्दा बाबुराम भट्टराईलाई प्रचण्डले नेतृत्व हस्तान्तरण गर्ने मनसाय नै थियो । जसले गर्दा माओवादी पार्टीमा प्रचण्डसंग न मोहन वैद्य किरण–बादलहरु रहे न त बाबुराम भट्टराई नै प्रचण्डका उत्तराधिकारी भए । ने क पा ( एमाले) संगको पार्टी एकता र फुटसंगै पुनर्गठन गरिएको माओवादी पार्टीभित्र देशमा बदलिने गरेको राजनीतिक समिकरणसंगै पार्टी नेतृत्वका कतिपय स्वैच्छाचारी, विवादास्पद कार्यशैलीले गर्दा प्रचण्डको नेतृत्वमाथि बेला– बेलामा पार्टी भित्र र बाहिर प्रश्नचिन्ह खडा भएर नेतृत्व परिवर्तनको बिषय उठ्ने गरेको भए तापनि प्रचण्डको बिकल्प दिने गरि माओवादीमा कुनैपनि नेतृत्व अगाडि आएर बिचारधारात्मक राजनीतिक कार्यदिशा सहितको बैचारिक बहस गर्न सकेको अवस्था छैन ।

ग) बिधिबाट हस्तान्तरण, नीतिबाट पुस्तान्तरण र बिचारबाट रुपान्तरण
पछिल्लो चरणमा ने क पा (माओवादी केन्द्र) मा जनार्दन शर्मा प्रभाकरले पार्टीभित्र उठाएका बिषयले भने एउटा तरंग पैदा गरिदिएको छ । त्यतिमात्र होइन सार्वजनिक मञ्चमै अध्यक्ष क प्रचण्डले जनार्दन शर्मातर्फ इंगित गर्दै आफुसंग केही साथिहरुले सिँगौरी खेल्ने गरेको अभियब्यक्ति दिनु र जनार्दन शर्मा प्रभाकरले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने बिषय उठाउनुले कतै पार्टी पुनः फुटको दिशातिर जाने त होइन ? भन्ने कुरा कार्यकर्ता पंक्तिमा चिन्ता बढेको अवस्था छ । एउटा गतिशील पार्टीमा फरक मतका साथ बिषय उठान हुँदा कोही पनि आत्तिनुपर्ने बिषय होइन तर माओवादी पार्टी अन्तरसंघर्षको उचित ब्यवस्थापन गर्न नसक्दा टुटफुट हुँदै आएको अवस्था बेहोर्नुपरेको हुँदा चिन्ता बढ्नु चाहिँ स्वभाविकै हो ।
बरु अब यहाँ माओवादी पार्टीका साधारण सदस्य सम्मले बहस चलाउनुपर्ने कुरा के छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा अघि सारेको माओवादीले महाधिवेशनमा जाँदा पार्टीका आम सदस्यहरुबाट प्रत्यक्ष निर्वाचित हुने बिधिको बिकास गर्नुपर्छ कि पर्दैन ? जुन बिधिबाट निर्वाचित भएर प्रचण्ड नै पार्टी अध्यक्षमा दोहरिंदा नेतृत्व नवीकरण सहित अनुमोदन हुनेछ भने नयाँ नेतृत्व परिवर्तन भएर आउदा स्वभाविक रुपमा नै नेतृत्व हस्तान्तरण भएको हुनेछ । आम पार्टी सदस्यबाट मूल नेतृत्व प्रत्यक्ष निर्वाचित हुने पार्टीको बिधानमा ब्यवस्था गरियो भने गुटहरुको पनि स्वतः अन्त्य हुनेछ । किनकि सबै नेतृत्वहरुले पार्टी सदस्यहरुको मन जित्नका लागि माथितिर होइन तलतिर फर्केर जगैदेखि पार्टी बनाउने कामको थालनी हुनेछ र पार्टी सदस्यताको महत्त्व पनि बढ्ने छ ।

