सम्माननीय प्रधानमन्त्री बालेन्द्र साह !
नेपालको राजनीतिलाई पुस्तान्तरणको कोर्स नै बदल्ने गरि जेन जि आन्दोलनपछि २०८२ फाल्गुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको मत परिणामले तपाईलाई देशको सर्वोच्च कार्यकारी पदमा पुग्ने ऐतिहासिक अवसर प्राप्त भएको छ । तपाईंसंग राजनीतिको बैचारिक सम्बन्धमा म प्रतिपक्षी धारमा उभिएको छु तर तपाईंको लगन, आँट र अन्तर्मुखी स्वभाव सहितको तिलस्मी ब्यक्तित्व निर्माणबाट म केही प्रभावित छु र तपाईंको कार्यकाल पूर्ण सफलताको कामना गर्ने शुभेच्छुकहरु मध्य म पनि एक हुँ ।
प्रधानमन्त्रीको पदभार ग्रहण गरेर सरकारलाई पूर्णता दिए लगत्तै तपाईंले सार्वजनिक गरेको सय दिनको कार्यसूचिका कामकाजहरुलाई मैले सुक्ष्म ढंगले नियाल्ने प्रयास पनि गरेको छु ।
गणतन्त्र स्थापनापछिको नेपालको इतिहासमा युवाबाट प्रधानमन्त्री जस्तो उच्च ओहदाको गरिमामय स्थानमा पुग्नु हामी सबैको लागि पनि गौरवको बिषय हो । भनिन्छ,राजनीतिक परिपक्वताले पदीय जिम्मेवारी भूमिका खोज्दैन तर पदीय जिम्मेवारीले भने अनिवार्य राजनीतिक परिपक्वता खोजेको हुन्छ । तपाईंमा उच्च ओहदाको पदीय जिम्मेवारीसंगै राजनीतिक परिपक्वताको सुझबुझ पनि त्यतिकै मात्रामा बढेर जान सकोस् भन्ने मेरो शुभेच्छा हो । फरक राजनीतिक बिचारको एक शुभेच्छुकको नाताले तपाइँलाई मैले केही महत्त्वपूर्ण बिषयमा सुझाव दिन चाहेको छु । मैले दिने खुला सुझाव तपाईंसम्म पुग्छ या पुग्दैन ? वा पुगेर पनि तपाईंले वास्ता गर्ने बिषय बन्छ या बन्दैन ? मलाई थाह छैन । तरपनि भुइँमान्छेहरुको जीवनसंग प्रत्यक्ष जोडिएको एउटा सचेत राजनीतिकर्मी हुनुको नाताले नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री समक्ष मिडिया मार्फत प्रस्तुत गर्ने कुरा मैले आफ्नो दायित्व ठानेर निम्न बिषयहरु उठान गरिदिएको छु ।
१- मैले बुझेसम्म तपाईं उत्पीडित वर्ग/समुदायबाट निकै संघर्ष गरेर आफ्नो हैसियतलाई धेरै माथि उठाएको भए तापनि तपाईंलाई गरिबी र जातीय सवाललाई उठाउनेहरुप्रति घृणा जागेको मलाई आभास हुन्छ । तपाईंलाई गरिबी र जातीय सवाल उठाएको मन पर्दैन भनेपनि केही छैन । बरु सक्नुहुन्छ भने गरिबलाई मध्यम स्तरमा उकास्ने योजना ल्याउनुस् सकिदैन भने पनि तपाईंको कार्यकाल भरि गरिबीलाई नदेखेको जस्तै गर्नुस् तर संसारलाई लज्जित बनाउने गरि गरिबहरुको बिचल्ली बनाइरहेको अवस्था नदेखाइदिनुहोस् । अनि कसैले जातीय सवाल उठाएर राजनीति गरेको मन पर्दैन भने संविधान संशोधन गरेर कानुन बनाई जात ब्यवस्थाले सृजना गरेको तहगत असमानताको जातीय संरचना र बिभेदकारी संस्कृतिलाई समूल अन्त्य गर्नेगरि सबै नेपालीहरुको नागरिकतामा नामको पछाडि जातीय थर अनिवार्य लेख्नुपर्ने प्राबधानलाई खारेज गरि सबैको एउटै थर नेपाली लेख्ने नियम बनाएर कडाइका साथ लागू गर्नुहोस् ।
२- राष्ट्रियताको सवालमा तपाईंको पार्टीसंग जोडिएका बिषय र तपाईंलाई जेन जि आन्दोलनमा भएका बिध्वंससंग जोडेर प्रश्नहरु उठिरहेको सन्दर्भमा अमेरिकासंगको MCC र SPP सम्झौता लगायत छिमेकी देशहरूको स्वार्थसंग सौदा गरेर राष्ट्रघाती सम्झौता गर्ने र शक्ति राष्ट्रहरुको युद्ध अभ्यास गर्ने थलोको रुपमा नेपाललाई प्रयोग हुन नदिनका लागि अत्यन्तै सुझबुझका साथ चनाखो भएर लाग्नुहोस्।
३- भ्रष्टाचार देशको निकै ठूलो रोग हो । यसलाई नियन्त्रण गर्न कोही कसैलाई पनि राजनीतिक पुर्वाग्रह नराखि निष्पक्ष छानबिन गर्दै कारवाहीको दायरामा ल्याएर नाजायज सम्पत्ति राष्ट्रियकरण गर्ने र सुशासनको उत्कृष्ट विधि बनाएर प्रबिधिले हरेकलाई प्रत्यक्ष निगरानी एवं नियमन गर्नेगरि ठोस नीति तथा योजना बनाएर प्रभावकारी ढंगले लागू गर्नुहोस् ।
