देवी ओली
मेरी आमाले दश महिनासम्म गर्भमा राख्दा पेटभित्रको वातावरण मेरा लागि जति सहज र सजिलो हुंदोहो गर्भबाट बाहिर अउँदा यस धर्तीको हावा पानीसंग समयोजन हुन त्यत्तीकै सहज भएन होला ।
असहज वातावरणमा घुलमिल हुनलाइ संघर्ष गर्नु नै पर्योहोला । एउटा अबोध शिशुले प्रकृतिसँग गर्ने संघर्ष कति आनन्दमय थियो होला ! कसरी थाहा पाउनु । म ५/६ वर्षको हुँदा सारै बिरामी परेको सम्झना छ मलाइ । बिरामी पनि त्यस्तो बिरामी कि २ /३ महिना नै थलिएँ । त्यसपछि मेरा खुट्टा नचल्ने भए गोठ घर गर्दा दिदीहरुले डोकोमा बोकेर लैजाने अबस्था भयो । त्यस्तो बिरामीलाइ जैसीले देउराली लागेको भनेर जडीबुटी कुटेर खुवाउने र झारफुक गर्ने गर्थ्यो ।
त्यो बेलाको बालापन दु ख हो कि सुख हो केही थाहा थिएन । त्यो समय अहिले पनि सम्झिन्छु त्यसैमा मेरो एकप्रकारको खुसी थियो होला । बुद्ध उपदेशमा गौम बुद्द्ले भन्नु भाछ जब मानिस जन्मिन्छ दु ख को शुरु हुन्छ । उसो त जीव वैज्ञानिक चार्ल्स डार्बिनको सिद्धन्तले पनि बाँच्नका लागि संघर्ष नै भन्छ तर संघर्षलाइ खुशी मानेर रमाउनुपर्ने मान्छेको जीवन गोरेटो पनि त्यही ढंगले कोरिंदो रहेछ । जिउनका लागि आफैले संघर्ष गर्नु त छदै छ त्यो सबैले गर्नैपर्ने अध्याय नै हो त्यसका संगसंगै संघर्षको मार्ग निर्देशन र प्रेरणा पनि सही ढंगबाट प्राप्त हुनुपर्दो रहेछ ।
हुनत प्रकृतिवादी विद्वानहरुले मानिसलाइ प्रकृतिले दिशानिर्देश गर्छ र प्रकृतिले नै जीवनमा आबश्यक सबै थोक सिकाउँछ भन्छन तर सामाजिक वातावरण त्यस्तो छैन । सही सामाजिक मुल्य मान्यतामा अधारित नैतिक जीवन जिउनका लागि सही मार्ग निर्देशन पनि हुनुपर्दो रहेछ । यो कुराको महत्व पनि मैले मेरो जीवनको उत्तरार्धमा आएर मात्र बुझिरहेको छु । किनभने मैले सानो गल्ती गर्दा मेरी आमाले मलाइ पहिला लठ्ठीले हान्ने अनि मात्र गल्ती गरेको कुरा भन्ने गर्दा त्यो समयमा आमाप्रति सारै रिस उट्थ्यो यतिसम्म कि सक्ने भए मैले पनि झम्टिँदा हुँ जस्तो ।
त्यसबेलाको रिस अहिले आएर बुद्धिमा ज्ञानमा शिक्षामा परिनत भएको छ । आमाले त्यति नगरेको भए आज म यो अबस्थामा नैतिक बलका साथ यो जिम्मेवारीमा यसरी आउन र यही नैतिक बलमा रहेर गर्वका साथ काम गर्न सक्ने वातावरण हुदैनथ्यो कि ! आज आमाको अभवमा यि सबै बितेका कुराहरु मेरो मनमा काउकुति लाउँदै खेलिरहेका छन र खडकिरहेका पनि छन । उमेर गन्दा ४९ वर्ष पुगेछु तर बालापनको स्मरण गर्दा १६/१७ को उमेर मै छु जस्तो लाग्छ । अहिले यो जिम्मेवारीमा हुँदा पल पलमा आमाले भनेका कयौं ब्याबहारिक कुराहरुले यत्ती सजक र शतर्क बनाउँछ कि मलाइ लाग्छ हरेक ब्यक्ति शिक्षित नभए पनि सचेत चाहिं हुनुपर्छ त्यो सचेतनाको शिक्षा पनि
