नेपाली राजनीतिमा एउटा नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सामु आज नेपाली जनताको ठूलो आशा र भरोसा रहेको छ। परम्परागत राजनीतिक दलहरूको कार्यशैलीबाट आजित भएका नागरिकहरूले यस दललाई परिवर्तनको संवाहकका रूपमा हेरेका छन्।तर आन्तरिक सुशासन र भ्रष्टाचार नियन्त्रण जति महत्वपूर्ण छ त्यति नै राष्ट्रको दीर्घकालीन समृद्धिका लागि एउटा परिपक्व र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नु त्योभन्दा कम चुनौतीपूर्ण छैन। नेपाल जस्तो भू-राजनीतिक रूपमा संवेदनशील स्थानमा रहेको मुलुकका लागि परराष्ट्र नीति केवल एउटा सरकारी दस्ताबेज मात्र नभई यो राष्ट्रिय सुरक्षा र आर्थिक विकासको मेरुदण्ड पनि हो। रास्वपाले अगाडि सारेको सुशासन को एजेन्डा तब मात्र सफल हुन्छ जब यसले बाह्य शक्तिहरूसँगको सम्बन्धलाई राष्ट्रिय हितको केन्द्रमा राखेर सञ्चालन गर्न सक्छ। वर्तमान विश्व राजनीतिमा शक्ति राष्ट्रहरूबीचको ध्रुवीकरण बढ्दै जाँदा नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति र पञ्चशीलका सिद्धान्तहरूलाई समयसापेक्ष परिमार्जन गर्दै आर्थिक कूटनीतिलाई प्राथमिकता दिनु अनिवार्य भएको छ।

ऐतिहासिक रूपमा नेपालले अंगीकार गर्दै आएको असंलग्नताको अर्थ कुनै पनि शक्ति राष्ट्रको पक्षमा नलाग्नु मात्र होइनकि बरु नेपालको हित प्रतिकूल हुने कुनै पनि सैन्य वा रणनीतिक गठबन्धनबाट टाढा रहनु हो। रास्वपाले जनतालाई दिलाएको सुशासनको भरोसालाई कायम राख्न वैदेशिक सहायता र लगानीका क्षेत्रमा पूर्ण पारदर्शिता कायम गर्नु पर्छ। भ्रष्टाचारको अन्त्य केवल आन्तरिक कर्मचारीतन्त्रमा मात्र सीमित नभई वैदेशिक सन्धि सम्झौताहरूमा हुने अपारदर्शी कमिशनको खेललाई रोक्नमा पनि केन्द्रित हुनुपर्दछ। नेपालले भारत र चीन जस्ता दुई विशाल छिमेकीहरूका बीचमा आफूलाई एउटा गतिशील पुलका रूपमा स्थापित गर्न सक्नुपर्छ। एकातिर भारतसँगको ऐतिहासिक, सांस्कृतिक र खुला सिमानाको सम्बन्धलाई सम्मान गर्दै व्यापार घाटा कम गर्ने रणनीति बनाउनु पर्छ भने अर्कोतिर चीनसँगको कनेक्टिभिटी र पूर्वाधार विकासका सम्झौताहरूलाई राष्ट्रिय स्वार्थ अनुसार अगाडि बढाउनु पर्छ। यी दुई शक्तिहरूका बीचमा कतै पनि नढल्की सन्तुलित सम्बन्ध राख्न सक्नु नै रास्वपाको कूटनीतिक सफलता हुनेछ।

आजको बदलिँदो परिवेशमा अमेरिका र पश्चिमका शक्ति राष्ट्रहरूको चासो पनि दक्षिण एसियामा बढ्दै गएको छ। यस्तो अवस्थामा नेपालले कुनै पनि प्रोक्सी वार वा परोक्ष युद्धको अखडा बन्नबाट जोगिन अत्यन्तै सतर्कता अपनाउनु पर्छ। दक्षिण कोरियाबाट अमेरिकी सैन्य सुरक्षा परिमार्जन हुँदै गरेको सन्दर्भले के संकेत गर्छ भने कुनै पनि मुलुकले आफ्नो सुरक्षाका लागि सधैँ अर्काको भर पर्नु आत्मघाती हुन सक्छ। त्यसैले नेपालले आफ्नो सुरक्षा र सार्वभौमसत्ताका लागि पञ्चशीलको सिद्धान्तलाई नै बलियो आधार बनाउनु पर्छ। रास्वपाले युवा पुस्ताको प्रतिनिधित्व गर्ने भएकाले यसले परम्परागत कूटनीतिभन्दा माथि उठेर डिजिटल कूटनीति र श्रम कूटनीतिलाई पनि प्राथमिकता दिनु पर्छ। लाखौँ नेपाली युवाहरू वैदेशिक रोजगारीमा रहेकाले उनीहरूको हकहितको रक्षा र उनीहरूले पठाएको रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने नीतिले मात्र समृद्धिको सपना साकार पार्न सक्छ।

चुनौतीहरूको कुरा गर्दा ठूला दलहरूले विगतमा गरेका अपारदर्शी सम्झौताहरूको भारी र भू-राजनीतिक दबाब रास्वपाका लागि मुख्य तगारो बन्न सक्छन्। वैदेशिक लगानी भित्र्याउँदा राष्ट्रिय स्वाधीनतामा आँच नआउने गरी सुशासनको मोडल तयार गर्नु पर्छ। भ्रष्टाचारमुक्त प्रशासनले मात्र वैदेशिक लगानीकर्ताहरूलाई आकर्षित गर्न सक्छ, जसले अन्ततः स्वदेशमै रोजगारी सिर्जना गरी समृद्धिको आधार तय गर्दछ। समृद्धिको यात्रामा परराष्ट्र नीतिलाई केवल राजनीतिक नारा मात्र नबनाई यसलाई आर्थिक लाभसँग जोड्नु पर्छ। नेपालका जलविद्युत, पर्यटन र कृषि जस्ता मौलिक क्षेत्रहरूमा विदेशी लगानी भित्र्याउन आर्थिक कूटनीतिको विशेष सेल खडा गरी दक्ष जनशक्ति परिचालन गर्नु आवश्यक छ। रास्वपाले बोकेको सुशासन र समृद्धिको मशाल तब मात्र दन्किरहनेछ जब यसले नेपालको माटो सुहाउँदो, छिमेकीहरूसँग सन्तुलित र विश्व समुदायसँग सहयोगात्मक परराष्ट्र नीति अवलम्बन गर्नेछ। पञ्चशीलको मर्यादा राख्दै र असंलग्नताको मर्म बुझ्दै अगाडि बढेमा मात्र नेपाल मध्य-पूर्वको जस्तो द्वन्द्वको चपेटामा नफसी एउटा शान्त र समृद्ध राष्ट्र बन्न सफल हुनेछ। जनताको आशालाई भरोसामा बदल्न रास्वपाले आफ्नो परराष्ट्र नीतिमा स्पष्टता, पारदर्शिता र राष्ट्रियतालाई सर्वोपरी राख्नु नै आजको आवश्यकता हो।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...