नेपाली चलचित्र जगतमा पछिल्लो समय सामाजिक तथा यथार्थपरक कथाहरूमाथि बहस सुरु भएको छ। यसै क्रममा हाल प्रदर्शनरत चलचित्र ‘लालीबजार’ चौतर्फी चर्चा र विवादको केन्द्रमा रह्यो। पश्चिम नेपालको बर्दिया जिल्लास्थित राजापुरमा छायांकन गरिएको यो चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा नेपालको एउटा सीमान्तकृत समुदायको आत्मसम्मानमा ठेस पुर्याएको भन्दै यसको चर्को विरोध भयो जसका कारण विवाद सम्मानित सर्वोच्च अदालतको ढोकासम्म समेत पुग्यो। अन्ततः कानुनी र सामाजिक बहस पार गर्दै यो चलचित्र हाल हलहरूमा दर्शकको मिश्रित (सकारात्मक र नकारात्मक) प्रतिक्रियाका साथ प्रदर्शन भइरहेको छ।
’टलकजंग भर्सेज टुल्के’, ‘महापुरुष’ जस्ता फिल्म निर्माण गरेको षड्कोण आर्ट चलचित्र कम्पनीको यो पछिल्लो प्रस्तुति तथा ‘होस्टेल रिटर्न्स -२०१५’ बाट डेब्यु गरी “बुलबुल-२०१९ (एक महत्वपूर्ण फिल्म अन्तर्राष्टिय स्तरमा नेपालको प्रतिनिधित्व गरेको)” ‘चिसो मान्छे’ सम्म आइपुग्दा जीवन्त अभिनयका कारण दर्शकको मन जित्न सफल अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेका कारण पनि यो चलचित्रप्रति मेरो उत्सुकता थियो। हलमा पुगेर चलचित्र हेरिसकेपछि यसले उठाएका गम्भीर मुद्दाहरू र मेरो व्यक्तिगत दृष्टिकोणलाई निम्नानुसार प्रस्तुत गरेको छु:
चलचित्रले प्रवाह गरेका मुख्य सन्देश तथा वैचारिक पक्षहरू :
१. सीमान्तकृत आदिवासी समुदायको सामाजिक पीडा र सामन्तवादको नग्न रूप: ’लालीबजार’ ले सामाजिक न्याय र समानताको पक्षमा वकालत गर्दै सम्भ्रान्त वर्ग (Elite Class) को थिचोमिचोलाई नजिकबाट नियालेको छ। पश्चिम नेपालको बर्दिया जिल्लाको राजापुरस्थित सीमान्तकृत आदिवासी (विशेष गरी वादी) समुदायमा ‘राजा’ नामक सामन्ती पात्रले सिर्जना गरेको मनोवैज्ञानिक त्रास र शोषणको चक्रलाई फिल्मले पर्दामा उतारेको छ। वर्षौंदेखि जरा गाडेर बसेको सामन्तवादका कारण आर्थिक रूपमा विपन्न समुदाय कसरी देहव्यापार जस्तो अमानवीय दलदलमा फस्न बाध्य पारिन्छन् र उनीहरूको अस्मितामाथि कसरी ‘नथिया प्रथा’ मार्फत पहिलो अधिकार सामन्तहरूकै हुन्छ भन्ने तीतो र कडा यथार्थलाई चलचित्रले निर्धक्क रूपमा प्रस्तुत गरेको छ। स्मरण रहोस् फिल्ममा देखाइए झैँ “नथिया प्रथा” भनेको छोरी मान्छेको नाकमा श्रृङ्गारिक सामाग्री नथ्थी लगाइन्छ र उक्त छोरी मान्छे जसले नथ्थी लगायो उसैको हकदार हुन्छ। अन्ततः उनीहरूको कुमारीत्व लुटिन्छ, शारीरिक शोषण हुन बाध्य पारिन्छ। चलचित्र अनुसार यहाँको समुदायमा सामन्ती शासणको यति प्रभाव पर्छ कि देह व्यापार नै उनीहरूको आर्थिक आम्दानी तथा जीवन निर्वाह गर्ने बाध्यात्मक संस्कार स्थापित हुन पुग्छ। छोरी जन्मनुलाई मात्र खुसीको रुपमा लिने प्रचलनलाई चलचित्रमा गहिरो सन्देशकोरुपमा देखाइएको छ।
