कर्णाली प्रदेशको शैक्षिक गुणस्तर र समावेशी शिक्षालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने उद्देश्यसहित मुसिकोट खलंगा बहुमुखी क्याम्पसद्वारा आयोजना हुन लागेको प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन२०२६ (MMNC 2026) को तयारी अन्तिम चरणमा पुगेको छ। विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालको आर्थिक सहयोगमा आयोजना हुने यस सम्मेलनले कर्णाली क्षेत्रका शैक्षिक चुनौतीहरूको पहिचान र समाधानका उपायहरूमा केन्द्रित रहने जनाइएको छ। सोमबार क्याम्पसको आईटी हलमा आयोजित प्रेस भेटघाट कार्यक्रममा मूल आयोजक समितिका पदाधिकारीहरूले सम्मेलनको उद्देश्य, तयारी अवस्था, कार्ययोजना तथा सहभागिताका विषयमा विस्तृत जानकारी दिएका थिए।

कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग अन्तरक्रिया पनि गरिएको थियो। सम्मेलनको मूल विषय “कर्णालीमा शैक्षिक गुणस्तर र समावेशी शिक्षा: उच्च शिक्षण संस्थाहरूको भूमिका” तय गरिएको छ। यस अन्तर्गत शिक्षा, व्यवस्थापन, मानविकी तथा सामाजिक विज्ञान र विज्ञान–प्रविधि क्षेत्रका अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी तथा नीतिनिर्माताहरूले आफ्ना अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्नेछन्। आयोजकका अनुसार सम्मेलनमा कर्णालीका प्रमुख शैक्षिक मुद्दाहरू—जस्तै शैक्षिक गुणस्तर सुधार, समावेशी शिक्षा, डिजिटल रूपान्तरण, उच्च शिक्षाको भूमिका, समुदायमा आधारित अभ्यास, लैङ्गिक समानता, अपाङ्गता तथा सीमान्तकृत समुदायका सवालहरू—मा केन्द्रित बहस हुनेछ।

प्रेस भेटमा बोल्दै आयोजक समितिका एक पदाधिकारीले सम्मेलनले कर्णालीको शिक्षालाई अनुसन्धान र नवप्रवर्तनसँग जोड्ने विश्वास व्यक्त गरे। साथै, हालै सम्पन्न मध्यपश्चिम विश्वविद्यालयको MUMIC–२०२६ मा सहभागी अनुसन्धानकर्ता तथा सरोकारवालाहरूलाई पनि यस सम्मेलनमा सहभागिताका लागि आह्वान गरिएको जानकारी दिइयो। सम्मेलन आगामी जेठ १५ र १६ गते सञ्चालन हुनेछ। कार्यक्रम भौतिक तथा भर्चुअल दुवै माध्यमबाट आयोजना गरिनेछ। उद्घाटन तथा मुख्य सत्रहरू क्याम्पसमै सञ्चालन गरिनेछन् भने panel discussion, keynote session र paper presentation जस्ता कार्यक्रमहरूमा अनलाइन सहभागिताको सुविधा पनि उपलब्ध गराइनेछ। यसले देश तथा विदेशबाट सहभागी हुन इच्छुक अनुसन्धानकर्ताहरूलाई सहज बनाउने अपेक्षा गरिएको छ।

कार्यपत्र प्रस्तुत गर्न इच्छुकहरूले वैशाख ३० गतेभित्र abstract वा full paper इमेलमार्फत पठाउन सक्नेछन्। प्रस्तुत सामग्री APA 7th Edition शैलीमा तयार हुनुपर्नेछ। आयोजकले समयमै कार्यपत्र पठाई राष्ट्रिय स्तरको शैक्षिक मञ्चमा आफ्नो सहभागिता जनाउन आग्रह गरेका छन्। क्याम्पस प्रमुखले प्रेस भेटघाटमा कर्णाली प्रदेशको वर्तमान शैक्षिक अवस्थाबारे चिन्ता व्यक्त गर्दै सुधारका लागि उच्च शिक्षण संस्थाहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरू गुणस्तरीय र समावेशी शिक्षाबाट अझै वञ्चित रहेको उल्लेख गर्दै यस्तो सम्मेलनले दीर्घकालीन सुधारका लागि मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरे।

कर्णाली प्रदेशमा शैक्षिक असमानता, पूर्वाधार अभाव, शिक्षक कमी तथा समावेशीकरणका चुनौतीहरू विद्यमान छन्। सम्मेलनले यी विषयमा गम्भीर बहस अघि बढाउने अपेक्षा गरिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा हुने keynote सत्र, panel छलफल तथा अनुसन्धान प्रस्तुतिहरूले स्थानीय समस्यालाई राष्ट्रिय विमर्शसँग जोड्ने विश्वास गरिएको छ। प्रेस भेटघाटमा सहभागी सञ्चारकर्मीहरूले सम्मेलनको महत्वलाई सकारात्मक रूपमा लिँदै सूचना प्रवाहमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। आयोजकले कार्यक्रमलाई सफल बनाउन सञ्चारकर्मीहरूको भूमिकाप्रति आभार व्यक्त गरेको छ।

मुसिकोट खलंगा बहुमुखी क्याम्पसले आयोजना गर्ने यस सम्मेलनलाई बहुविषयक अनुसन्धान तथा नवप्रवर्तन प्रवर्द्धन गर्ने राष्ट्रिय मञ्चका रूपमा हेरिएको छ। आयोजकले देशभरका शिक्षक, विद्यार्थी, अनुसन्धानकर्ता तथा नीतिनिर्माताहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...