आमाबाट नै सिक्ने हुँदोरहेछ । आमाले संधै भन्ने गर्नुहुन्थ्यो एक्लै छु भनेर अश्लिल शब्द र मनका सबै कुरा नबोल्नु भित्ताका पनि कान हुन्छन उसले सुन्छ र बाहिर जान्छन धेरै कुराहरु मनमै राख्नु ।यसको मतलव मैले गर्ने हरेक कृयाकलाप गोप्य छ भन्ने नसोच्नु बिस्तारै सबै सार्वजनिक भइरहेको हुन्छ । सानैमा बुवा बित्नुभो मलाइ बुवाको मायाँ कस्तो हुन्छ थाहा छैन । मेरो बुवाले मलाइ ६ महिनाको हुँदा नै छोडेको कुरा सुनाउनु हुन्थ्यो आमाले ।
त्यसकारण मसँगैका साथीहरुले लामो स्वरले बुवालाइ सम्बोधन गरी बोलाउँदा मैले पनि बुवालाइ मनमनै खोजिरहन्थें र आफुले आफैलाइ प्रश्न गर्थें मेरो बुवा कहाँ जानु भा होला घरमा पनि हुनुहुन्न बोलाउनु पनि पर्दैन । अनि खेल्दा खेल्दै दगुर्दै गएर आमालाइ सोधिहाल्थें मेरो बा खोइ ? भनेर । आमाले उत्तर दिनुहुन्थ्यो तेरा बा माछा मार्न ग्याछन । त्यो उत्तरको अर्थ मैले १३/१४ वर्ष हुने बेला मात्र थाहा पाएँ । त्यो पनि मेरा दौंतरी साथीहरुबाट । मलाइ कानेखुशी गर्दै भने माछमार्न ग्याछन भन्या त मर्या हो ! मैले कस्तो प्रतिकृया दिएहुँला रोएहुँला खिस्स परेहुँला केहि पनि सम्झना छैन मलाइ ! तर जीवनको उत्तरार्धमा आएर यि सारा अनुभूतिहरुको कल्पना गरीराछु र बुवाको अनुहार कस्तो थियो होला ? दाइहरुसँग अनुहार मिल्थ्यो कि ? फोटो भए पनि हेरेर मन बुझाउँथें ? यस्तै यस्तै । यी सबै अनुत्तरित प्रश्नहरु हुन मेरा । मनमा खुलदुली सारै छ । पचास वर्ष पहिलेको कुरा हो फोटो खिच्ने साधन पनि कहाँ पाउनु त्यो समयमा । अनुहार त हेर्न पाइएन पाइन बुवाको फोटो पनि हेर्न नपाउँदाको पिडा पनि अनुभव गरिरहेको छु आज मैले ।अफ्ना छोराछोरीलाइ कस्तो मायाँ दिन्छन होला बाबाहरुले आफैले अनुभव गर्न पाएन ।यो अभाव मेरा लागि जीवनभरी नै रहने भो । आमा बुवा को र अभिभावकको अभाव उमेरको परिपक्वतासँगै खड्किदै जाँदोरहेछ ।
मलाइ त बुवाको मायाँ पनि आमाले नै दिनु भो र आमाले पनि छोडेर गएको एक दशक भइसक्यो ! आमाको अभावले होकि या त मेरो उमेर ढल्किएको कारणले हो मलाइ थाहा छैन । मलाइ हरेक काम गर्दा नजिकबाट बिश्वासिलो ढंगले सहासिक रुपमा सल्लाह दिने निस्वार्थ मायाँ दिने आमा बाहेक कोही नहुँदो रहेछ यो संसारमा ! दैनिक जीवन ब्यबहारमा पर्ने समस्याहरु समाधान गर्नका लागि आवश्यक सल्लाह बैचारिक तथा बर्गिय अबिभावकबाट मात्र पूर्ण नहुँदो रहेछ । २०४८/०४९ सालतिरको कुरा हो म विध्यार्थी संगठनमा संगठित भए देखि आज ३१ वर्षको राजनितिक यात्राको अनुभव निक्कै फरक पाउँछु ।
