नेपाली कम्युनिष्ट पार्टी जिल्ला समिति रुकुम पश्चिमले महँगी नियन्त्रण, नेपाल टेलिकमको नेटवर्क सुधार, प्रेस स्वतन्त्रताको रक्षा तथा भूकम्प प्रभावितको निजी आवास पुनर्निर्माणलाई तीव्रता दिन माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ। पार्टीले राष्ट्रिय जागरण अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र पठाउँदै जनजीविका र आम सरोकारका पाँचवटा विषयमा सरकारको ध्यानाकर्षण गराएको हो।
पार्टी जिल्ला समितिको कात्तिक १६ गतेको बैठकको निर्णयअनुसार कात्तिक २० गते ज्ञापनपत्र पेश गरिएको हो। ज्ञापनपत्रमा चाडपर्वको मुखमा खाद्यान्न तथा गैरखाद्य वस्तुमा अत्यधिक मूल्यवृद्धि हुँदा न्यून आयस्तर भएका नागरिकको दैनिक जीवन कष्टकर बनेको भन्दै महँगी नियन्त्रण गर्न माग गरिएको छ। त्यस्तै, जिल्लामा नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्याका कारण फोन नलाग्ने, कुरा नसुनिने र बोल्दाबोल्दै फोन काटिने समस्या तत्काल समाधान गर्न माग गरिएको छ।
यसैगरी, कात्तिक १३ गते पत्रकारमाथि भएको धरपकड, गिरफ्तारी र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपजन्य गतिविधिप्रति पार्टीले विरोध जनाएको छ। यस्ता गतिविधि संवैधानिक अधिकारविपरीत रहेको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउन सरकारसँग माग गरिएको छ।
२०८० कात्तिक १७ गतेको जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणको काम तीन वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसकेकोप्रति पार्टीले दुःख व्यक्त गरेको छ। बाँकी लाभग्राहीको आवास पुनर्निर्माणलाई तीव्रता दिन, डिडिएमा छुटेका घरधुरीलाई पुनः प्रक्रियामा समावेश गर्न तथा पुनर्निर्माण कार्यविधि तत्काल संशोधन गर्न माग गरिएको छ।
ज्ञापनपत्रमा पार्टीका कर्णाली प्रदेश सदस्य तथा आठबिसकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष केशरमान विकमाथि असोज २० गते जिल्ला प्रहरी कार्यालयभित्र अमानवीय यातना, कुटपिट तथा दुर्व्यवहार भएको उल्लेख गरेको छ ।
त्यस्तै, कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको नाममा जारी प्रेस नोटमार्फत झुटो प्रचार गरी पार्टीका कर्णाली प्रदेश सदस्य तथा आठबिसकोट नगरपालिका वडा नम्बर ८ का पूर्ववडा अध्यक्ष मनबहादुर चँदाराको मानमर्दन र चरित्र हत्या गरिएको आरोप पनि ज्ञापनपत्रमा उल्लेख छ।
कानुन कार्यान्वयन गर्ने निकायबाटै गैरकानुनी र मानवअधिकारविपरीतका गतिविधि भएको भन्दै पार्टीले यस्ता घटना आगामी दिनमा नदोहोर्याउने सार्वजनिक प्रतिबद्धता जनाउन माग गरेको छ। ज्ञापनपत्रमा पार्टी जिल्ला संयोजक गोविन्द रोका र सहसंयोजक सुरज परियारले हस्ताक्षर गरेका छन्।
यस्तो छ ज्ञापनपत्र
नेपाली कम्पयुनिष्ट पार्टी जिल्ला समिति, रुकुम पश्चिम
प.सं.-२०८३/८४ च.न.- ९७ मितिः २०८३/०७/२०
श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
सिंहदरबार, काठमाडौं ।
मार्फत
जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम भाग)
विषयः ज्ञापनपत्र ।
