भीम बुढाथोकी

मानव सभ्यताको विकाससँगै शिक्षाको परिभाषा, स्वरूप र उपादेयतामा व्यापक परिवर्तन आएका छन्। औद्योगिक क्रान्तिदेखि वर्तमान डिजिटल युगसम्म आइपुग्दा शिक्षा प्रणालीले केवल साक्षरता मात्र होइनकि बजारको माग र व्यक्तिको क्षमताबीचको खाडल पुर्ने सामर्थ्य राख्नुपर्ने दबाब झेलिरहेको छ। परम्परागत शिक्षा प्रणाली जसले केवल कक्षाकोठा, पाठ्यपुस्तक र घोक्ने प्रवृत्तिलाई प्रश्रय दियो ।यो आजको गतिशील र प्रतिस्पर्धी विश्वमा असफल साबित भइसकेको छ। यसै सन्दर्भमा विश्वका विकसित र विकासोन्मुख मुलुकहरूले शिक्षालाई जीवनोपयोगी, सीपमूलक र उद्यमशील बनाउन विभिन्न नवीन मोडलहरू प्रयोगमा ल्याएका छन्। तीमध्ये सबैभन्दा प्रभावकारी र व्यावहारिक मानिएको एउटा अवधारणा तीन दिन सैद्धान्तिक र तीन दिन व्यवहारिक शिक्षाको मोडल हो। यो मोडल केवल समयको विभाजन मात्र होइनकी यो शिक्षालाई उत्पादन, श्रम र बजारसँग जोड्ने एउटा दार्शनिक एवं व्यावहारिक पुल हो। यस व्यवस्था अन्तर्गत विद्यार्थीले हप्ताको तीन दिन विद्यालय वा विश्वविद्यालयमा बसेर प्राज्ञिक, सैद्धान्तिक र वैचारिक ज्ञान हासिल गर्छन् भने बाँकी तीन दिन उद्योग, कलकारखाना, प्रयोगशाला, कृषि फार्म, वा कर्पोरेट कार्यालयहरूमा प्रत्यक्ष रूपमा काम गरेर व्यावहारिक अनुभव प्राप्त गर्छन्।

शिक्षाविद् जोन डिउईले गरेर सिक्ने सिद्धान्तको वकालत गर्दै शिक्षा आफैमा जीवन भएको बताएका थिए। जब विद्यार्थीले कक्षाकोठामा पढेको सिद्धान्तलाई तुरुन्तै कार्यथलोमा गएर प्रयोग गर्छ तब मात्र उसको सिकाइ दिगो र अर्थपूर्ण हुन्छ। वैज्ञानिक दृष्टिकोणबाट हेर्दा पनि मानव मस्तिष्कले पढेको कुराको तुलनामा आफैले गरेको कुरालाई बढी स्मरण राख्न सक्छ। यो मोडलले विद्यार्थीको संज्ञानात्मक विकास र कार्यगत सीपबीच एउटा बलियो सन्तुलन कायम गर्दछ। विश्वका कतिपय देशहरूले यो मोडललाई आफ्नो राष्ट्रिय शिक्षा नीतिको मेरुदण्ड बनाएका छन्। जर्मनीको अर्थतन्त्र र औद्योगिक विकासको जग नै त्यहाँको डुअल व्यावसायिक शिक्षा प्रणाली हो जहाँ विद्यार्थीहरू हप्ताको तीन दिन व्यावसायिक विद्यालयमा सैद्धान्तिक ज्ञान लिन्छन् र बाँकी तीन दिन सम्बन्धित उद्योगमा वास्तविक कामदार सरह काम गर्छन्। यस मोडलको सबैभन्दा सुन्दर पक्ष के हो भने विद्यार्थीले कम्पनीमा काम गर्दा भत्ता समेत पाउछन्,जसले गर्दा त्यहाँ युवा बेरोजगारी दर युरोपमै सबैभन्दा कम छ।

स्विट्जरल्याण्डमा पनि करिब सत्तर प्रतिशत युवाहरू विद्यालय तहपछि सीधा विश्वविद्यालय नगई यो मोडल रोज्छन्।जसका कारण स्विस उत्पादनहरू विश्वमै सबैभन्दा गुणस्तरीय मानिन्छन्।

जापानले पनि आफ्नो प्रविधि र नवीनताको पछाडि उद्योगलाई सहकार्यलाई मुख्य आधार बनाएको छ,जहाँ विद्यार्थीलाई कलेजको प्रयोगशाला र कम्पनीको प्लान्टमा आलोपालो गरी काम गराइन्छ। जबकि नेपालको श्रम शक्ति विदेशमा कामको सीप नहूदा रोजगारी पाउन मुश्किल छ ।

अन्तर्राष्ट्रिय अभ्यासको तुलनामा नेपालको वर्तमान शिक्षा प्रणाली निकै परम्परावादी र समस्याग्रस्त छ। हाम्रा विद्यालय र विश्वविद्यालयहरू केवल प्रमाणपत्र छाप्ने कारखाना जस्ता बनेका छन्। हाम्रो शिक्षाले शारीरिक श्रमलाई सम्मान गर्न सिकाउन सकेन।बरु टेबल कुर्सीमा बस्ने जागिर मात्रै उत्तम र कृषि वा प्राविधिक काम निकृष्ट भन्ने मानसिकता विकास गर्‍यो। लाखौ रुपैया खर्च गरेर डिग्री हासिल गरेका युवाहरू बजारमा पुग्दा व्यावहारिक रूपमा अक्षम देखिन्छन्। नेपालको शिक्षा प्रणालीप्रति भरोसा नहुदा दैनिक हजारौ युवाहरू उच्च शिक्षा र रोजगारीका लागि विदेश पलायन भइरहेका छन्। नेपालका विश्वविद्यालयहरूले के पढाइरहेका छन्, त्यो नेपालका उद्योगहरूलाई थाहा छैन र उद्योगलाई कस्तो जनशक्ति चाहिएको छ,त्यो विश्वविद्यालयको पाठ्यक्रममा समेटिएको छैन।