४- सकेसम्म संबिधान संशोधन गरेर कानुन बनाई भूमिलाई राज्यको स्वामित्वमा लिइ बैज्ञानिक भूमिसुधार लागु गर्नुहोस् । यदि त्यसो गर्न सकिदैन भनेपनि जग्गाको हदबन्दी कायम गर्नेगरि भूमिहीनहरुलाई पहिचान गरेर जग्गा बितरण गर्ने नीति बनाएर लागू गर्नुहोस् ।
५- शिक्षा-स्वास्थ्य हरेक नागरिकहरुको मौलिक अधिकार हो भन्ने कुरा २०७२ को संबिधानमै प्रष्ट रुपमा उल्लेख भए तापनि आजसम्म शिक्षा-स्वास्थ्यलाई नीजिकरण र ब्यापारीकरण गरेर राज्य आफ्नो दायित्वबाट पञ्छिएको अवस्था छ । शिक्षा-स्वास्थ्यलाई पूर्ण निशुल्क, गुणस्तरीय र उच्च प्रविधियुक्त बनाउने गरि ठोस नीति तथा कार्यक्रम सहितको योजना बनाएर लागू गर्नुहोस् ।
६- उत्पादनमा प्रचुरता भए मात्र देश समृद्ध बन्नसक्छ । यसको लागि किसान र मजदुरमैत्री उत्कृष्ट नीति तथा कार्यक्रम बनाएर लागु गर्नुपर्ने हुन्छ । श्रमप्रति श्रद्धा राख्ने र श्रमिकलाई सम्मान सहितको सेवा-सुबिधाहरु उपलब्ध गराउने गरि स्वदेशमै रोजगारीका अवसरहरु सृजना गर्ने उद्देश्यले हजारौं मान्छेहरुलाई सामुहिक श्रममा परिचालन गर्न सरकारको तर्फबाट नै श्रम अभियान चलाउनुहोस् ।
७- स्थायी सरकारको रुपमा परम्परागत ढंगले चल्दै आइरहेको राज्यको बोझिलो र खर्चिलो कर्मचारीतन्त्रको संरचनालाई पुरै बदलेर कार्यसम्पादन एकाइको रुपमा काम गर्नेगरि ठोस नीति, विधि र प्रबिधियुक्त बनाउनुहोस् ।
८- देशको रक्षाका लागि बिद्यालय स्तरबाटै आम नागरिकहरुलाई सैन्य ज्ञान सहितको तालिम दिने र सुरक्षाकर्मीहरुलाई जनतासंगै जोडिएर सुरक्षा सहकार्य गर्ने खालको नीति बनाएर आफ्नै देशमा सैन्य हतियार निर्माण गर्ने कारखाना पनि स्थापना गर्नुहोस् ।
९- युवाहरूलाई खेलकुद, कला-साहित्य-संगीत, पर्यटन, श्रम-रोजगार, बैज्ञानिक खोज-अनुसन्धान, सूचना-सञ्चार-प्रबिधि, जनसुरक्षा, भौतिक पुर्वाधार बिकास लगायतका महत्त्वपूर्ण क्षेत्रमा जोडिएर अग्रणी भूमिका निर्वाह गर्नेगरि अवसरका चौतर्फी ढोकाहरु खोल्न ठोस नीति तथा कार्यक्रम सहितको योजना तय गरेर प्रभावकारी ढंगले लागू गर्नुहोस् ।
१० जेष्ठ नागरिक, अपांग, एकल महिला, सिमान्कृत वर्ग/समुदायलाई राज्यले प्रदान गरिदै आएको सामाजिक सुरक्षा भत्तालाई कटौती गर्ने होइन कि थप ब्यवस्थित गरेर जीवनोपयोगी र प्रभावकारी बनाउन सरकारबाट ठोस योजना बनाएर लागू गर्नुहोस् ।
# सरकारले गर्नुपर्ने कामहरु धेरै नै छन् । ती मध्ये यी १० वटा बुँदाका बिषयगत कामलाई ब्यवस्थित गरेर प्रभावकारी बनाउन सकियो भने बालेन सरकारको योगदान ऐतिहासिक एवं युगान्तकारी नै हुनेछ । झण्डै दुई तिहाइ एकल बहुमतको सरकारले नेपाली समाजलाई बिकास, समृद्धि र सुशासनबाट दूरगामी रुपमा सकारात्मक दिशातिर डोर्याउने हो या केही स्टन्टबाजी गर्दै, आन्तरिक द्वन्द्व सृजना गर्दै र बैदेशिक शक्ति केन्द्रको कठपुतली बनेर बाह्य हस्तक्षेपलाई बढवा दिई राष्ट्रिय स्वाधीनतालाई नै तिलाञ्जली दिने अवस्थामा पुर्याउने भन्ने कुराको फैसला तपाईंको सरकार आफैंले गर्नुपर्नेछ ।
अहिले हामी सकारात्मक पाटोबाट नै सोचौं । कथंकदाचित दुईतिहाइ बहुमतको दम्भमा जे पनि गर्न सकिन्छ भनेर गलत दिशातिर जान थालेमा बालेन सरकारलाई एक इन्च पनि नेपाली भूमिमा पाइला टेक्ने नैतिक अधिकार हुनेछैन । इतिहासमा सबैभन्दा दर्दनाक अवस्था भोग्नुपर्ने परिस्थिति नआवस भनेर अत्यन्तै सुझबुझका साथ अघि बढ्न हुन बालेन सरकारलाई मेरो बिशेष सुझाव छ । आगे तपाईंको मर्जी !

