प्रेम प्रशान्त बोहरा
पार्टीले लिएको निति, योजना र कार्यक्रमलाई सफल बनाउनको लागि विचारलाई व्यवहारमा बदल्न, सिद्धान्तलाई भौतिक शक्तिमा रुपान्तरण गर्न, पार्टीलाई जनताको आशा, विश्वास र भरोसाको केन्द्र बनाइराख्न नेतृत्व सवल हुनुपर्छ । अथवा हाम्रा निर्दिष्ट लक्ष्य र उदेश्यहरु लाई प्रगाढ बनाउनको लागि हरेक कार्यकर्ताहरुको माझमा बुझाइ समान, एकरुप र स्पष्ट हुन आवश्यक छ ।
हरेक नेता र कार्यकर्ताहरुको बीचमा आपसमा मित्रवत र कमरेडली सम्बन्ध कायम हुन आवश्यक छ । एकले सबैका लागि र सबैले एकका लागि गर्ने नीति लाई व्यबहारमा प्रयोग गर्न आवश्यक छ । हरेक अप्ठ्याराहरुमा एकअर्कोले मद्दत गर्ने संस्कृति बसाउन आवश्यक छ । स्वच्छ प्रतिस्पर्धाको निति बनाउनुपर्छ तर प्रतिस्पर्धाको नाममा एकले अर्कोलाई अस्वीकार गर्ने पुरानो रोगको अन्त्य गरि स्वीकार्यताको भावनाले ओतप्रोत हुँदै कामकाजमा एकरूपता र ऐक्यबद्धताका साथ सहभागी हुन जरुरी छ ।
एउटा चरणमा पार्टी र संगठनमा संगठित हुने बिस्तारै फलानो पार्टी र संगठनले केहि गरेन, नेतृत्वले केही गरेन, पार्टीले मलाई सहयोग गरेन आदि–इत्यादि भन्दै पार्टी र नेतृत्वलाई सत्तोसराप गर्दै आफ्नो निजी जीवनमा फर्कने र पार्टी बदल्नेहरुको पनि उत्तिकै चाङ छ । ती मान्छेहरू अन्तरमन बाट कहिलै समाज र मानव कल्याणको निम्ति थिएनन् र हुँदैनन् । उनीहरु पार्टी र आन्दोलनमा आफ्नो निजी स्वार्थ पुर्तिको निम्ति सहभागी हुने गर्दछन भने त्यो कित्ताका केहि मान्छेहरू फेरि सिघ्र र सहज विजय र परिणामको अपेक्षा गर्ने र त्यसो नहुँदा निरास भएर पलायन हुने प्रकृतिका हुन्छन् । माथी उल्लेखित दुई फरक प्रकृतिका पात्र र प्रवृत्तिलाई हामीले हल गर्ने तरिका क्रमशः निजी स्वार्थ बाट अभिप्रेरित अवसरवादलाई समयमै चिन्ने र त्यसलाई बिस्तारै निरुत्साहित बनाउँदै जानुपर्छ । दोस्रो क्रान्ति र परिवर्तनको प्रक्रिया निकै कठिन र एउटा समयक्रम लिने हुन्छ भन्ने बुझाइ निर्माण गर्न धैर्य र लगनशील बनाउन निरन्तर स्कुलिङ र प्रशिक्षण संचालन गरिरहनुपर्छ । पार्टी भित्र प्रायः कचिंगल गर्नेहरू आक्कलझुक्कल बैठकमा सहभागी हुने, एकाध कार्यक्रममा मात्रै सहभागी हुने, सक्रिय र गतिशील सहयोद्वाहरुको कुरा काट्ने, आफू राम्रो भएको भान पार्ने, भाँडभैलो हुने प्रसंग कसैले उठाइहाल्यो भने हो– मा हो मिलाउने र त्याग र बलिदान बाट आएका र निरन्तर पार्टी, क्रान्ति र आन्दोलन प्रती समर्पित, इमानदार र गतिशील कमरेडहरुको सम्मान नगर्ने, नवीनतम उर्जा र सम्भावना बोकेर आएको नयाँ पुस्तालाई जिम्मेवारी दिन हिच्किचाउने तथा उनीहरुको क्षमता र सम्भावनालाई नजरअन्दाज गर्ने प्रवृत्तिलाई हामीले समयमै बुझ्ने र त्यसलाई रुपान्तरण गर्दै जानुपर्ने हुन्छ । यदि रुपान्तरणको सकारात्मक सम्भावना नदेखिएपछी त्यस्तो प्रकृतिका पात्र र प्रवृत्तिलाई हामीले निरुत्साहित गर्दै पार्टी र क्रान्तिलाई सुदृढीकरण र शुद्धिकरण गर्दै जाने दायित्व हरेक क्रान्तिकारी संगठन र पार्टीको हुनुपर्छ । अतः निजी स्वार्थ बोकेकाहरु जति मीठो भाषण गरेपनी, जति राम्रो लेख र रचनाहरु प्रकाशित गरे पनि, जति खटनपटन गरेपनि अन्ततोगत्वा पार्टी र क्रान्तिको बदनाम र अहित गर्ने कित्तामा उभिन्छन ।
