गाउँलाई सुन्दर बनाउने सबै भन्दा ठूलो औषधी सरसफाइ रहेछ । प्रत्येक घरपरिवारले आफ्नो घरआँगन सफा राख्ने हो भने गाउँ प्रायः सफा रहन्छ । पछिल्लो अबस्थामा मान्छेहरु गाउँघर घुम्न मन पराउँछन् । गाउँघरमा बसोबास गर्ने समुदायको जीवनशैलीको अध्ययन गर्ने रुचाउँछन् । यदि हामीले हाम्रो गाउँलाई नमुना गाउँ निर्माण गर्न सक्यौँ भने हाम्रा सुन्दर रुकुमका गाउँहरुलाई लमजुङको घले गाउँ र भुजुङ गाउँ जस्तै प्रयटकीय गन्तव्य बनाउन गाह्रो छैन ।

हरि जिज्ञासु
प्राय म फूर्सदमा हुँदा नयाँ ठाउँ घुम्ने खुब मन पराउँछु । मलाई लाग्दैछ कि घुम्नु पनि एउटा पढ्नु रहेछ । कलेजमा गएर औपचारिक शिक्षा लिनु मात्र ज्ञान बटुल्नु हैन नयाँ ठाउँको भ्रमणले पनि हाम्रो ज्ञान फराकिलो पार्दोरहेछ ।
एम.ए दोस्रो सेमिस्टारको परिक्षा दशैँको केहि दिन अघि सकियो । परिक्षा सकिएपछि आफूलाई केहि फूर्सदिलो महसुस् भयो । यो बर्ष घर नजाने निर्णय गरेँ । दशैँमा प्राया मान्छेहरुले काठमाण्डौँ भ्याली छोड्छन् । दशैँ र तिहारको विदामा काठमाण्डौँको भिड अलि हल्का हुन्छ । घर नजाने भएपछि काठमाण्डौँमा त्यतिकै बस्न मन लागेन । विदाको समयमा घुम्न जाने निर्णय गरेँ । प्रायः म नेपालका धेरै ठाउँ पुगेको छु । म समाजशास्त्रको विद्यार्थी भएकाले प्राय गाउँघर घुम्न र त्यहाँको समाजको जीवनशैली बुझ्न खुब मन पर्छ ।

मैले सानै उमेरदेखि सुनेको नाम थियो “घले गाउँ” । घले गाउँ निकै पहिलेदेखि चर्चामा रहेको गाउँ हो । सार्कराष्ट्रको नमुना गाउँको रुपमा चिनिने घले गाउँ जाने चाहना मलाई पहिले देखिको थियो । त्यो चाहना यो वर्ष पूरा गर्ने निर्णय गरेँ । दशैँको दिनमा काठमाण्डौँबाट विहान ठीक ४ बजे मोटरसाइकल यात्रा गरेँ । करिब ५ घण्टामा म लमजुङ जिल्लाको सदरमुकाम बेशीसहर पुगेँ । वेशीसहर निकै सुन्दर रहेछ । बेशीसहरको एउटा होटलमा खाना खाँदा होटलका साहुले मलाई घले गाउँ र भुजुङ गाउँको बारेमा केहि जानकारी दिए । खाना खाएर म बेशीसहरबाट घलेगाउँको यात्रा गरेँ । लमजुङ वेशिसहरबाट घलेगाउँ पुग्न करिब २४ किलो मिटर रहेछ । उकालो र कच्ची सडक भएकाले म विस्तारै गएँ । लम्जुङको सदरमुकाम बेशिसहरबाट करिब ३ घण्टाको मोटरसाइकल यात्रा पछि घले गाउँ पुगेँ । घलेगाउँको गेटबाट भित्र छिर्ने वित्तिकै दशैँको रौनकताको केहि दृष्यहरु देखिए ।

त्योदिन म घले गाउँ नबसेर सरासर भुजुङ गाउँ जाने निर्णय गरेँ । किनकि मसँग टाइम थियो । दशैँको दिनमा भुजुङ गाउँमा मेला लग्छ भनेर घले गाउँका केहि युवाहरु भुजुङ गाउँ जाँदैरहेछन् । ९ जना युवाहरु थिए । ४ वटा बाइकमा ८ जना बसेपछि एक जना मसँग जाने निर्णए गरे । मैले एकजनालाई मेरो बाइकमा बसालेँ । हामी रमाइलो गर्दै घलेगाउँबाट करिब आधाघण्टापछि भुजुङ गाउँ पुग्यौँ । आहा ! क्या सुन्दर भुजुङ गाउँ । एउटा सुन्दर सहर जस्तै । त्यहाँ गाउँभित्र कुनै पनि सवारीसाधन लिन नमिल्ने रहेछ । किनकि सवारी साधनको लागि बाटो बनाएकै छैन । त्यो गाउँका जोकिहीले पनि गाडि वा मोटोरसाइकल किन्यो भने बसपार्कमा पार्किङ गर्नुपर्दौरहेछ ।

