हरि जिज्ञासु
रुकुम सधैं राम्रो छ, तर हामीले रुकुमको विकासलाई पर्यटनसँग जोड्न अझै सकिरहेका छैनौं । विश्वमा धेरै मानिसहरू संस्कृति र प्राकृतिक सुन्दरतासँगै रमाउन चाहन्छन् । त्यो रमाउन सक्ने वातावरण भएको एउटा सुन्दर ठाउँ रुकुम पनि हो । जहाँ पर्यटकहरू रमाउन आतुर छन्, तर पर्यटकहरूका लागि सेवा–सुविधा रुकुममा छैन ।
पूर्वको सोलुखुम्बु जिल्लामा अवस्थित सगरमाथा क्षेत्रमा सिजनको समयमा दैनिक एक हजार बढी पर्यटक बाटोमा हिँडिरहेका हुन्छन् । गन्तव्यअनुसार त्यहाँ काठमाडौँको जस्तै सेवा–सुविधा भएको होटलहरू छन् । जहाँ पर्यटकहरूलाई सजिलो छ । रुकुमका ऐतिहासिक बस्ती र यहाँका सुन्दर हिमालहरू पर्यटकका लागि मुख्य आकर्षणका केन्द्र हुन् । प्रकृतिले दिएको यी उपहार रुकुमेली जनताका निम्ति सम्पत्ति पनि हुन् । त्यसैले स्थानीय तहका सरोकारवाला निकायले यसप्रति ध्यान दिनु नितान्त आवश्यक छ ।
नेपालमा १३ पटक भन्दा बढी यात्रा गरिरहेकी एक जर्मन नागरिकले मलाई पश्चिम नेपाल घुम्न जाने इच्छा व्यक्त गरिन् । रुकुमको सिस्ने हिमाल र यहाँका केही सुन्दर ऐतिहासिक बस्तीको तस्वीर देखाएँ । तस्वीर देख्नेबित्तिकै उनले आउँदो वर्ष म पश्चिम नेपाल जानको लागि तयारी गर्छुू भन्ने प्रतिक्रिया दिइन् । यत्तिकैमा उनको गुनासो के रह्यो भने, पश्चिममा बस्नका लागि सुविधासम्पन्न होटलहरू छैनन् । सिस्ने हिमालको आधार शिविर पुग्नको लागि होटलहरू छैनन् । त्यहाँ टेन्ट लगाएर बस्नुपर्ने हुन्छ । त्यसको लागि धेरै ठूलो समूह चाहिन्छ, तर म समूह निर्माण गर्नको लागि समय लाग्छ ।
रुकुमको शान सिस्ने हिमालको आधार शिविरसम्म जानको लागि अलिकति राम्रो बाटो र व्यावसायिक रूपमा त्यहाँ केही होटल सञ्चालन गरेमा हामीले रुकुममा पर्यटन यात्रा गर्न सकिन्छ भन्ने सन्देश दिन सक्छौँ । अहिले त हामीले हाम्रो रमणीय दृश्यसमेत विदेशी पाहुनाहरूलाई देखाउन सकिरहेका छैनौँ । पहिला उनीहरू नेपाल पुग्ने र त्यसपछि उनीहरूले पश्चिम नेपालको रुकुमलाई आफ्नो गन्तव्य ठान्ने वातावरण निर्माण गर्नु आवश्यक छ । यति गर्न सकिएन भने हाम्रो पर्यटन विकासको ढोका खुल्न गाह्रो छ ।
दुई वर्ष अघि म काठमाडौँबाट मनास्लु यात्रा गरेको थिएँ । चुमनुब्री गाउँपालिका–२, स्याँला गाउँका पूर्व वडाध्यक्ष पेम्बा रेताले त्यो गाउँको बारेमा मलाई बताउनुभयो, “पहिले त यो लेकमा हामीले चौंरी चराउने गर्दथ्यौँ । गोठहरू मात्रै थिए । आलु र फापर उत्पादन हुन्थ्यो। जब मनास्लु हिमालले पर्यटन बजार लियो, त्यसपछि यहाँ पर्यटन रुट खुल्यो र हामीले यहाँ होटल सञ्चालन गरेका हौँ। अहिले सिजनमा दैनिक सयौँ विदेशी र स्वदेशी पर्यटकहरू यो स्याँला गाउँमा बास बसेर मनास्लु उक्लिन्छन् ।”
हाम्रो झारमारे लेकमा अहिले भैंसी चराउने गरिन्छ । सिस्नेको गुप्ता दह, भूनभुने लेक लगायत अन्य धेरै सुन्दर खर्कहरूमा अहिले भैंसी र भेडा चराउने गरिन्छ।
यदि हामीले पर्यटन विकासमा ती सुन्दरताहरूलाई स्थापित गर्ने हो भने, एक दिन पक्कै भैंसी र भेडा डुल्ने हाम्रो रुकुमका पाटनमा विदेशी पाहुनाहरू डुल्नेछन् । उनीहरूले हाम्रो रुकुममा खर्च गर्नेछन्। हाम्रो आयस्रोत उनीहरू हुनेछन्। धेरै युवाहरूले रोजगार पाउनेछन् । हामी रुकुमेलीहरू व्यवस्थित बन्दै जानेछौँ र रुकुमलाई हेर्ने दृष्टिकोण अलि फरक हुनेछ ।
