Post ads Jai Khairawang

सुनिल धिताल
लगातार ७ वर्ष भयो, दशैंको टिका लगाएको छैन । यसमा मित्रजनको चासो छ, किन टिका नलगाउने ? घर परिवारमा एक प्रकारको अप्ठ्यारो छ । तै पनि मैले दसैंको टिका लगाउन सकिरहेको छैन । कतिपयको असुरक्षाभाव सिधै प्रकट हुन्छ, क्रिश्चियन भएको हो ?मलाई भएको एउटै धर्मसँग त समस्या छ, अर्को धर्म फेरि किन अंगालौला । दशैंका कयौं सकारात्मक पाटा छन् र दशैं स्वयम्सँग मलाई कुनै समस्या पनि छैन । दशैं किन मनाउन सुरू गरियो र दशैंले मानिसको हृदयमा प्रवाह गर्ने सन्देश के हो भन्नेबारे विभिन्न अनुमान छन्, तर यही हो भनेर भन्न सक्ने अवस्था छैन । नवरात्री तथा विजया दशमीसँग दुर्गाको पूजा मुलतः शक्ति पूजा नै हो । यदी शक्ति पूजाको रूपमा सुरू भएको थिएन भने पनि अहिले यसले दिने सन्देश शक्ति पूजा नै हो ।

ritu ads

तर, दशैंको पाँच दिन लगाइने टिका नेपालको पहाडी हिन्दु समुदायको विशिष्ट परम्परा हो । यसले अहिलेको दौडधुपमय जीवनशैली र बढ्दो आप्रवासन, आफन्तबीचमै भौतिक भेटघाट नहुने परिस्थितिमाझ पारिवारिक भेटघाट र अन्तरघुलनको अवसर प्रदान गरेको छ । पिङ, जमराजस्ता मौलिक परम्परा यसका रोचक पक्ष हुन् । यसमा आपत्ति जनाउनु पर्ने कुनै खास कारण छैन । दशैंको टिका थाप्ने कुरा सामन्तवादी सोचबाट निर्देशित छ, तर यति हुँदैमा यसमा अल्झिनु पर्ने कारण पनि छैन । यसबारे बहस चलाउनु जरूरी छ, यसलाई कसरी रूपान्तरण गर्ने भन्ने विषयमा छलफल हुनु अनिवार्य छ, तर पर्वका यी मौलिकता चलेकै राम्रो । त्यसैले, जजसले आफ्नो चाडका रूपमा दशैं मनाउनु हुन्छ, यसमा म खुशी नै छु । दशैंको सांस्कृतिक पक्ष केही विचरणीय विषयसहित जति सुन्दर छ, निकट इतिहासमा दशैंमार्फत भएको राजनीति र अहिलेसम्म राज्यसंयन्त्रले यसलाई गरिरहेको प्रयोगको पाटो उति नै आपत्तिजनक छ । पृथ्वीनारायण शाहको नेतृत्वमा सुरू भएको गोरखा राज्य बिस्तारसँगै उदय भएको शाहवंशीय शासन र राणाकालमा दशैंलाई सांस्कृतिक अतिक्रमणको माध्यम बनाइयो । फरक विश्वदर्शन, धर्म, जीवनशैली र संस्कृति भएका देशवासीलाई दशैं मान्न बाध्य बनाइयो । यो सांस्कृतिक अतिक्रमणको इतिहासबारे कुनैपनि विवाद छैन । यो एउटा ऐतिहासिक सत्य हो, तर अहिले आएर त्यसबेलाका पात्रहरूमाथि सतही बहस, आलोचना वा गाली गर्नु अर्थपूर्ण छैन, तर प्राज्ञिक अनुसन्धान भने जरूरी छ ।

इतिहासमा भएको यो कमजोरी राज्यले सच्याउनु पर्दथ्यो । तर पञ्चायतकालमा दशैंलाई राष्ट्रिय पर्व मात्रै बनाइएन, विविध स्वरूपमा किरात, बुद्ध, इस्लामजस्ता अरू धर्मका मानिसलाई पनि यो चाड मान्न बाध्य पार्ने प्रपञ्च रचियो । राज्यको आधुनिक अवधारणमा दशैंलाई झिक्नै नमिल्ने गरी घुसाउने काम भयो । यो ऐतिहासिक गल्ती सच्याउने उपयुक्त अवसर २०६२÷६३ को जनआन्दोलनपछि प्राप्त भएको थियो । विगतमा गरेको सांस्कृतिक अतिक्रमणका लागि जनजाति तथा फरक धार्मिक समुदायसँग राज्यले माफी माग्दै दशैंलाई राज्यले दिने महत्व घटाउने र अरू समुदायका मौलिक पर्वलाई महत्व दिने काम गर्नु पर्दथ्यो । दुर्भाग्यवस, त्यस्तो हुन सकेन । बहस हिजो के भयो भन्ने होइन, आज के भइरहेको छ भन्ने विषयमा हो । संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको सरकारी नीति र व्यवहार यो सन्दर्भमा कुनै पनि रूपमा पञ्चायतभन्दा भिन्न छैन ।

दशैंमार्फत भएको यो सांस्कृतिक अतिक्रमणविरूद्ध विभिन्न आदिवासी जनजाति समुदायले संघर्ष गरिरहेका छन्। आफ्ना मौलिक पर्वलाई महत्वका साथ मनाउन पनि सकेसम्म प्रयास गरिरहेका छन्। त्यसैले, सांस्कृतिक अतिक्रमणविरूद्ध उभिएका ती संघर्षशील र न्यायप्रेमीहरूप्रति मेरो ऐक्यबद्धता स्वरूप दसैंमा टीका लगाएको छैन । यो विभाजनको षडयन्त्र होइन, विदेशीको दलाली होइन, विगतमा राज्यले गरेको अन्यायप्रति राज्यले नै माफी मागोस् र समावेशीताको नीति अनुसार सबै संस्कृतिलाई राज्यले समान व्यवहार गरोस् भन्ने सामान्य माग हो । यो माग प्रति मेरो ऐक्यबद्धता छ किनभने म आफूबस्ने समाज अन्यायको इतिहासमाथि उभिएको देख्न चाहन्न, विगतका गल्तीहरू सच्याउँदै समतामुलक र एकताबद्ध भएको समाजमा म बस्न चाहन्छ । मलाई दशैंसँग समस्या छैन, तर दशैंमार्फत भएको क्रुर राजनीतिसँग समस्या छ ।

फेसबुक प्रतिक्रियाहरु