– यु.के.लाल

जनयुद्ध भित्रको राजनीतिमा परिवारको चित्र
जुनसुकै ब्यवसायिक तथा जिम्मेवारी कामको लागी मान्छेको लगनशीलता नै पहिलो एवं महत्वपूर्ण लगानी हो । जिम्मेवारी कामप्रतिको लगनशीलता भएन भने अरु जतिसुकै पूँजी लगानी गरेता पनि सफलता प्राप्त गर्न सकिदैन । स्पष्ट लक्ष्य निर्धारण गरेर योजनाबद्ध रुपमा कर्म गर्न थाल्ने हो र काममा रमाउन सिक्ने हो भने हरेक असफलतामाथि सफलता प्राप्त गर्न सकिन्छ । त्यहि प्राप्त सफलता नै लगनशीलताको सूचक हो । एकै स्थानबाट निरन्तर बग्ने खोलाको पानीले पनि कडा चट्टानलाई समेत खियाउदै गइरहेको हुन्छ । यस्तै लगनशीलताले एउटा सामान्य होटल मजदूरबाट शुरुवात गरेको यात्राले तीनवटा रेष्टुरेन्ट होटलको मालिक बन्न सफल ब्यवसायी भारतको गोवा राज्य बाम्बोलियममा रहेका प्रकाश ओली पनि एक हुन ।

रुकुम (पश्चिम) जिल्ला मुसिकोट नगरपालिका वडा नं १२ नयाँगाउँ जन्म घर भएका आमा पिमा ओलीकोे कोखबाट २०३७ श्रावण ४ गते जन्मिएका पहलभान ओलीका माइला छोरा प्रकाश ओलीका एक दाजु, दुई भाई, र दुई बहिनीहरु रहेका छन्् । निर्मला रोकासंग बैवाहिक सम्त्रन्धमा जोडिएका प्रकाश ओलीका एक छोरा समिर ओली र दुई छोरीहरु उर्मिला र सुशिला ओली रहेका छन् । माओवादी जनयुद्ध कालमा उनका दाजु धर्मप्रसाद ओलीको कर्ण बहादुर बि.क.का दम्पतीसंगै २०५५ माघ २७ गते सानीभेरीको गरायलामा तत्कालिन राज्यपक्षका सुरक्षाकर्मीबाट हत्या गरिएको थियो । माओवादी निकट अखिल (क्रान्तिकारी) को बिद्यार्थी राजनीतिमा लाग्दा सिम्रुतुको प्रहरीले पक्राउ गरेर जिल्ला सदरमुकाम पु¥याएपछि पुर्व शान्ति, गृह तथा उर्जा मन्त्री जनार्दन शर्माका कान्छा भाई अनिल शर्मासंगै सदरमुकामको हिरासतमा २५ दिन बसेर हिरासतबाटै एस.एल.सि.को टेष्ट परिक्षा दिएको उनको द्वन्दपीडित परिवारको राजनीतिक पृष्ठभूमिसंगै भारत प्रवासमा कठिन मेहनेत गरेर सामान्य होटल मजदूरबाट तीनवटा होटलको मालिक बनेको ब्यवसायिक जीवन कहानी पनि जोडिएको छ ।

(क) होटल मजदूरबाट मालिक बन्ने यात्रा
तत्कालिन ने.क.पा. (माओवादी) र राज्यपक्षबीच भएको युद्धको क्रममा रुकुम–रोल्पा जस्ता जिल्लाहरुमा जनजीवन निकै भयावह एवं कष्टर अवस्थाबाट गुज्रनुपर्ने बाध्यात्मक अवस्था थियो । स्कुलमा पढ्ने बिद्यार्थीहरुले पनि त्रासदीपूर्ण वातावरणमा पढ्नुपर्ने बाध्यताले गर्दा धेरै युवा–बिद्यार्थीहरु बीचमै पढाइ छाडेर भारत लगायतका मुलुकहरुमा जानका लागी निकै ठुलो संख्यामा पलायन हुनेक्रम चल्दै गर्दा प्रकाश ओलीलाई पनि अखिल (क्रान्तिकारी )को बिद्यार्थी संगठनमा लागेकै कारण गिरफ्तार भएर हिरासतमा बस्नुपर्ने, आफ्नो जेठा दाई धर्मप्रसाद ओलीको सुरक्षाकर्मीबाटै हत्या गरिएको हुँदा घरपरिवारको बिग्रदो आर्थिक अवस्था र असुरक्षाको स्थिती बढ्दै जान थालेपछि २०५५ सालमा एस.एल.सि.को परिक्षा दिएर गाउँका काका नाता पर्ने कमानसिङ ओलीसंग भारतको गोवामा आइ सेक्युरिटी एजेन्सीमा जोडिएर तीन महिनाजति सेक्युरिटी गार्ड भएर जागिर गरेको उनी बताउछन् ।
त्यसपछि उनी गोवाको मिरामार्कको फुडल्याण्ड होटलमा भाँडा माझ्ने काम छ महिना जति गरेको बेला घरबाट उनलाई एस.एल.सि. पास गरेको नतिजा आएको जानकारी प्राप्त भएको रहेछ । होटेल लाइनमै जोडिएर सीप र ब्यवसायिक अनुभव संगाल्दै पैसापनि कमाउने उद्देश्यले होटल ब्यवसायबाटै आफ्नो करियर बनाउने गरि कामलाई निरन्तरता दिने क्रममा उनी गोवा पञ्जिमको डेलमन होटलमा सहायक कुकमेन भएर एकबर्ष, गोवाकै गोइन्चिन चाइनिज रेष्टुरेन्टमा कुकमेन भएर दशबर्ष, मेरियट होटलमा कुकमेन भएर एकबर्ष, केनिल वर्थको फाइवस्टार होटलमा केकमेन भएर एकबर्ष, साउथ गोवा बाम्बोलियमको फाइवस्टार होटलमा कुकमेनको सेफ भएर एकबर्ष काम गर्दै आउने क्रममा ज्ञान, सीप र पैसा आर्जन गरेर सन २०१५ फेब्रुअरीबाट राजन लोहनीसंग साझेदारी गरेर गोवाको पञ्जीममा सेजुअन हाउस रेष्टुरेन्ट छ महिनासम्म सञ्चालन गरेका रहेछन् । त्यसपछि गोवाको मणिपालमा ३ मार्च २०१६ देखि उनले एकल स्वामित्वमा युनिक बार एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आउने क्रममा आठ बर्षको अवधीमा तीनवटा रेष्टुरेण्ट सञ्चालन गरेर १३ जनालाई रोजगारी दिंदै ब्यवसायबाट बार्षिक तीन करोड बराबरको कारोवार गर्दै आएको उनी बताउछन् ।

