भीम बुढाथोकी
समयको अनन्त प्रवाह र भूगोलका जटिल तर मनमोहक पाटाहरूलाई पछ्याउदै २०८३ साल कार्तिक ८ गतेका दिन तय गरिएको यो यात्रा मेरा निम्ति केवल एक स्थानबाट अर्को स्थानमा पुग्ने भौतिक विस्थापन मात्र थिएनकी बल्कि यो त पश्चिम नेपालको मध्यपहाडी सभ्यता, लोकसंस्कृति, इतिहास र प्रकृतिको सबभन्दा नग्न र भव्य रूपसँग आफूलाई साक्षात जोड्ने एउटा आत्मिक अनुष्ठान थियो।
रुकुम पूर्वको ऐतिहासिक तथा सांस्कृतिक भूमि रुकुमकोटबाट सुरु भएको यो पाइला पाथीहाल्ने लेकको चिसो र गर्विलो उचाइ, बुर्तिबाङको व्यापारिक र जीवन्त किनारा हुदै उत्तरगंगाको नागबेली धारलाई पछ्याउदै ढोरपाटनको विशाल फाँट र शान्त प्राङ्गणसम्म पुग्दा जुन अनुभूतिहरूको सिर्जना भयो।त्यसले मेरो मन र मस्तिष्कमा अमिट छाप छोडेको छ। रुकुमकोटको समथर भूभाग र चारैतिर फैलिएका जलश्रोतहरूको सौन्दर्यले जसरी यात्राको श्रीगणेश गर्योकी त्यसले यस क्षेत्रको प्राचीन शाह तथा सेन वंशीय ऐतिहासिक पृष्ठभूमि र यहाँका बासिन्दाहरूको संघर्षमय जीवनकथाको सङ्केत गर्दथ्यो। यहाँका प्राचीन ढुङ्गाले छाएका घरहरू, परम्परागत वास्तुकला र बाटोमा भेटिने गोरेटोहरूले पुस्तादेखि यो माटोमा जीवित रहेका खस र मगर संस्कृतिको मौलिक सुवासलाई चारैतिर छरिरहेका थिए।
रुकुमकोटको त्यो माटोलाई पछाडि छाड्दै जब पाइलाहरू पाथीहाल्ने लेकतिर उक्लन थाले तब प्रकृतिको रूप पूर्ण रूपमा फेरिन पुग्यो। लेकाली पाटनहरूको अनन्त फैलावट, वरिपरि उभिएका गर्विला हिमशृङ्खलाहरू र पाथीहालेकको उचाइमा चल्ने सिरसिरे चिसो हावाले मानिसलाई आफ्ना सबै कृत्रिम चिन्ता र सहरिया कोलाहलबाट पूर्णतया मुक्त गराउथ्यो। त्यहाँका गोठहरूबाट उड्ने चुलोको धुवाँ, गाईवस्तुको घन्टारव र गोठालाहरूले गाउने सुमधुर लेकाली लोकभाकाहरूले त्यो सम्पूर्ण भूभागलाई कुनै परिकार वा चित्रकलाभन्दा पनि जीवन्त बनाएका थिए। त्यो उचाइबाट तल झर्दै बुर्तिबाङको बजार क्षेत्रमा पुग्दाको परिवेशले भने फेरि एउटा अर्कै आर्थिक र सामाजिक चलायमानताको आभास गरायो। बुर्तिबाङ जो यस सम्पूर्ण भेगको व्यापारिक र प्रशासनिक केन्द्र जस्तै बनेको छकी त्यहाँको चहलपहल, मानिसहरूको आवतजावत र उत्तरगंगा नदीको कलकल आवाजले मध्यपहाडको जीवनशैलीलाई अझ नजिकबाट महसुस गराउने अवसर दियो।
