काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले न्यु मिडियाले समृद्धिका बाहकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । प्रविधिको विकासले फड्को मार्दै जाने, समाचारको गुणस्तरमा परिवर्तन नआउने हो भने मिडिया जगत्को विकास हुन नसक्ने उनले औँल्याए । ‘सूचना प्रविधिको विकास सँगसँगै मिडियामा आउने समाचार सामग्रीको स्तरमा सुधार हुन जरुरी छ । हरेक दिन जस्तो प्रविधिमा फरकपन छ । समाचारका प्रस्तुति र स्तर पुरानै शैलीका देखिन्छन् ।
यसमा सुधार जरुरी छ’ शुक्रबार अनलाइन र युट्युब माध्यमका सम्पादक, प्रकाशकको अन्तरक्रियामा अध्यक्ष बस्नेतले भने । उनलृ मुलुकको समृद्धिका लागि सिर्जनात्मक खोजी र रचनात्मक पत्रकारितालाई बढावा दिनुपर्ने सुझाव दिए । ‘न्यु मिडिया विकास र समृद्धिको बाहक बन्नुपर्छ । प्रविधिमैत्री बनी रचनात्मक र चाखलाग्दा समाचार सामग्री दिन सके मिडिया जगत्ले फड्को मार्न सक्छ’ उनले भने ।
पछिल्लो समय काउन्सिलले रचनात्मक पत्रकारिताको बहसलाई देशव्यापी बनाउँदै लगेको जानकारी दिँदै उनले मिडिया बचाउनका लागि सञ्चार माध्यमका रणनीति र योजनामा पुनरावलोकन गर्न सुझाव दिए । सङ्कटमा पर्दै गएको मिडिया क्षेत्रलाई जोगाउन सरकारले प्रभावकारी कार्यक्रम तय गर्नुपर्ने पनि उनको भनाई थियो । कार्यक्रममा प्रस्तुति राख्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले अनलाइन सञ्चार माध्यमलाई समाचार दिने होडबाजी नगरेर जिम्मेवार हुन सिक्नुपर्ने बताए ।