(ख) दाईको हत्या र हिरासतको यातना अविष्मरणीय घटना
सबैखाले अभाव, शोषक–सामन्तहरुको दवाव र क्रान्तिकारी बिचारको प्रभावले गर्दा माओवादी जनयुद्धमा प्रत्यक्ष वा परोक्ष रुपमा लाग्दा आफ्नो दाई धर्मप्रसाद ओली र आफु पनि पटक–पटक प्रहरीको गिरफ्तारीमा परेर चरम यातना भोग्नु परेको अवस्थाका क्षणहरु र २०५५ माघ २७ गते सानीभेरीको गरायलामा तत्कालिन राज्यपक्षका सुरक्षाकर्मीबाट कर्ण बहादुर बि.क.का दम्पतीसंगै दाई धर्मप्रसाद ओलीको पनि हत्या गरिएको घट्ना उनको जीवनभरी भुल्न नसकिने पीडादायी घट्ना भएको उनी बताउछन् । पारिवारिक जीवन ब्यवस्थापनका लागी गरिने बैवाहिक कर्ममा आफुले र बहिनीको बिवाह गर्दा लाग्ने खर्चको साथै बिरामी बुवा–आमाको उपचार गर्दा भएको खर्चबाट चरम आर्थिक संकटमा परेर निकै ठुलो ऋणको भार बोक्नुपर्ने खराब अवस्था आउदाको क्षणपनि उनको लागी अविष्मरणीय बनेको छ ।

(ग) राजनीति र ब्यवसायिक जीवनका मार्गदर्शक मान्छे
एउटा भनाइ छ, मानिसको सफलता प्राप्तिमा धेरैको सहयोगी हात रहेको हुन्छ भने असफल हुनुमा उसको आफ्नै कमजोरीको कारण रहेको हुन्छ । प्रकाश ओलीको राजनीतिक तथा ब्यवसायिक जीवनलाई एउटा उँचाईमा पु¥याउनको लागी मार्गदर्शन गरेर सहयोग गर्ने अग्रजहरुको नाम लिनुपर्दा कृष्ण बहादुर ओली, धर्मप्रसाद ओली, नयनसिङ ओली, धीरज सिर्पाली, इश्वरी भण्डारी, दुर्गा बाँठा मगरको महत्वपूर्ण भूमिका रहेको उनी बताउछन । आफ्नो हरेक सुख–दुखमा जोडिने घर–परिवारका अभिभावक र जीवनसंगीनी निर्मला ओलीको निरन्तर साथ–सहयोग एवं हौसलाले आफुलाई अघि बढ्न उर्जा मिलेको उनको भनाइ रहेको छ ।

(घ) कृषिमा आधुनिकीकरण–शिक्षा,स्वाथ्य र रोजगारलाई प्राथमिकीकरण
ने.क.पा.(माओवादी) केन्द्र निकट अखिल भारतीय नेपाली एकता मञ्चका केन्द्रीय समिति सचीवालय सदस्य समेत रहेका प्रकाश ओलीले नेपाल जस्तो अल्पबिकसित मुलुकमा बिकास र समृद्धिको यात्रालाई प्रभावकारी एवं परिणाममुखी बनाउनका लागी प्रवासी नेपालीहरुले बिदेशमा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई स्वदेशमा लगानी गर्ने सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा ब्यक्त गरेका छन् । संघ, प्रदेश र स्थानीय स्तरका तीनवटै तहका सरकारले कृषिमा आधुनिकीकरण गर्दै शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको सुझाव रहेको छ । यसको साथै राज्यको कर्मचारीतन्त्रमा सुशासन र हरेक नागरिकहरुमा अनुशासन हुने हो भने देशको बिकास र समुन्नती हुनका लागी त्यति धेरै समय नलाग्ने उनको भनाइ रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto