निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको मिति तोकिनु अगावै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो । २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ सहित देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेका छन् ।
स्थानीय तह निर्वाचन ऐन,२०७३ बमोजिम यसरी रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ ।
गाउँपालिका तथा नगरपालिकाका यस्ता पदहरू रिक्त हुँदा आम नागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचन मार्फत् पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी गरिरहेको छ । निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । तसर्थ नेपाल सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नु पूर्व नै योग्यता पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गरी मतदाधिकार सुनिश्चित गर्न तथा यस कार्यमा आवश्यक सहयोगका लागि आयोग सबैमा आग्रह गरेको छ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा ५ मा हुनेछ उपनिर्वाचन
आयोग गर्ने उपनिर्वाचनमा यसपटक रुकुम पश्चिमको एउटा वडामा वडा अध्यक्षको निर्वाचन हुनेछ । जसमा सानीभेरी गाउँपालिका वडा नम्बर ५ रहेको छ । लामो समयदेखि कलेजो, मृगौला र फोक्सोको समस्याले ग्रसित वडा नम्बर ५ का वडा अध्यक्ष अल बहादुर खनालको उपचारको क्रममा २०८० माघमा मृत्यु भएको थियो । खनाल नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । वडा अध्यक्ष खनालको मृत्यु भएपछि उक्त पद खाली भएको हो ।
मंसिरमा उपनिर्वाचन गर्ने गरि छलफल
प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे केहि दिनअघि छलफल भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मङ्सिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिइएको छ । प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुनेगरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरेका थिए ।
आयोगको विज्ञप्तीमा हेर्नुहोस देशभर कहाँ कहा हुदैछ स्थानीय तहको उपनिर्वाचन