बुर्तिबाङको त्यो किनाराबाट जब गाडी र पाइलाहरू उत्तरतर्फ अर्थात ढोरपाटनको उकालोतिर लाग्न थाले तब बाटोको दुवैतर्फ फैलिएका बस्तीहरूको विविधताले मेरो ध्यान अझ गहिरो रूपमा खिच्यो। रुकुमकोटदेखि पाथीहाल्ने लेक, बुर्तिबाङ हुदै ढोरपाटनसम्मको यो लामो भूगोलमा बसोबास गर्ने मानिसहरूको सामाजिक बनोट असाध्यै समृद्ध र विविधतायुक्त छ। यहाँ मगर, क्षेत्री, बाहुन, दलित तथा ठकुरी समुदायका मानिसहरू वर्षौदेखि आपसी सद्भाव र सहअस्तित्वका साथ बसोबास गर्दै आएका छन्। मगर समुदायको आफ्नै विशिष्ट संस्कृति, उनीहरूको भाषा, भेषभूषा, कौरा तथा घाटु नाच, र पुर्खाको आराधना गर्ने परम्पराले यस क्षेत्रको सांस्कृतिक पहिचानलाई उच्च बनाएको छ। त्यस्तै क्षेत्री र बाहुन समुदायले यहाँका चाडपर्व, संस्कार र परम्परागत जीवनशैलीलाई जीवन्त राखेका छन् भने दलित समुदायका दाजुभाईहरूले पुस्तौंदेखि जोगाउदै आएको काठका भाँडाकुँडा बनाउने, फलामका औजारहरू तयार पार्ने र घरेलु हस्तकलाको सीपले यो समाजको अर्थतन्त्रलाई भित्री रूपमा बलियो टेवा पुर्याउदै आएको छ।
धर्मको कुरा गर्ने हो भने यहाँ हिन्दू र बौद्ध धर्मको अत्यन्तै सुमधुर समिश्रण पाइन्छ। ठाउँठाउँमा रहेका मस्टो देवताका थान, देवी देवताका मन्दिरहरू र उच्च लेकाली भेगमा देखिने बौद्ध स्तुपा तथा गुम्बाहरूले यस क्षेत्रलाई साम्प्रदायिक सद्भावको अद्वितीय प्रतीक बनाएका छन्। यहाँका मानिसहरूको जीवनदर्शन प्रकृतिको पूजामा आधारित छ; उनीहरू जङ्गल, पानी, पहाड र माटोलाई देवता मानेर सम्मान गर्छन्, जुन आधुनिक मानिसहरूका लागि प्रकृतिको संरक्षण गर्ने सबैभन्दा ठूलो र प्रेरणादायी पाठ हो। यसरी भूगोल, समाज र संस्कृतिको यो चक्रलाई पार गर्दै जब यात्रा ढोरपाटनको भूभागमा प्रवेश गर्यो तब त्यहाँको आर्थिक अवस्था, विकासका सम्भावनाहरू र पर्यटकीय महत्त्वका पाटाहरू मेरासामु स्पष्ट रूपमा उदाङ्गो भए।
लामो समयसम्म भौगोलिक विकटता र यातायातको कठिनाइका कारण आर्थिक रूपमा पछाडि परेको महसुस हुने यो क्षेत्र वास्तवमा अपार प्राकृतिक र आर्थिक सम्भावनाहरूको खानी हो। यहाँको अर्थतन्त्रको मुख्य मेरुदण्ड भनेको कृषि, पशुपालन र जडीबुटी हो। पाथीहाल्ने लेक र ढोरपाटन उच्च लेकाली खर्कहरूमा हुने उन्नत जातका भेडापालन, चौरीपालन र विशेष स्वादयुक्त अर्गानिक आलु तथा सिमी खेतीले यहाँका बासिन्दाहरूको जीवनस्तर उकास्न ठूलो भूमिका खेल्न सक्छ। यसका साथै ढोरपाटन र आसपासका जङ्गलहरूमा पाइने यार्सागुम्बा, पाचौंले, चिराइतो र गुच्ची च्याउजस्ता बहुमूल्य जडीबुटीहरूको अवैज्ञानिक संकलनलाई रोकेर यदि व्यवस्थित र व्यवसायिक प्रशोधन उद्योगहरू स्थापना गर्ने हो भने यो क्षेत्र आर्थिक रूपमा देशकै एक समृद्ध क्षेत्र बन्न सक्दछ। उत्तरगंगा र त्यसका सहायक नदीहरूको प्रचुर बहावलाई सदुपयोग गर्दै साना तथा मझौला जलविद्युत आयोजनाहरूको विकास गर्न सकियो भने यसले स्थानीय स्तरमा ऊर्जाको आपूर्ति सहज बनाउनुका साथै साना उद्योगहरू सञ्चालनका लागि बाटो खुलाउनेछ।
