सन्तोष पौडेल –

पत्रकारिता समाजको ऐना हो, कुनैपनि बेलाको समाजको चरित्र बुझ्न पत्रकारिताले मद्धत गर्दछ । जसरी समाज वर्गीय हुन्छ त्यसरी नै पत्रकारिता पनि वर्गिय नै हुने गर्दछ । हुँदा खाने श्रमीक वा श्रमजीविको पक्षमा पत्रकारिता र हुने खाने वर्गको पक्षमा पत्रकारिता । श्रमजीविको पक्षमा गर्ने पत्रकारिता लाई जनपक्षीय पत्रकारिता भनिन्छ । वा भनौं अहिलेको सन्दर्भमा परिवर्तनका एजेण्डाको पक्षमा गर्ने पत्रकारिता जनपक्षीय पत्रकारिता हो ।

प्रेस सेन्टर नेपालको चितवनमा सम्पन्न चौंथो महाधिवेशन र हालै काठमाडौंमा सम्पन्न दोश्रो पूर्ण बैठकले आत्मसाथ गरेको विषय जनपक्षीय पत्रकारिता को विकास नै हो । महाधिवेशनबाट निर्वाचित गरेको पदाधिकारी र केन्द्रीय समितिको कार्यभारमात्रै होइन आम श्रमजीवि पत्रकारको कार्यभार भनेको वर्तमान संक्रमणकालीन राजनीतिलाई स्थिर बनाई देशमा सुसासन सहितको विकास र सम्वृद्धिमार्फत समाजवादको स्थापनामा भुमिका खेल्नु पनि हो । त्यसको लागि हामीले चुस्त र व्यवस्थित संगठन, वस्तुवादी कार्ययोजना, माहुरीझैं नेतृत्वको वरिपरि गोलवन्द हुने र सहि विचार, कार्यनीतिसहित आफ्नो क्षेत्रमा जिम्मेवारी लिँदै पुरा गर्नु अनिवार्य शर्त हो । हामीले त्यस्तै संगठन निर्माण गर्नु जरुरी छ ।

लेनिनले भन्नुभएको छ, समाजमा चल्ने कुनै पनि अग्रगामी र परिवर्तनकारी आन्दोलनलाई साथ र सहयोग गर्दै जनताका अधिकारहरुको पूर्ण ग्यारेन्टी गर्ने व्यवस्था निर्माण गर्ने राजनैतिक भूमिका समेत जनपक्षीय पत्रकारिताले खेल्दछ । जनपक्षीय पत्रकारिताले विश्व कम्युनिस्ट आन्दोलनका महान नेता एवम् पत्रकार लेनिनले भनेझैँ प्रचारकर्ता, आन्दोलनकर्ता र संगठनकर्ताको भूमिका खेल्नु पर्दछ । प्रेस सेन्टरले स्थापनाकालदेखि हालसम्म गरेको पत्रकारिता जनपक्षीय पत्रकारिता नै हो । र यसले आन्दोलनको प्रचारकर्ताको रुपमा, आन्दोलनकर्ताको रुपमा र संगठनकर्ताको रुपमा भुमिका खेलेको छ ।

हामीले विगतदेखिको इतिहास अध्ययन गर्ने हो भने राजनीतिक आन्दोलन र परिवर्तनको अभियानले प्रेसमा अनिवार्य प्रभाव पारेको देखिन्छ । ती अभियान र आन्दोलनहरुमा कहि न कहिँ प्रत्यक्ष वा परोक्ष रुपमा प्रेस जगत जोडिएकै र भुमिका खेलेकै पाइन्छ ।