२. सार्वजनिक प्रशासनमा पुरुषप्रधान र सामन्ती सोचको प्रभुत्व: राज्यका निकायहरू विपन्न र एकल महिलाप्रति कति अनुदार र विभेदकारी छन् भन्ने कुरा चलचित्रकी पात्र ‘मधुवाला’ को सङ्घर्षबाट प्रष्ट हुन्छ। जमिनदारबाट आफ्नो श्रीमानको बेपत्ता पारिए पश्चात् आफ्नै सन्तानको नागरिकता बनाउन एउटी एकल महिलाले भोग्नुपरेको तितो यथार्थता र ‘बाबुको पहिचानबिना सन्तानको अस्तित्व नै स्वीकार नगर्ने’ पितृसत्तात्मक प्रशासनिक चरित्रमाथि चलचित्रले दह्रो प्रहार गरेको छ। शिक्षा जस्तो निष्पक्ष,पवित्र क्षेत्रमा समेत विद्यालय प्रशासनले गर्ने विभेदलाई देखाउँदै जबसम्म राजनीतिक र प्रशासनिक नेतृत्व समाजमैत्री हुँदैन तबसम्म सीमान्तकृत वर्गले राज्य भएको आभास पाउन सक्दैनन् भन्ने सन्देश दिन खोजिएको छ।
३. अन्तरजातीय विवाह र अस्वीकार्य समाजको चरित्र: चलचित्रले समाजमा विद्यमान कथित ‘तल्लो’ र ‘माथिल्लो’ भनिएको जात बीचको वैवाहिक सम्बन्धले निम्त्याउने मानसिक र सामाजिक सङ्कटलाई उजागर गरेको छ। पात्रहरू नारायण (ब्राह्मण) र मधुवाला (वादी समुदाय) बीचको निष्पक्ष प्रेम-सम्बन्धलाई जात व्यवस्थाको पर्खालले कसरी घेर्छ र विवाहपश्चात् पनि महिलाले कसरी जातीय र व्यावहारिक यातना भोग्नुपर्छ भन्ने पक्षलाई फिल्मले गज्जबसँग विश्लेषण गरेको छ।
४. माओवादी जनयुद्धको रापताप र यसको स्खलन : नेपालको इतिहासमा वि.सं. २०५२ देखि २०६३ सम्म चलेको सशस्त्र माओवादी जनयुद्धले समाजका उत्पीडित, महिला र दलित वर्गको सशक्तीकरणमा पारेको सकारात्मक प्रभावलाई चलचित्रले बिर्सेको छैन। सामन्तहरू विरुद्ध आवाज उठाउन र उत्पीडित वर्गलाई अधिकारको चेतना दिन जनयुद्धले खेलेको भूमिका र पछि नेतृत्वमा आएको विचलन वा गलत चरित्रका कारण आन्दोलन कसरी गन्तव्यहीन बन्न पुग्यो। जनमुक्तिका खातिर युद्धमा होमिएका कमरेडहरूको गलत चरित्रका कारण आन्दोलन कसरी स्खलन भयो भन्ने राजनीतिक यथार्थलाई पनि फिल्मले सन्तुलित रूपमा देखाएको छ।
५. मातृत्वको सङ्घर्ष र शिक्षाको महत्त्व: एउटी आमाले आफ्नी छोरीलाई पुरानो, जटिल, निर्मम कुप्रथाको पिँजडाबाट मुक्त गराउन र शिक्षित बनाउन गरेको कठोर सङ्घर्ष नै यो चलचित्रको सार केन्द्र हो। अभिभावक बिना बालबालिकाको मनोविज्ञानमा पर्ने असर र शिक्षा नै मुक्तिको एकमात्र मार्ग हो अर्थात “तमोशोमा ज्योतिर्गमय” भन्ने चेतना चलचित्रले श्रव्यदृश्यमार्फत उजागर गरेको छ।
समीक्षात्मक दृष्टिकोण: यथार्थको चित्रण कि ‘इमोसन बिजनेस’?
