नेकपा माओवादी केन्द्रले ८ जनालाई केन्द्रीय समिति सदस्यमा थप गर्नुका साथै केहि केन्द्रीय सदस्यलाई पदमुक्त पनि गरेको छ । केहि समयअघि बसेको पदाधिकारी बैठकको निर्णय अनुसार केन्द्रीय समितिको जिम्मेवारी थपघट गरेर मातहतका समितिहरुमा सर्कुलर गरेको हो ।
जस अनुसार हुम्लाका छिरिङ डण्डुललाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको छ । त्यस्तै झापाका बीरेन्द्र बस्नेत, चितवनका कृष्णराज न्यैपाने, बद्री तिमिल्सिना र बाग्लुङका खगेन्द्र छन्त्याललाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । त्यस्तै बाग्लुङका रेशमबहादुर जुग्जाजी, बाग्लुङका धनबहादुर विक र तनहुँका मदन आलेलाई पनि बैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
नेकपा माओवादी केन्द्रले तीन जना केन्द्रीय सदस्यलाई पदमुक्त पनि गरेको छ । जस अनुसार गुप्त हमाल, दलमायाँ रोका र केशव कुँवरलाई पदमुक्त गरेको जानकारी दिइएको छ । निस्कृय, अन्य पेशामा रहेका देखि बैदेशिक रोजगारीमा गएका केन्द्रीय सदस्यलाई पदमुक्त गरेको हो भने उनीहरुको ठाउँमा नयाँ सक्रिय देखि एकता प्रकृयाबाट आएका नेताहरुलाई केन्द्रीय समितिमा जिम्मेवारी दिएको हो । ठुलो र भद्धा केन्द्रीय समिति रहेको भनेर सार्वजनिक आलोचनाहरु भैरहेको भएपनि माओवादी केन्द्रले बेलाबेला केन्द्रीय समिति सदस्यमा थपेर झन ठुलो समिति बनाईरहेको छ ।