तर यी सबै सम्भावनाका बीचमा पनि यस क्षेत्रको मुटुमा रहेको सबभन्दा ठूलो र उज्यालो पक्ष भनेको यहाँको पर्यटन हो। नेपालको एकमात्र शिकार आरक्षको रूपमा विश्वभर परिचित ढोरपाटन सिकार आरक्ष यसै क्षेत्रको गौरव हो जहाँ नाउर, झारल र चितुवा जस्ता दुर्लभ वन्यजन्तुहरूको बासस्थान रहेको छ। रुकुमकोटको ऐतिहासिक कमलदहबाट सुरु भएर पाथीहाल्ने लेकको लेकाली पाटनहरू हुदै ढोरपाटन पुग्ने पदमार्ग विश्वका साहसिक ट्रेकिङ पारखीहरूका लागि कुनै स्वर्गभन्दा कम छैन। यहाँको अनुपम भौगोलिक बनावट, समथर घाँसे मैदान, नीलो आकाश र चारैतिरका हिमशृङ्खलाले पर्यटकहरूलाई तानिरहेको छ।
यसलाई अझ व्यवस्थित बनाउनका लागि स्थानीय गाउँहरूमा होमस्टे (Home stay) सञ्चालन गरी पर्यटकहरूलाई अर्गानिक लोकल खाना खुवाउने, उनीहरूलाई यहाँको मगर तथा खस संस्कृतिसँग साक्षात्कार गराउने र विगतमा उज्यालो छर्ने प्राकृतिक चिकित्सालय तथा शैक्षिक थलोहरूको इतिहासलाई शैक्षिक पर्यटन सँग जोड्ने हो भने यस क्षेत्रको यात्राका क्रममा ती पुराना र ऐतिहासिक स्थलहरूको प्राङ्गणमा उभिएर त्यहाँको हावामा श्वास फेर्दा मलाई महसुस भयो कि हामीले विकासको अर्थ केवल पक्की सडक र कंक्रिटका घरहरूलाई मात्र बुझिरहेका छौ जब कि वास्तविक विकास त आफ्ना पुर्खाका सीप, संस्कृति, पर्यावरण र माटोको सुवासलाई जोगाएर अगाडि बढ्नुमा पो छ। बुर्तिबाङको किनारादेखि उक्लदै पाथीहाल्ने लेकको चिसो बतास छेड्दै ढोरपाटनको आँगनमा बिताएका ती दिनहरूको समग्र परिदृश्यले मलाई यो सिकायो कि नेपाल साँच्चै नै सुन्दर छ।तर त्यसको गहिराइमा पुग्नका लागि यस्तै माटो जोडिएका यात्राहरूको आवश्यकता पर्दछ। रुकुमकोटको ऐतिहासिक माटोबाट उठेको मेरो यो पाइला जब ढोरपाटनको शान्त वातावरणमा आएर विश्राम भयो तब मेरो मनमा यही एउटै सङ्कल्प जन्मियोकी यो प्रकृति, यो संस्कृति, यो इतिहास र यहाँका मेहनती जनताको जीवनगाथालाई सधै बचाउनु पर्छ र यसलाई आधुनिक समृद्धिको मार्गमा जोड्नु पर्छ। यो यात्रा केवल मेरा लागि केही दिनको भ्रमण मात्र रहेनकी यो त मेरो जीवनको एउटा यस्तो अमूल्य पाना बन्यो जसले मलाई सधै मेरो माटो, मेरा पुर्खा र मेरो राष्ट्रिय पहिचानप्रति अझ बढी जिम्मेवार र संवेदनशील बन्न सिकाएको छ।

