आहा सञ्चार संबाददाता
रुकुम पश्चिम त्रिवेणी गाउँपालिका सबै वडाहरुमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा हरप्लेस नेपाल रुकुमको सहजिकरणमा त्रिवेणीका १० वटै वडाको सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । सबै वडाको सार्वजनिक सुनुवाईमा उठेका गुनासा तथा सुझावहरुमाथि बहस, छलफल तथा सुनुवाई पछि त्यसको सम्बोधन गर्न प्रतिवद्धतापत्र समेत सार्वजनिक गरिएको छ ।

सार्वजनिक सुनुवाईमा सेवाग्राहीले वडामा सञ्चालन हुने सबै योजना, कार्यक्रम र बजेटबारे थाहा नपाएको, योजना सम्पन्न भएपछि भुक्तानी लिँदा दुःख खेप्नुपरेको, भुक्तानी प्रक्रिया र पेश गर्नुपर्ने कागजातबारे जानकारी नभएको, कतिपय योजना सम्पन्न नभई भुक्तानी लिएको लगायतका गुनासा गरेका छन् । गुनासाको सुनवाई गर्दै वडा अध्यक्षहरुको तर्फबाट जनतालाई वडाको योजना, कार्यक्रम र बजेटबारे जानकारी गराउन वडाको वार्षिक योजना र बजेट सहितको विवरण सार्वजनिक गर्ने प्रतिवद्धता गरिएको छ । त्यस्तै आगामी दिनमा भुक्तानी लिँदा दुःख नपाउनका लागि उपभोक्ताहरुलाई त्यसबारे जानकारी गराउने, योजनाको काम पूरा गरी अनुगमन तथा सामाजिक परीक्षण सम्पन्न गरेपछि मात्र भुक्तानीका लागि सिफारिस गर्ने, काम सम्पन्न भएपछि मात्र भुक्तानीका लागि सिफारिस गरिने र गाउँपालिकामा हुने सार्वजनिक सुनुवाईमा सक्रिय रुपमा सहभागी हुने तथा वडा कार्यालयमा पनि चौमासिक रुपमा नियमित सार्वजनिक सुनुवाई गर्ने प्रतिवद्धता गरिएको छ ।

सबै वडामा वडा अध्यक्ष र सचिवहरुबाट यस आर्थिक बर्षमा भएको काम र सेवा प्रवाहबारे जानकारी गराउँदै सहभागीका गुनासा संकलन र त्यसलाई सम्बोधन गरेर प्रतिवद्धता पत्र सार्वजतिक गर्दै कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सहजिकरण हरप्लेस नेपाल रुकुमका जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्री, जिल्ला अधिकृत महेश केसी र रेडियो सानीभेरीका पत्रकार मनिष खड्काले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

तिहारको शुभकामना । Happy Tihar


This will close in 20 seconds