नयाँ पुस्तालाई नेतृत्व बिकास गराएर पुस्तान्तरण गर्नका लागि पार्टीभित्र युवाहरुको उल्लेख्य सहभागिता, बैचारिक रुपले स्पष्टता र परिपक्वता ल्याउन जगैदेखि नेतृत्व बिकास तालिम सहितको उपयुुक्त जिम्मेवारी ब्यवस्थापन गर्दै भरपर्दो र विश्वसनीय आधार खडा गरेर मात्र पार्टी नेतृत्व नयाँ पुस्तामा दिन सकिने नीतिगत ब्यवस्था गरिनुपर्छ । जसले नयाँ युवा पुस्तालाई पार्टीभित्र अराजक बन्नतिर होइन कि जिम्मेवारी बोधका साथ पार्टीलाई नयाँ गति दिनेगरि परिपक्वता भएको गतिशील नेतृत्व बन्नतिर उत्प्रेरित गर्नेछ ।

नेतृत्वका पनि मानवीय स्वभावजन्य कमजोरीहरु हुने गर्छन् जसले पार्टी संगठनमा पनि प्रभाव एवं असर पु¥याएको हुन्छ । मानवीय स्वभावजन्य कमजोरीहरु पटकपटक दोहरिदै जानथाले भने ति आदत एवं प्रवृत्तिको रुपमा परिणत हुन्छन् । प्रवृत्तिको रुपमा परिणत भएका मानवीय कमजोरीहरुले पार्टी ÷ संगठन र आन्दोलनमा गम्भीर क्षति पु¥याउने गर्दछन् । पार्टी /संगठनमा नेतृत्वका मानवीय कमजोरीप्रति समयमै समिक्षा गरेर आलोचना र आत्मालोचनाको माध्यमबाट सच्याउने कुरामा ध्यान दिनुपर्ने हुन्छ । मानवीय कमजोरीहरु प्रवृत्तिकै रुपमा बिकास भएर जानथाले भने बैचारिक रुपले नै हस्तक्षेप गरेर रुपान्तरण गर्नमा जोड दिनुपर्ने हुन्छ । प्रवृत्तिसंग लड्दाखेरी प्रवृत्तिहरुको बीचमा टकराव हुँदा पार्टीभित्रको अन्तरसंघर्षले चर्को रुप लिंदै गयो भने बाहिर नै छताछुल्ल भएर पोखिने गर्छन् । यस्तो अवस्थामा पार्टी फुट हुने खतरा पनि बढ्ने भएकोले आम पार्टी सदस्यपंक्तिबाट पनि प्रवृत्तिहरुको रुपान्तरणका लागि बैचारिक रुपबाट दबाबमूलक ढंगले हस्तक्षेपकारी भूमिका बढाउनुपर्ने हुन्छ ।

आफुलाई मन परेको वा मन नपर्ने नेतृत्वको पक्ष–बिपक्षमामा उभिएर अन्ध समर्थन वा बिरोध होइन कि तर्कसंगत बैचारिक बहस चलाएर रुपान्तरणका लागि भूमिका खेल्नुपर्ने हुन्छ ।

अस्वस्थ बहसले रुपान्तरण होइन बिग्रह ल्याउछ । पद्धतिमा रहेर गरिएको आलोचनाप्रति नेतृत्व असहिष्णु भयो भनेपनि त्यसले पार्टी फुटलाई मलजल पुर्याउछ भन्ने कुराको हेक्का राख्दै पार्टी भित्रको अन्तरसंघर्षलाई समुचित ढंगले ब्यवस्थापन गरेर परिणाममुखी राजनीतिक पहलकदमी लिन अघि बढौं !
रुपान्तरण अरुबाट होइन आफैबाट थालनी गरौ ! रुपान्तरण हुन नसक्नेहरु आफै इतिहासको कुडा कर्कटमा फ्याँकिने छन् । –अस्तु ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...