मानव समाज आदिम युगदेखि दास, सामन्ती हुँदै आजको आधुनिक युगसम्म निरन्तर अन्तरक्रियात्मक रूपमा विकास भइरहेको छ। निर्देशक र सम्पादकले विगतको ऐतिहासिक र यथार्थपरक कथालाई उजागर गर्ने प्रयास गर्नु प्रशंसनीय छ। तर, यसको अर्को पाटोलाई पनि भुल्न मिल्दैन किनकी के नेपाली चलचित्रकर्मीहरूले सीमान्तकृत वर्गको दुःख र आँसुलाई केवल म्याग्निफाइड (Magnified) गरेर ‘इमोसन बिजनेस’ (भावनात्मक व्यापार) मात्र गरिरहेका त छैनन्? भन्ने प्रश्न पनि उठ्छ। एउटा निश्चित समुदायलाई मात्र केन्द्रमा राखेर उसको नकारात्मक वा कारुणिक अवस्था मात्रै देखाउँदा समाजको उपल्लो वर्गले उनीहरूलाई हेर्ने दृष्टिकोण अझ बढी संकुचित वा पूर्वाग्रही बन्न सक्छ। विविधताले भरिएको र सद्भावको एकताको मालामा उनिएर शान्तपुर्वक बसेको नेपाली समाजमा चलचित्र क्षेत्रले अब आफ्नो दृष्टिकोण बदल्नुपर्ने बेला आएको छ।
नेपालको संविधान (२०७२) को प्रस्तावना र मौलिक हक (धारा २४ र धारा २९) ले जस्ताेसुकै विभेद, छुवाछुत र शोषण विरुद्धको अधिकार सुनिश्चित गरेको परिप्रेक्ष्यमा चलचित्रहरूले पनि समाजलाई कानुनी र व्यावहारिक रूपमै सचेत बनाउने दायित्व बोक्नुपर्छ। केवल दुःख मात्र बेच्ने परिपाटीले समाज रूपान्तरण हुन सक्दैन।
निष्कर्ष तथा सुझाव:
नेपाली चलचित्र बजार (विशेष गरी मूलधारका फिल्महरू) ले प्रायः कर्णाली वा सुदूरपश्चिम जस्ता क्षेत्रको प्राकृतिक सुन्दरता,सम्भावना,संघर्ष र सकरात्मक परिवर्तनलाई भन्दा त्यहाँको गरिबी, अभाव र कुप्रथालाई मात्रै होस् वा समाजमा विध्यमान कुनै जाति विशेषलाई केन्द्रमा राखी उनीहरूको परम्परागत संस्कार,पेशाले समाज दिएको योगदान भन्दा बढी अन्य कमजोरी पक्षलाई “म्याग्निफाइड” गरेर देखाउने ट्रेन्ड बसेको छ। अब यो परम्पराको अन्त्य हुन जरुरी छ। जस्तो कि लाज शरणम् (कर्णालीको दुर्गम बस्तीको गरिबी,अभाव चित्रण गरिएको), पुर्ण बहादुरको सारङ्गी ( जातियरूपमा उपेक्षित वर्गको गरिबी अभाव मात्र चित्रण गरिएको) लगायतका केहि नेपाली चलचित्रहरू ज्वलन्त उदाहरणहरू हुन्।
चलचित्र समाजको ऐना मात्र होइन यो त समाज रूपान्तरणको संवाहक पनि हो। तसर्थ, आगामी दिनमा नेपाली चलचित्र क्षेत्रले समाजका नकारात्मक र आलोचनात्मक क्षेत्रलाई मात्र नभई उत्पीडन विरुद्धका सफल गाथा, सकारात्मक परिवर्तन र प्रेरणादायी कथाहरूलाई पनि पर्दामा स्थान दिनेछ भन्ने अपेक्षा छ। राष्ट्र, समृद्ध राज्य र सभ्य समाज निर्माणका लागि चलचित्र क्षेत्रको योगदान अतुलनीय रहोस्, ‘लालीबजार’ टिमलाई हार्दिक शुभकामना ! लेखक बस्नेत राजनीति शास्त्रमा स्नातकोत्तर गरि हाल कानुनमा स्नातक र जनप्रशासनमा स्नातकोत्तर तहमा अध्ययनरत छन ।