२००७ सालमा राणा शासनको अन्त्य, २०१५ सालको आम निर्वाचनमा कांग्रेस एक्लैले दुई तिहाई सिट जितेर आफ्नो सरकार निर्माण गर्नु तर २०१७ सालमा राजा महेन्द्रले सत्ता कूमार्फत सरकार अपदस्थ गरेर पञ्चायती तानाशाही व्यवस्था लाद्नु, २०३६ सालको जनमत संग्रह, २०४६ सालको आन्दोलन र बहुदल स्थापना, ०५२ सालदेखिको जनयुद्ध, २०६२÷०६३ सालको जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना जस्ता राजनीतिक घटनाक्रम र परिवर्तनको प्रभाव मिडियामा पर्नु स्वभाविकै थियोे र पर्यो पनि । किनकी पत्रकारिता समाजको अग्रगामी चेतनाको परिणाम पनि हो । जसले सत्य तथ्य र वास्तविकताको धरातललाई जनताको आँगनमा ल्याइदिन्छ र जनताले सही सूचनामार्फत आफ्नो अधिकारको लागि लड्ने तागत प्राप्त गर्दछन् ।

जनपक्षीय पत्रकारिताका चुनौती

जनपक्षीय पत्रकारिता आफैंमा सजिलो विषय होइन । मेहनतकश जनताको पक्षमा पत्रकारिता गर्ने कुरा र भुइँ तहका जनताको समस्या उजागर गरी निश्कर्षमा पुर्याउने कुरा अवश्य नै चुनौतिपूर्ण कुरा हुन् । त्यसैले जनपक्षीय पत्रकारिता का चुनौतीहरुलाई विश्लेषण नगरी र यसका सिमा समस्याका बारेमा समिक्षा नगरी हाम्रो मिसनले सहि निश्कर्षमा पुग्न सक्दैन । हामीले गरिरहेको पत्रकारिता लाल त छ तर निपूर्ण छैन भन्ने कुरा हामीले स्वीकार्नुपर्दछ । आफ्नै कमजोरीहरुमाथि निर्मम प्रहार नगरी कोही पनि सफल बन्न सक्दैन । जनपक्षीय पत्रकारिता को मुख्य चुनौती भनेकै लाल हुने तर निपूर्ण नहुने हो । यसलाई हामीले तालिम प्रशिक्षण, अनुभव मार्फत परिस्कृत गर्द सुधार्न र परिवर्तन गर्न सक्छौं । अर्को चुनौति भने साधन श्रोतको कमी हो । अहिलेको यो चुनौतिमाथि विजय गर्न पूँजीले मात्रै सम्भव हुँदैन । प्रविधिको अधिकतम उपयोग गर्ने र सानो र थोरै साधनश्रोतमार्फत ठूलो र साधन श्रोतले सम्पन्न अफवाहमाथि छापामार ढंगले एकीकृत र केन्द्रीकृत भएर जाइ लाग्नुपर्दछ । यसमा संगठनको एकता र वस्तुवादी योजना मुख्य हतियार बनाउनुपर्दछ । त्यसैगरी अर्को चुनौति हो, उचित अध्ययन र खोज अनुसन्धानको अभाव । यो चुनौतिको सामना गर्न हामीले आफ्नो अनुसन्धानको दायरा र गोपनियताको स्तरलाई अत्यन्त वृद्धि गर्न जरुरी हुन्छ । श्रोतको गोपनियता र सुरक्षा यसको मुख्य विषय हो । आफ्नो वर्ग पक्षको सबल पक्ष र दुश्मनको दुर्बल पक्षलाई मसिनो गरी खोजी गर्ने र तथ्यसहित कलात्मक ढंगले प्रस्तुत गर्ने क्षमता हामीले विकास गर्नै पर्दछ ।

अबको हाम्रो जोड जनपक्षीय एजेन्डासहितका सामग्रीको उत्पादन र कलात्मक प्रस्तुतिकरणमा समेत हुनु पर्दछ । श्रमजीवि र आम उत्पीडित वर्गलाई जागृत र एकताबद्ध पार्ने खालको सामग्रीको उत्पादन, नयाँ पुस्तालाई उपभोक्तावादी संस्कृतिमा डुबाउने छाडा, पुँजीवादी प्रचार संयन्त्रको विकल््पमा विचारधारात्मक दृष्टिले नयाँ विश्वदृष्टिकोण प्रदान गर्ने सामग्रीको उत्पादनमा जोड दिइनु पर्दछ । क्रान्तिकारी नेतृत्वका विरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारलाई तोड्ने नयाँ प्रचार–योजना तय गरिनु पर्दछ । जसले परिवर्तनलाई संस्थागत गर्दै जनतामा नयाँ आशाको सञ्चार गराउन सक्छ र नेतृत्वप्रति विश्वास पैदा गराउन सक्छ ।