प्रस्तुत विषयमा मिति २०८३ कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म संचालन भइरहेको हाम्रो पार्टीको राष्ट्रिय जागरण अभियानको कार्यक्रम अन्तरगत तपशिलको विषयमा सरकारको ध्यानाकर्षण गराउन जिल्ला समिति रुकुम पश्चिमको मिति २०८३।०७।१६ गतेको बैठकको निर्णय अनुसार यो ज्ञापनपत्र पेश गरिएको छ । यसमा समावेश आम सरोकार र जनजिवीकासँग सम्बन्धित विषयहरुलाई गंभीरतापूर्वक लिन जोडदार माग गर्दछौं ।
तपशिल
1. चाडबाडको मुखमा बजारमा महङ्गी चुलिएको छ । खाद्य तथा गैरखाद्य दुवै वस्तुमा अत्यधिक मूल्यबृद्धिको कारण निम्न आयस्तर भएका जनताको दैनिकि कष्टकर बनेको छ । तसर्थ महङ्गी नियन्त्रण गरी नागरिकको दैनिकी सहज बनाउन सरकारसँग माग गर्दछौं ।
2. पछिल्लो समय जिल्लामा नेपाल टेलिकमको नेटवर्कमा निकै समस्या देखिएको छ । फोन नलाग्ने, फोन लागेता पनि कुरा नसुनिने, बोल्दाबोल्दै कट्ने तर पैंसा भने तिर्नैपर्ने समस्याबाट उपभोक्ताहरु हैरान भएका छन् । यो समस्या यथाशिघ्र समाधान गर्न हाम्रो पार्टी सरकारसँग माग गर्दछ ।
3. वर्तमान सरकारद्वारा यही कात्तिक १३ गते शुक्रवार गरिएको पत्रकारमाथिको धरपकड, गिरफ्तारी र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपजन्य क्रियाकलापप्रति हाम्रो पार्टी घोर विरोध गर्दछ ।स्वतन्त्र प्रेसमाथि राज्य आतंकको रुपमा देखिएका यस्ता खाले गतिविधि संवैधानिक अधिकार विपरित रहेकोले आइन्दा यस्ता हर्कत नदोहोर्याउन तथा घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कार्वाही गर्न माग गर्दछौं।साथै भयमुक्त वातावरणमा सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकारको रक्षा गर्न सरकारसँग माग गर्दछौं ।
4. २०८० कात्तिक १७ गतेको जाजरकोट भूकम्पको तीन वर्ष पुरा हुँदा समेत क्षतिग्रस्त निजी आवास पुननिर्माण कार्य सम्पन्न हुन नसक्नु दुखद विषय हो।यद्यपि ढिलैभएपनि पहिलो किस्ताको रकम निकासा गरी पुननिर्माणको कार्य प्रारम्भको लागि पहल गरेकोमा वर्तमान प्रमुख जिल्ला अधिकारीज्यूलाई धन्यवाद दिँदै बाँकी लाभग्राहीहरुको निजी आवास पुननिर्माणको कामलाई तिव्रता दिन माग गर्दछौं । यसअघि विविध
कारणवश डिडिएमा छुटेका घरधुरीहरुलाई पुनः डिडिए प्रक्रियामा सामेल गरार्न र पुननिर्माण कार्यविधि तत्काल संशोधन गरी निजी आवास पुननिर्माण कार्यलाई सहज बनाउन पनि नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।
5. मिति २०८३ असोज २० गते हाम्रो पार्टीका कर्णाली प्रदेश सदस्य तथा आठविसकोट नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष क. केशरमान बिकमाथि जिल्ला प्रहरी कार्यालयभित्र अमानवीय यातना, कुटपिट तथा दुर्व्यवहार भएको छ ।यसैगरी २०८३ कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको नाममा जारी गरिएको प्रेस नोटमार्फत झुठो कुरा प्रचार गरी हाम्रो पार्टीका कर्णाली प्रदेश सदस्य, निर्माण व्यवसायी महासंघका कर्णाली प्रदेश सदस्य एवं आठविसकोट नगरपालिका वडा नं. ८ का पूर्व वडा अध्यक्ष क. मन बहादुर चँदाराको मानमर्दन र चरित्र हत्या गर्ने काम भएको छ ।कानुन कार्यन्वयन गर्ने निकायबाटै गैरकानुनी र मानवअधिकार विपरितका कार्य हुनु दुखद छ । शान्ति सुरक्षाको भरोसा केन्द्रको रुपमा रहेको निकायबाट भएका यस किसिमका क्रियाकलाप आगामी दिनमा नदोहोर्याउने सार्वजनिक प्रतिवद्धता जनाउन जोडदार माग गर्दछौं ।
गोविन्द रोका(संयोजक)
सुरज परियार(सहसंयोजक)