यस्तो अवस्थामा नेपालको सन्दर्भमा यो मोडल अत्यन्तै सान्दर्भिक र ग्राह्य हुन सक्छ। नेपाल अझै पनि कृषिप्रधान देश भएकाले यदि कृषि प्राविधिक पढ्ने विद्यार्थीलाई तीन दिन कलेजमा सिद्धान्त पढाएर बाँकी तीन दिन स्थानीय किसानका खेतबारी वा आधुनिक कृषि फार्ममा प्रत्यक्ष काममा खटाउने हो भने परम्परागत कृषिको जगमै आधुनिकीकरण सम्भव हुन्छ। नेपालको पर्यटन उद्योगमा दक्ष जनशक्तिको ठूलो माग छ। होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई तीन दिन कलेज र तीन दिन होटल वा रिसोर्टहरूमा तालिम दिने हो भने उनीहरू उत्तीर्ण हुने बित्तिकै अन्तर्राष्ट्रिय स्तरको रोजगारीका लागि योग्य हुन्छन्। सफ्टवेयर विकास र सूचना प्रविधिको क्षेत्रमा पनि तीन दिन कलेजमा सिद्धान्त सिक्ने र तीन दिन सफ्टवेयर कम्पनीमा काम गर्ने वातावरण मिलाउने हो भने नेपाल संसारकै प्रविधि हब बन्न सक्छ। नेपालका अटोमोबाइल वर्कशप, गार्मेन्ट र निर्माण क्षेत्रमा यो मोडल लागू गरेर सिक्दै कमाउदै कार्यक्रमलाई साकार पार्न सकिन्छ।

यद्यपि यो मोडल सुन्दा जति आकर्षक छ त्यती नेपालको विद्यमान प्रशासनिक र राजनीतिक परिवेशमा यसलाई लागू गर्नु त्यति नै चुनौतीपूर्ण छ। नेपालमा विकसित देशहरूको जस्तो ठूला उद्योगहरू पर्याप्त छैनन्, जहाँ हजारौ विद्यार्थीलाई व्यावहारिक अभ्यासका लागि राख्न सकियोस्। शिक्षा  तथा खेलकूद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र विश्वविद्यालयहरूबीच समन्वयको चरम अभाव छ। सरकारी विद्यालय र कलेजहरूमा न त आधुनिक प्रयोगशाला छन्, न त उद्योगहरूसँग सम्झौता गर्ने कानुनी लचकता नै छ। नेपाली उद्योगहरू पनि विद्यार्थीलाई तालिम दिन र भत्ता उपलब्ध गराउन अतिरिक्त आर्थिक दायित्व ठान्दै हिचकिचाउने गर्छन्।

यो समस्याको निकासका लागि सरकार, शैक्षिक संस्था र उद्योग वाणिज्य महासंघबीच अनिवार्य त्रिपक्षीय सम्झौता हुन जरुरी छ। विद्यार्थीलाई इन्टर्नसिप दिने उद्योगहरूलाई सरकारले कर छुट वा अन्य प्रोत्साहनको व्यवस्था गर्नुपर्छ।

परम्परागत र पुराना पाठ्यपुस्तकहरू हटाएर उद्योगको माग अनुसारको क्रेडिट आवर प्रणालीमा आधारित पाठ्यक्रम निर्माण गरिनुपर्छ। विपन्न वर्गका विद्यार्थीहरूलाई तीन दिन व्यावहारिक काम गर्दा जीवन निर्वाह भत्ता मिल्ने गरी राज्यले विशेष कोषको व्यवस्था गर्नु आवश्यक देखिन्छ। सुरुमै देशभर लागू गर्नुको सट्टा निश्चित प्राविधिक कलेज वा जिल्लाहरूमा पाइलट प्रोजेक्टका रूपमा यो मोडल सुरु गरेर यसको प्रभावकारिता मूल्याङ्कन गर्न सकिन्छ।

शिक्षा देश विकासको इन्जिन हो।तर यदि त्यो इन्जिनमा व्यावहारिक ज्ञानको इन्धन भिएन भने त्यसले मुलुकलाई अगाडि बढाउन सक्दैन। विदेशमा सफल प्रमाणित भइसकेको तीन दिन सैद्धान्तिक र तीन दिन व्यावहारिक शिक्षाको मोडल नेपालका लागि केवल एउटा विकल्प मात्र होइनकी यो वर्तमान शैक्षिक बेथिति र युवा पलायन रोक्ने एउटा सञ्जाल बन्न सक्छ। श्रमलाई सम्मान गर्ने, सीपलाई प्रश्रय दिने र शिक्षालाई बजारसँग जोड्ने यो मोडललाई दृढ राजनीतिक इच्छाशक्ति र निजी क्षेत्रको सहकार्यमा लागू गर्न सके मात्र समृद्धिको सपना साकार हुनेछ। अब सेतो बोर्डपाटीको अक्षरलाई कार्यथलोको व्यावहारिक सीपमा बदल्न ढिलाइ गर्नु हुदैन।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...