वैकल्पीक मिडियाको विकास

वैकल्पिक मिडियाको विकास गर्ने कुरा निकै नै चुनौतीपूर्ण छ तर, यो असम्भव विषय भने होइन । माओवादीको नेतृत्वमा सञ्चालित १० वर्षे महान् शसस्त्र जनयुद्धका क्रममा वैकल्पीक मिडियाको विकास एक हदसम्म भएको अवस्था हो । राज्यले थोपरेको संकटकाललाई परवाह नगरी आफ्नै ढंगले जनताको पक्षमा पत्रकारिता गरेका जनादेश जनआव्हान लगायतका पत्रिका र देशैभर सञ्चालित रेडियो जनगणतन्त्र नेपालको प्रसारण त्यसको ज्वलन्त उदाहरण हुन् । अहिले त्यो अवस्था छैन, देशमा शान्ति स्थापना भएको छ र जनयुद्धको बलमा देशमा गणतन्त्र स्थापना भएको छ । तर पनि पुँजीवादी मिडियाहरुको विकल्पमा जनपक्षीय रेडियो टेलिभिजन, पत्रपत्रिका सञ्चालन गर्नुपर्ने आवश्यकता भने छ । यसका लागि प्रेस सेन्टर नेपालको नेतृत्व र सिङ्गो संरचनाको प्रभावकारी परिचालन नै प्रमुख आधार बन्न सक्दछ । पार्र्टी पङ्क्तिदेखि जनस्तरसम्म अध्ययन–संस्कृति खस्कँदै गएको वर्तमान अवस्थाबाट माथि उठ्नसक्नु अपरिहार्य छ । जनपक्षीय पत्रकारिताको रक्षा र विकासका लागि शान्त तलाउजस्तो संगठन नभई विचारधारात्मक ज्वारभाटा पैदा गर्ने जुझारु सङ्गठनको आवश्यकता छ ।

election adv.

पत्रकारिता सामान्य अर्थमा व्यवसाय जस्तो देखिएपनि मूलतः मिसन नै हो र राजनीति नै हो, यो कुरालाई गहिरो गरी बुझ्न जरुरी छ । आजको युग सूचना संचार र प्रविधिको युगमा बदलिइसकेको छ । सिंगै विश्व एक गाउँमा परिणत भइसकेको अवस्थामा हामीले हाम्रो क्षमता र सिपहरुलाई पनि त्यही तवरले विकास गर्नु जरुरी छ । इन्टरनेट र मोबाइलको पहुँच विस्तारसँगै विश्वभर पत्रिकाका पाठक, टेलिभिजनका दर्शक र रेडियोका श्रोता घटेका छन् । सामाजिक सञ्जाल र अनलाइनमा पाठक, श्रोता र दर्शक झुम्मिएका छन्। पत्रिका, टेलिभिजन र रेडियोका विज्ञापन अनलाइन र सामाजिक सञ्जालमा केन्द्रित हुन थालेका छन् । इन्टरनेट र प्रविधिको पहुँचले सबै लोकल मिडियालाई ग्लोबल र ग्लोबललाई लोकल बनाइदिएको छ । विगतमा जस्तो मिडियालाई स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय भनेर वर्र्गीकरण गर्न सक्ने अवस्था छैन । आजको युगमा सबै मिडिया लोकल हन्, सबै मिडिया ग्लोबल हुन । यस्तो अवस्थामा हामीले आफ्नो क्षमतालाई सोही अनुसार अभिवृद्धि गर्ने र एजेण्डाहरुलाई स्थापित गर्ने प्रयास गर्नुपर्दछ ।