बाटोमा भेटिनेहरुले तपाईँ भुजुङ गाउँमा जानुभयो भने हराउनुहुन्छ भन्दैथिए । मलाई अच्चम लागेको थियो । बाटो साँघुरो र गाउँ ठूलो भएकाले केहीसमय नयाँ मान्छे साँच्चीकै अलमलमा पर्दोरहेछ । त्यहाँ एकजना चिनेको दाई भएकाले मैले उहाँलाई भेटेँ । उहाँले मलाई मिठो स्वागत गर्नुभयो । त्यो दिनको लामो यात्राले थकान लागेपनि नयाँ ठाउँ र नयाँ समाजको जीवन शैलीको अध्ययन गर्ने सुन्दर आशाले मलाई थकानको महसुस् भएन । राति दश वजेसम्म दाईको परिवारसँग बसेर भुजुङ गाउँको विषयमा जानकारी लिएँ । भुजुङ गाउँमा करिब ४ सय बढि घुरधुरी रहेछ । ४५ घर भन्दा बढि दलित बस्ती रहेछ भने अन्य जम्मै गुरुङ समूदायको बसोबास रहेको भुजुङ गाउँ निकै सुन्दर रहेछ । भोलीपल्ट विहानै मलाई दाईले गाउँ घुमाउन लानुभयो । हामी विहान ६ बजे गाउँ जाने वित्तिकै प्रत्येक घरको छानाबाटा सेतो धुवाँ उठीरहेको थियो अलि अग्लो स्थानमा गएर यो दृष्य हेर्न पाउँदा मलाई आनन्दको महसुस् भयो । टोल टोलका मान्छेहरु बाटो सफा गर्दैथिए । किनकि प्रत्येक शनिबार त्यहाँ सरसफाई चल्दोरहेछ । बाटोमा ढुङ्गा बिच्छाइएको छ । बाटोलाई ढुङ्गाकै पर्खालले सुरिक्षत राखेको छ । प्रत्येकको घरको आँगनमा ढुङ्गा विच्छाइएको छ । कसैको घरमा फोहर भन्ने चिज छैन । प्रत्येकको घरमा धारा, ट्वाइलेट र नहाउनकोलागि बाथरुम छ । प्राय प्रत्येकको घर आँगनमा पाइला टेक्नको लागि चट्ट मिलेको ढुङ्गाको प्रखालले बनेको गेटबाट प्रवेश गर्नुपर्छ ।

बाटोमा कागजको टुक्रा अर्थात फोहर भेटाउन मुस्कील हुन्छ । प्रत्येक ठाउँमा डस्विन राखिएको छ । त्यहाँका मान्छेहरु प्राय सान्त छन् । होहल्ला कम छ । धान र कोदो त्यहाँको मुख्य बाली रहेछ । पशुपालनमा बढि जसो गाई, भैसी र केहीले भेढा पालन गर्दराहेछन् । गाईभैँसीको लागि प्राय छुट्टै गोठहरु छन् । गाउँभित्र प्राय गाइभैँसी विरलै प्रवेश गर्छन । वास्तविक सामाजिक जीवन शैली र गाउँको सुन्दरता हेर्नेहो भने घलेगाउँ भन्दा उत्तम भुजुङ गाउँ रहेछ । तर चर्चा भनेको घलेगाउँको छ । प्राय घुम्न गएका आन्तरिक पर्यटकले भुजुङ गाउँको सिन खिचेर घलेगाउँ भनेर फेसबुकमा पोष्ट गर्दारहेछन् । किनकि घले गाउँको चर्चा धेरै छ । सुन्दरताको दृष्टिले भने घलेगाउँ भन्दा भुजुङ गाउँ सुन्दर छ ।
भुजुङ गाउँको सुन्दर दृष्य र गुरुङ समुदायको जीवन शैली र संस्कारबारे केही थोरै अध्ययन गरेर अर्को दिन म घलेगाउँ फर्किएँ । समुन्द्री सतहदेखि करिब २१ सय मिटर उचाइमा रहेको घले गाउँबाट हिमाली दृष्य भने बढो गज्जबले देख्न सकिदोरहेछ । यो गाउँमा चौविसे राज्यकालमा घले राजाले राज्य गरेको र घले राजाको नामबाट घले गाउँ नाम राखेको इतिहास रहेको छ । घलेगाउँमा गुरुङ संग्रालय छ । संग्रालयमा गुरुङ समुदायका पूर्खाहरुले प्रयोग गरेका विभिन्न सामाग्रिको संरक्षण सहित प्रर्दशन गरिएको छ । हेर्दा सानो भए पनि घले गाउँ बढो सुन्दर छ ।

भिडियोमा हेर्नुहोस .

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...