आफ्नो गाउँ–ठाउँको प्रचार गर्न कुनै पनि स्थानीय तहको जनप्रतिनिधिले कञ्जुस्याइँ गर्नु कदापि हुँदैन । पर्यटनको लागि महत्वपूर्ण कुरा भएको चीजवस्तुलाई सकारात्मक प्रचार गर्नु हो । सायद गत वर्षतिर होला, एउटा चलचित्रमा बजेको गीत “रुकुम मैकोट”ले रुकुमलाई चिनायो । रुकुमका गाउँहरूलाई चिनायो। गीत सुनेर पनि रुकुम मैकोटमा आन्तरिक र केही बाह्य पर्यटकहरू पुगेको खबर सुन्न पाइयो । त्यसैले हामीले हाम्रो ठाउँको जसरी पनि विकास गर्नैपर्छ । प्रकृतिले नै हामीलाई उपहारस्वरूप हिमालहरू दिएपछि पर्यटकको बाटो तय गर्न अर्को अनौठो र कष्टपूर्ण काम गर्नुपर्ने छैन । हामीले हिमालसम्म पुग्ने राम्रो बाटो र पर्यटकका लागि आवश्यक होटल–पसलको व्यवस्था गरे पुग्छ ।
पछिल्लो समय सिस्ने राउण्डको चर्चा चलिरहेको छ । रुट तयार गर्ने कार्य पर्यटन विज्ञसँगको सल्लाह अनुसार अघि बढ्नुपर्छ । बजेट सकाउने उद्देश्यले विकासको मोडेल अघि बढाएमा पछि दुःख पाइने पक्का छ । रुटकै कारण पर्यटकलाई सहज पनि हुन सक्छ, असहज पनि हुन सक्छ । त्यसकारण स्थानीयहरूसँग मिलेर पर्वतारोहीसँगको सल्लाहमा हामीले त्यसलाई अघि बढाउनु पर्छ । मेरो अनुभवमा, रुट तयार गर्दा बाह्य पर्यटक र आन्तरिक पर्यटकलाई ध्यानमा राखेर तयार गर्नुपर्ने हुन्छ । नेपाली हौँ या विदेशी, जो भए पनि छुट्टीको समयमा घुम्न आउने हो । त्यसकारण हामीले छोटो र लामो दूरीको रुट तयार गर्नुपर्ने हुन्छ । जस्तै, विश्वको अग्लो सगरमाथाको रुट बढीमा १५ दिनको छ । समय कम भएकाहरू काठमाडौँबाट १० दिनमै सगरमाथा आधार शिविर पुगेर फर्कन सक्छन् ।
त्यस्तै, मनास्लुको रुट पनि १२ देखि १५ दिनको छ । आधा महिनाको यो रुट राम्रो छ । त्यसैले पनि पर्यटकको रोजाइमा यी रुट पर्न गर्छन् । लामो दूरीको पदयात्रा गर्नेहरू डोल्पा पुग्छन् । रुकुमको सिस्ने हिमालको आधार शिविर पुग्न कति दिन लाग्छ र कहाँबाट कस्ता सुन्दर दृश्य देख्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखी रुट तयार गर्नु आवश्यक छ । हामीले हाम्रो सुविधालाई होइन, पर्यटकलाई मनपर्ने दृश्य देखाउनु र उनीहरूलाई हामीले राम्रो सेवा–सुविधा उपलब्ध गराउन सक्नुले महत्वपूर्ण अर्थ राख्छ ।
रुट तयार गर्दा सकेसम्म जुन बाटो गयो, त्यही बाटोबाट फर्कने गरी निर्माण गर्नु हुँदैन । सकेसम्म एउटा गाउँबाट प्रवेश गरेर अर्को जिल्ला अथवा गाउँ पुगेर फर्किने गरी गर्नुपर्ने हुन्छ ।
रुकुम पूर्वको सिस्ने गाउँपालिकाको सिस्ने गाउँ र आठबीसकोटको स्याँलाखदी सिस्ने हिमालको आधार शिविरतर्फको महत्वपूर्ण प्रवेशद्वार बन्ने पक्का छ । रुट तयार गर्नको लागि एउटा निश्चित व्यक्तिको मनले चाहेर हुने कुरा होइन । विकासको गतिलाई अघि बढाउन अलिकति वृहत् काम गर्नुपर्ने आवश्यक छ । प्रचार–प्रसार पनि त्यत्तिकै महत्वपूर्ण छ । पर्यटन बोर्डसँगको समन्वय पनि त्यत्तिकै आवश्यक छ। जसले गर्दा हामीले हाम्रो ठाउँलाई पर्यटनसँग जोड्न सक्छौँ। अहिलेसम्म हामीले प्रचार–प्रसार गर्न सकिरहेका छैनौँ। अझ भन्नुपर्दा सिस्ने हिमालको आधार शिविर कहाँनेर मान्ने भन्ने विषयसमेत उठेको छैन । हामीले सिस्ने हिमालको आधार शिविर तयार गर्नु आवश्यक छ अनि त्यसपछि त्यसको प्रचार–प्रसार हुनेछ । यस विषयमा अलिकति वृहत् योजना बनाउनुपर्छ । योजना बनाउनको लागि पर्यटनसम्बन्धी ज्ञान भएको व्यक्तिको आवश्यक पर्दछ । कभर तस्बिर : रासस