प्रेस सेन्टरको मौलिक पहिचान

प्रेस सेन्टर नेपाल स्थापनाको हिसावले कान्छो संगठन भएपनि अन्य पत्रकार संस्थाभन्दा फरक र मौलिक पहिचान बनाएको संस्था हो । देशमा सबैभन्दा पहिले संघीय ढाँचामा जाने संगठन प्रेस सेन्टर हो । सबैभन्दा पहिले समावेशिताको सिद्धान्त अंगिकार गर्ने संस्था पनि प्रेस सेन्टर नै हो । सञ्चार क्षेत्रको पुनःसंरचना, नयाँ सञ्चार नीति, कानून एवम् संरचना निर्माण, सूचनाको हकसम्बन्धी कानून निर्माण, पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी, पत्रकार र सञ्चार माध्यमको भौतिक सुरक्षा, पत्रकारिता क्षेत्रमा दण्डहिनताको अन्त्य लगायतका एजेण्डाको उठान गर्ने पनि हामी नै हौं । द्वन्द्वपीडित पत्रकारका बालबालिकालाई शिक्षाको व्यवस्था, समानुपातिक विज्ञापन वितरण, स्वरोजगारमूलक तथा मोफसलका सञ्चार माध्यमको संरक्षण र हित, पत्रकारहरुलाई तालिम र विमा, वरिष्ठ पत्रकार सम्मान र पुरस्कार वितरण, श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारणको व्यवस्था, पत्रकार अक्षयकोष स्थापना, जेष्ठ पत्रकारलाई जीवन निर्वाह भत्ता, स्वास्थ्य उपचारको व्यवस्था, लोककल्याणकारी विज्ञापन रकममा वृद्धि, मिडिया उद्योगलाई सेवामूलक उद्योगको मान्यता र सहुलियतपूर्ण ऋणको व्यवस्था, सञ्चारमा विदेशी लगानीमाथि प्रतिबन्ध, मिडिया एकाधिकारको अन्त्य, क्लिनफिडको व्यवस्था, अनलाइन सञ्चार माध्यमलाई अन्य माध्यमसरह मान्यता, एफएम रेडियो र टेलिभिजनमा कर छुटको व्यवस्थाका लागि प्रेस सेन्टर नेपालले अनवरतरुपमा आवाज उठाउँदै आएको छ ।

अहिले नेपालमा सुचना विभागमा दर्ता भएर करिब ९५० पत्रपत्रिका, ७५० बढि एफएम रेडियो, २३५ टेलिभिजन र ३३६५ समाचारमूलक अनलाइन सञ्चालनमा छन् । यो संख्या दैनिक बढ्ने क्रममा छ । यी सबै सञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकार, कामदार र कर्मचारीको पेशागत हक हित र सुरक्षाको विषयलाई पे्रस सेन्टरले सधै प्राथमिकतामा राख्दै आएको छ र राखिरहनेछ । सरकारी सञ्चारमाध्यम सहित विभिन्न नीजि लगानीमा सञ्चालित मिडियाहरुमा काम गर्ने पत्रकारहरुले नियमित पारिश्रमीक नपाएको तथा कतिपय मिडियामा ११ महिनासम्म पारिश्रमीक नपाएर आन्दोलन गर्नुपर्ने विडम्बनापूर्ण अवस्था छ । सरकारले तोकेको न्युनतम पारिश्रमीक पनि लागु भएको अवस्था छैन । अन्य कर्मचारीहरुको नियमित तलब बढिरहँदा पत्रकारको तलब वृद्धिको विषय सिफारिसमा मात्रै सिमित भएको अवस्था छ ।

श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षा, सम्पादकीय स्वतन्त्रता, नियुक्ति–पत्र र उचित पारिश्रमिकको व्यवस्था, बिदा, विमा, वृत्ति विकास, स्वास्थ्य उपचारलगायत विविध अधिकारका पक्षमा जुट्नु प्रेस सेन्टरको मूल उद्देश्य हो । त्यसका साथै प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र विचार स्वतन्त्रताको पक्षमा आवाज उठाउनु हाम्रो कर्तव्य हो ।

