अमेरिकाको मध्य टेक्ससमा अचानक आएको बाढीमा १५ बालबालिकासहित ५१ जनाको ज्यान गएको छ भने हराइरहेकाहरूको खोजी कार्यका निम्ति सयौँ उद्धारकर्मीहरू परिचालन गरिएको अधिकारीहरूले जनाएका छन् । सबैभन्दा खराब असर देखिएको केर काउन्टीमा ४३ जनाले ज्यान गुमाएका छन् भने ग्वाडआलूपे नदी किनारस्थित ’क्रिश्चिअन युथ क्याम्प’का २७ जना बालबालिका अझै हराइरहेको अधिकारीहरूले बताएका छन् । “खोजीकार्य जारी छ र सबैजना नभेटिँदासम्म जारी रहने छ,“ केर काउन्टीका शेरिफ ल्यारी लिथाले भने । ट्राभिस काउन्टी र टम ग्रिन काउन्टीसहित राज्यका अन्य स्थानमा पनि मानिसहरूको मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्म करिब ८५० जनाको उद्धार गरिएको अधिकारीहरूले बताएका छन् । यो सप्ताहान्तभरि मध्य टेक्ससका कतिपय स्थानहरूमा बाढीको जोखिम कायम रहने बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आपत्कालीन स्थितिसँग जुध्न आफ्नो प्रशासनले स्थानीय अधिकारीहरूसँग मिलेर काम गरिराखेको बताए । होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले खोजीकार्यलाई सघाउन सङ्घीय सरकारले तटरक्षकहरूलाई खटाउने बताइन् । मौसम पूर्वानुमानकर्ताहरूले यो सप्ताहान्तमा टेक्ससले थप बाढीको सामना गर्नु पर्ने हुन सक्ने चेतावनी दिएका छन्।
खोजीकार्य मुख्यगरी क्याम्प मिस्टिक भनिने ग्वाडआलूपे नदी किनारस्थित किशोरीहरूको एउटा ठूलो क्रिश्चिअन समर क्याम्पमा केन्द्रित छ । टेक्ससका लेफ्टिनन्ट गभर्नर डान प्याट्रिकले “हराइरहेका २७ जनामध्ये धेरैजसो बाह्र वर्षभन्दा कम उमेरका“ भएका बीबीसीको रेडिओ फोर पीएम कार्यक्रमलाई बताए । शिविरबाट प्राप्त तस्बिरहरूमा त्यहाँ लगिएका ओढ्ने ओछ्याउने, खेलौना तथा अन्य निजी सामग्रीहरू हिलाम्ये भएको देखिएको बिबिसीले समाचार लेखेको छ ।