हरि जिज्ञासु
रुकुम पश्चिमको स्याँलाखदीका आफ्नै कथा छन् । कोही नयाँ मान्छे त्यहाँ पुगेपछि त्यहाँको परिवेश, जनजीवन र प्राकृतिक सुन्दरताको अवलोकन गर्दा केही फरक अनुभूति गर्छन् । करिब ६ हजार मिटर उचाइमा अवस्थित रुकुमको गौरव सिस्ने हिमाल तथा अन्य पहाडहरूले घेरेको स्याँलाखदी त्यहाँका नागरिकका लागि आफैँमा एउटा अनुपम उपहार हो ।
शिक्षा, स्वास्थ्य, रोजगार र यातायातका दृष्टिले लामो समयसम्म पछाडि परेको स्याँलाखदीमा अहिले केही परिवर्तन देखिन थालेको छ । सडक पूर्वाधार विस्तार हुँदैछ । स्वास्थ्य चौकी र विद्यालयमा ठूला–ठूला भवनहरू निर्माण भइरहेका छन् । वर्षौँदेखि विकासबाट वञ्चित भूगोलमा विकासको गति अघि बढ्दै जाँदा मन खुसी हुँदोरहेछ ।
यसै क्रममा गत जेठ ३१ गते आइतबार आठविसकोट नगरपालिका वडा नं. ३ खदी गाउँमा एउटा उत्साहपूर्ण दृश्य देखियो, जसले मेरो मन निकै प्रफुल्ल बनायो । वडा कार्यालय, गैरसरकारी संस्था शान्ति नेपाल, अष्ट्रेलियन एड, आईएनएफ, सुस्सा लगायत संस्थाहरूको साझेदारीमा “सफा तथा स्वच्छ वडा घोषणा समारोह” आयोजना गरिएको थियो । कुनै समय घण्टौँ हिँडेर गाग्रीमा पानी बोक्नुपर्ने र घरमा चर्पीसमेत नभएको खदी गाउँमा अहिले प्रत्येक घरमा धारा र चर्पी छन् । त्यसका साथै घरअगाडि डस्टबिनको व्यवस्था पनि गरिएको छ ।
खदी गाउँलाई पालिकाकै नमुना गाउँका रूपमा चिनाउने उद्देश्यले निरन्तर प्रयासरत युवा वडा अध्यक्ष केशरमान विकको अतुलनीय योगदान रहेको छ ।
मिडियाले नभेटेर हो वा नखोजेर हो, यदि खोजेको र भेटेको भए अध्यक्ष केशरमान विक अन्य स्थानीय तहका जनप्रतिनिधिका लागि आफैँमा एउटा उदाहरणीय पात्र हुनुहुन्थ्यो । उहाँले गाउँलाई पनि नमुनाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको छ । बालविवाह अन्त्य, गाउँमा मदिरा बन्देज, युवालाई श्रममा जोड्ने, “एक घर–एक धारा” र “एक घर–एक चर्पी” अभियान सञ्चालन गर्ने तथा प्रत्येक घरमा फुसको छाना हटाएर टिनको छाना लगाउने अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।
त्यसका साथै स्याँलाखदीलाई पालिकाकै पहिलो सफा तथा स्वच्छ वडा घोषणा गर्न आवश्यक विभिन्न सूचकहरू पूरा गर्न सिकाउने, वडा कार्यालयसँग समन्वय गरी सहयोग गर्ने गैरसरकारी संस्था शान्ति नेपालले निकै प्रभावकारी भूमिका खेलेको छ । चर्पी निर्माण, धारा निर्माण, डस्टबिन व्यवस्थापन तथा स्थानीयवासीमा सरसफाइसम्बन्धी जनचेतना फैलाउन शान्ति नेपालको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ । गैरसरकारी संस्थाले पु¥याएको अतुलनीय योगदानप्रति त्यहाँका स्थानीयसमेत खुसी छन् ।
गैरसरकारी संस्था शान्ति नेपालका कार्यक्रम संयोजक दल्जित घर्ती यही भूगोलमा जन्मनुभई ठूलो संघर्षका साथ आफ्नो अध्ययन पूरा गरी विभिन्न गैरसरकारी संघसंस्थाहरूमा कार्यरत रहँदै समाज विकासमा उल्लेखनीय अनुभव बटुल्नुभएको छ । यही भूगोलमा जन्मेर शान्ति नेपालजस्तो संस्थाको कार्यक्रम संयोजकका रूपमा गाउँमै सेवा पु¥याउन पाउँदा उहाँ पनि खुसी हुनुहुन्छ भने स्थानीयवासी पनि उहाँको योगदानप्रति आभारी छन् । गाउँलाई सफा र स्वच्छ बनाउने अभियानमा यस संस्थाले अत्यन्त प्रभावकारी भूमिका निर्वाह गरेको छ ।