त्यसका अलावा प्रदेश र स्थानीय स्तरमै प्रभावकारी सञ्चार संयन्त्रको स्थापना गरी स्थानीय तहबाट मिडिया दर्ता, अनुगमन र निगमनकारी संस्था स्थापना, वर्गीकरण, पत्रकारलाई प्रेस पास, लोककल्याणकारी विज्ञापनको रकम भुक्तानी एवम् सरकारी विज्ञापन वितरण लगायतका विषयमा हामीले निरन्तर आवाज उठाइरहेका छौं ।

पत्रकारहरुका लागि पत्रकार कल्याणकारी कोष स्थापना, वरिष्ठ पत्रकार जीवनवृत्ति कोषबाट वरिष्ठ पत्रकारहरुलाई जीवन निर्वाह भत्ता वितरण, सञ्चारमाध्यमलाई विद्युत र टेलिफोन शुल्कमा छुटको व्यवस्था, सरकारी सञ्चार माध्यमको पुनःसंरचना तथा सार्वजनिक सेवा प्रसारण माध्यमको स्थापना, प्रेस काउन्सिलको पुनःसंरचना, सबै प्रदेशमा प्रेस रजिष्ट्रारको व्यवस्था, सबै प्रदेशमा श्रमजीवी पत्रकारहरुको लागि सुविधासम्पन्न तालिम केन्द्रहरुको स्थापना आदि हाम्रा आधारभुत र वस्तुवादी एजेण्डा हुन् ।

अबको बाटो

प्रेस सेन्टर नेपालले यी तमाम समस्याका समाधान तथा उठाइएका एजेण्डाहरुको कार्यान्वयनको लागि अल्पकालिन र दिर्घकालिन रणनीतिका साथ वस्तुवादी योजना निर्माण गरेर अगाडि वढ्नुपर्ने अपरिहार्यता छ । जसलाई चौथो महाधिवेशन र हालै सम्पन्न केन्द्रीय समितिको दोश्रो बैठकले आफ्नो कार्ययोजनामा पनि समावेश गरिसकेको छ । मात्रै खाँचो छ दृढ प्रतिबद्धताको, मात्रै खाँचो छ एकतावद्ध संगठन परिचालनको र सहि र प्रभावकारी कार्यान्वयनको ।

हामीले देशमा माओवादी जनयुद्धले उठाएका परिवर्तनका एजेण्डाहरु संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिकतालगायतलाई संस्थागत गर्ने तथा क्रान्ति र परिवर्तनविरोधीले फैलाएका भ्रमहरुलाई चिर्दै र वास्तविकतालाई जनतामा तथ्यसहित पस्कँदै युवाहरुलाई पथ प्रदर्शन गर्नु जरुरी छ । पत्रकारहरुलाई विधागत तालिम, प्रशिक्षणमार्फत दक्षता अभिवृद्धि गर्ने तथा पत्रकारको हक हित र अधिकारको पक्षमा सम्झौताहिन संघर्ष गर्नु पनि अपिरिहार्य छ ।

अब हामीसँग अगाडि वढ्नुको विकल्प छैन । महान शहिदहरुले देखाएको मार्गलाई आत्मसात गरी संगठनभित्र देखापर्ने अराजकतावाद, आर्थिक, सामाजिक र साँस्कृतिक भ्रष्टीकरण र सबै खाले अवसरबादलगायत तमाम खाले विकृति र विसंगतिहरुलाई चिर्दै र त्यसमाथि विजय प्राप्त गर्दै प्रेस सेन्टर नेपाललाई महान शहीद कृष्णसेन इच्छुकको आदर्शको मार्गमा अगाडि वढाउनु जरुरी छ । हामीले प्रत्येक वडामा लाल र दक्ष पत्रकारहरुको समुह, प्रत्येक पालिकामा प्रेस सेन्टरको संगठन निर्माण गर्दै लाल र निपूर्ण पत्रकारहरुको संस्थाको रुपमा एउटा आत्मनिर्भर र सबल संगठनको रुपमा प्रेस सेन्टरलाई स्थापित गर्नुपर्दछ । हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ?

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto