रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाअन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ३६ जना करार स्वास्थ्यकर्मीहरुले आज सामुहिक राजीनामा दिएका छन । नगरपालिकालाई आफुहरुको सेवा–सुविधा वृद्धि तथा विभेद अन्त्यको माग गर्दै पटक पटक ज्ञापन पत्र बुझाएपनि सुनुवाई नभएपछि आज सामुहिक राजीनामा दिएका हुन ।
सम्बन्धित निकाय र ब्यक्तिहरुबाट आफ्ना मागहरुको सुनुवाई हुनुको साटो करार स्वास्थ्यकर्मीहरुलाई अपमानजनक अभिब्यक्ति दिएपछि सामुहिक राजीनामा दिईएको पत्रमा उल्लेख छ । ‘स्थानीय सरकारले तपाईहरुको माग पुरा गर्न सक्दैनौं, मन लागे काम गर्नुहोस, मन नजाने करार सेवा रद्ध गछौं भनेर भनियो, त्यसपछि जिम्मेवारी र सेवामा नरहनेगरी सामुहिक राजीनामा दिएको छौं’ राजीनामा पत्रमा भनिएको छ ।
गत असार २ गते नगरपालिकालाई विभिन्न पाँच बुँदे माग राख्दै ज्ञापन पत्र बुझाइएको र आफ्नो माग सम्बोधन नभएपछि सामुहिक राजीनामा दिने चेतावनी दिएका थिए । स्वास्थ्यकर्मीहरूले नेपाल सरकारको हालैको बजेट भाषणअनुसार तलब स्केल तथा प्रोत्साहन भत्ता लागू गर्नुपर्ने, कार्यालय समयभन्दा बढी काम गरेबापत अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने, प्रयोगशालामा कार्यरत कर्मचारीलाई सङ्घीय स्वास्थ्य ऐनबमोजिम २५ प्रतिशत जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, रात्रिकालीन सेवामा खटिने स्वास्थ्यकर्मीलाई नाइट भत्ताको व्यवस्था गर्नुपर्ने तथा सम्पूर्ण करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने माग अघि सारेका थिए ।