३१ वर्ष पहिलेको मेरो आवश्यकता रआजको मेरो आवश्कता आकाश जमिनको फरक छ । हिजो मलाइ लेख्नका लागि एउटा सामान्य कपी र कलम भए हुन्थ्यो भने आज महंगै कलम र डायरी चाहियो । हिजो सूचना संचार गर्न पत्र लेखे हुथ्यो भने आज फोनको प्रयोग गर्नु पर्या छ । संगठन र पार्टीका अधिवेशनहरुमा हस्तलिखित प्रतिबेदन पेश गरे हुन्थ्यो भने आज टइप राइटिङ गर्नलाइ ल्यापटप कम्युटर आबश्यक पर्ने भो । यो परिवर्तित समयको प्रतिबिम्ब पूँजी र प्रविधि दुबैको बिकासले पारेको प्रभाव नै होला । जे भए पनि यो समयसम्म आइपुग्दा सामाजिक मुक्ति महिला मुक्ति र न्याय अनि समानताको भावनाबाट ओतप्रोत भएको मनोभावनाले ती बिषयहरु नै खोजिरहन्थ्यो । न्यायमा आधारित राज्यब्यबस्था र समतामूलक समाज कसरी स्थापना गर्न सकिन्छ भन्ने सामुहिक अभियानहरुमा नै लागेर ब्यक्तिगत चासो र चिन्तामा धेरै वर्षहरु बिते !ब्यक्तिगत सु ख सयल धन सम्पत्तिको कुनै प्रवाह नै भएन ।
जुन समय र उमेर उर्जाशिल थियो त्यो समय सामुहिक काममा नै बित्यो । पार्टी र क्रान्ति भन्दा अरु भिन्न कामहरु प्राथमिकतामा राखिएन । ढिला गरी शुरु भएको मेरो स्कूले जीवन भएता पनि पढाइ भन्दा संगठनकै काम प्राथमिकतामा हुन्थ्यो । परिक्षाको समयमा ब्यङग्य गर्दै एकजना गुरु मेरो नजिकै आएर भन्नुहुन्थ्यो भाषण लेख्ने प्रश्न त आएको छैन होला ? मलाइ अलि अलि लाज लाग्थ्यो भने धेरै त मन मनै सारै रिस उठ्थ्यो । किन कि उहाँ गुरुसँग मेरो बिचार मिल्दैनथ्यो तर पनि परिक्षा हलमा भन्न पनि केही मिलेन । बाहिर भएपनि मैले गुरुहरुसँग राजनिति कुरा कहिल्यै गरिन । सिधा प्रतिवात गर्नुभन्दा आन्तरिक योजना बनाइ आफनो काम गर्ने मेरो स्वभाव नै हो । बहुदलिय ब्यस्थाको पुनस्थापछि काँग्रेस कम्युनिष्ट पार्टीमा आबद्ध हुने निकै राम्रो लहर चलेको थियो । हाम्रो जस्तो पहाडी र हिमाली जिल्लाहरुमा बर्गिय दृष्टिकोण भन्दा पनि जोसंग पहिलो सम्पर्क भयो त्यसैको आधारमा पार्टीमा आबद्ध हुने अबस्था थियो । जुन पार्टीमा आबद्ध भयो त्यस पार्टीप्रति प्रगाढ मायाँ अटुट बिश्वास गहन जिम्मेवारी बोध हुन्थ्यो । पार्टी परिवार र घरपरिवारको उत्तिकै भरोसा लाग्थ्यो । पार्टीका बैठकहरु सहौर्दपूर्ण र सहज रुपमा सम्पन्न हुन्थे ।
आज मेरो जीवनको उत्तरार्धमा आइपुग्दा मेरो समाज र राजनिति दुबैमा रहेका मूल्य मान्यताहरु भत्किन खोजिरहेका छन । यो समाज र राजनितिक रंगमञ्चमा देखा परेका समस्याहरु समाधानको भूमिकामा मेरो कति अंश पर्छ होला ?
लेखक ओली कर्णाली प्रदेश सभा सामाजिक बिकास समितिको अध्यक्ष हुन ।