स्याँलाखदीमा अवस्थित खदी, पाटागाउँ, स्याँला, पहाडा, रोकाजा र चैतेखारा लगायतका गाउँका स्थानीयवासीमा सरसफाइसम्बन्धी जनचेतना फैलाइएपछि गाउँमा उल्लेखनीय सुधार देखिएको छ । विद्यालयका विद्यार्थीहरू प्लास्टिकका टुक्रा तथा अन्य फोहोरजन्य वस्तु फाल्नका लागि डस्टबिन खोजिरहेका हुन्छन् । यसपटक त मैले खदी गाउँको सडकमा प्लास्टिकजन्य फोहोर कतै पनि देखिनँ । स्थानीयवासीले समेत फोहोर व्यवस्थापनमा विशेष ध्यान दिएको देखियो ।
गैरसरकारी संस्था शान्ति नेपाल लगायत अन्य संस्थाहरूको सहकार्यमा जनचेतनामूलक सूचनाहरू स्थानीयका प्रत्येक घर तथा धारामा टाँसिएका छन् । स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउन सूचनामार्फत अनुरोध गरिएको छ । एउटा गैरसरकारी संस्था र वडा अध्यक्षको सक्रियताले गाउँ नै परिवर्तन हुनु निकै महत्वपूर्ण उपलब्धि हो । यसले अन्य गाउँहरूका लागि पनि एउटा अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ ।
गत जेठ ३१ गते आइतबार आयोजित सफा तथा स्वच्छ वडा घोषणा समारोहमा सहभागी हुने अवसर मिल्यो । आफ्नो गाउँ पालिकाकै पहिलो सफा वडा घोषणा हुँदा मेरो मन गर्वले भरियो । किनकि यो मेरो लागि अत्यन्त खुसीको विषय थियो । अझ बालबालिकादेखि करिब ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकसम्म सरसफाइसम्बन्धी जनचेतना फैलाउने प्लेकार्ड बोकेर ¥यालीमा हिँडिरहेको देख्दा झन् खुसी लाग्यो । किनकि एउटा संस्था र सकारात्मक सोच भएका व्यक्तिहरूको सानो प्रयासले पनि समाजमा सकारात्मक प्रभाव पार्न सक्दोरहेछ भन्ने अनुभूति भयो ।
घोषणा समारोहमा आठविसकोट नगरपालिकाका नगर प्रमुख रवि केसी स्वयं सहभागी भई वडा स्वच्छ तथा सफा घोषणा गर्न योग्य छ कि छैन भन्ने विषयमा अनुगमन गर्नुभएको थियो । वडा नं. ३ का स्थानीयवासीले सरसफाइमा महत्वपूर्ण भूमिका निर्वाह गरी आठविसकोट नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन, २०८१ मा उल्लेखित व्यवहार र सूचकहरू पूर्ण रूपमा कार्यान्वयन गर्न सहयोग पु¥याएकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
नगर प्रमुख रवि केसीले खदी गाउँ स्वच्छ तथा सफा वडाका रूपमा स्थापित हुन योग्य देखिएकाले स्वीकृत गर्दै नगरपालिकाको तर्फबाट प्रमाणपत्रसहित रु. ५० हजार पुरस्कार प्रदान गर्नुभयो । वडा अध्यक्ष केशरमान विकले नगरपालिकाबाट प्राप्त उक्त रु. ५० हजार रकम अझै सरसफाइसम्बन्धी अन्य सूचकहरू पूरा गर्न तथा सरसफाइसँग सम्बन्धित कार्यक्रमलाई थप प्रभावकारी बनाउन सातवटै टोल विकास समितिलाई वितरण गर्ने निर्णय गर्नुभयो ।
यस्ता सकारात्मक व्यक्तिहरू र संस्थाहरूको प्रयासले गाउँ सफा रहँदो रहेछ । स्थानीयवासी स्वस्थ रहँदारहेछन् । अन्य गाउँहरूको तुलनामा सफा गाउँ नमुनाका रूपमा स्थापित हुन सक्दोरहेछ ।
सफा गाउँ निर्माण भएपछि पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्दोरहेछ । एउटा गाउँ सफा र स्वच्छ भएपछि त्यसको प्रभाव देशभर पर्न सक्छ र देशले पनि स्वच्छताको क्षेत्रमा अन्य राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न सक्छ ।
आफैँमा पनि नेपाल पर्यटनका लागि महत्वपूर्ण गन्तव्य देशका रूपमा परिचित हुँदै आएको छ । त्यसैले नेपाललाई सफा र स्वच्छ राख्नु अत्यन्त आवश्यक छ । किनकि वर्षेनी नेपाल भ्रमणका लागि हजारौँ पर्यटक आउने गर्छन् । उनीहरूलाई नेपाल सफा र स्वच्छ देश हो भन्ने सन्देश प्रवाह गर्नु हामी सबैको दायित्व हो। त्यसकारण हामी सबैले यी कुरामा विशेष ध्यान दिनु नितान्त आवश्यक छ । यस सम्बन्धी समाचार पढ्न तलको शिर्षकमा क्लिक गर्नुहोस ।
खदीगाउँ नमुना सफा तथा स्वच्छ वडा घोषणा