राजनीतिक कार्यकर्ताहरु कुनै निजी स्वार्थ नराखेर आफ्नो प्रतिबद्धतामा, समाज परिवर्तन र मानवहितको पक्षमा, पुरानो र मानवहित विपरीतका संरचनाहरु भत्काउँदै नयाँ सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक तथा सांस्कृतिक संरचना निर्माणको निम्ति लागिरहनुपर्छ । उत्पीडित जाती, समुदाय, वर्ग, क्षेत्र, लिङ्ग र सम्प्रदायका जनताको हित र अधिकारलाई केन्द्रमा राख्ने, शोषित तथा राष्ट्र र जनता विरोधीहरुका विरुद्ध घृणा र विरोध गर्ने नेताकार्यकर्ताको पङ्तिले मात्रै क्रान्तिकारी कम्युनिस्ट पार्टीको उदेश्यलाई पूरा गर्न सक्छ । तसर्थ हामीले इमानदार, प्रतिबद्ध, सामाजिक र राजनीतिक भावनबाट लयस, क्रान्तिकारी, जुझारु र क्षमतावान पङ्तिको विश्वास गर्ने, उनीहरुलाई जिम्मेवारी प्रदान गर्ने, उत्साहित गर्ने र समस्याहरुमा सहयोग गर्ने गर्नुपर्छ । नयाँ पिढीको भविश्य र नयाँ समाज निर्माणको निम्ति हामीले त्यस्ता कार्यकर्ताहरुको दस्ता निर्माण गर्नैपर्छ ।
हरेक कार्यकर्ताको पहिलो दायित्व सामाजिक र राजनीतिक सचेतना, जागरण र रुपान्तरण हो । हरेक (दलिय व्यवस्था–एक दल वा बहुदल)मा राष्ट्र निर्माण र जनताको सुख र खुशीको संवाहक राजनीतिक दल हुने गर्दछ । त्यसो हुँदा त्यो कुरा स्पष्ट भएन भने पार्टी निर्माणको बहस र पैरवी गर्दा अहिले स्वतन्त्र भन्न रुचाउने कथित स्वतन्त्र नामधारीहरुको चित्त नदुखोस भनेर स्पष्ट पार्न खोजेको ।) उनीहरुको दोस्रो कर्तव्य पार्टी निर्माणको हो । तेस्रो पार्टी निर्माणको निम्ति चाहिने निति र नेतृत्वको निर्माण, विकास र रक्षा हो।चौथो जनता र नेताको सेतु(पुल)को काम गर्नु हो अर्थात नेतालाई जनता सँग जोड्ने र जनताका समस्यालाई पार्टीमा केन्द्रित गर्नु हो । पाँचौं पार्टीले लिएका नितिहरुको कार्यान्वयनको निम्ति आफ्नो सामर्थ्य, शक्ति र क्षमताको उच्च प्रयोग गर्नु हो । छैटौं निरन्तर एउटा प्रक्रियामा आफुलाई नेतृत्वको निम्ति तयार गर्दै लैजानु हो।सातौं पार्टी नितिको व्यापक प्रचारप्रसार गर्नु । आठौं पार्टीको व्यवस्थापकीय र प्राविधिक काम गर्नु हो।सारतः पार्टी कार्यकर्ताको काम भनेको समयको उच्च सदुपयोग गर्दै पार्टी निर्माणको निम्ति बौद्धिक र शारीरिक श्रममा सहभागी हुनु हो।यसमा आजको पुस्ताले आजको दुनियाँलाई कन्ट्रोल गर्न उच्च तहबाट सूचना र संचारमा आफ्नो प्रभाव कायम गर्न अत्यावश्यक छ ।
हामीले अघिल्लो पुस्ताको कार्यकर्ताको एउटा तप्कालाई हे¥यौं भने आफ्नै उमेरको, आफू सँगै खेलेको, सँग पढेको साथी जसले जागिर ग¥यो, जसले व्यवसाय ग¥यो वा जो विदेशमा गएर पैसा कमायो उ सँग प्रशस्त पैसा छ, छोराछोरीलाई राम्रोसँग पढाएको छ आर्थिक हिसाबले मजबुत छ । अर्को सहयात्री लामो समय सँग आन्दोलनमा सहभागी भयो, जनतालाई सडकमा ल्याएर सडकको जनता सँग सौदाबाजी गरेर शासनसत्तामा पुग्यो उसको पनि जीवन आलिसान देखिन्छ । तर एउटा इमानदार र क्रान्तिकारी तप्का छ जसले आजपर्यन्त कुनै निजी कुराको लोभ गरेको छैन । निरन्तर जनताको मुक्ति र परिवर्तनको आवाज उठाइरहेको छ । सामाजिक र राजनीतिक जागरणको अभियानमा नयाँ पुस्तालाई समेत जोड्दै निरन्तर लागिरहेको छ । आज पनि समाजमा सानो आशा, सपना र क्रान्तिको झिल्को बालिरहेको छ । हामी त्यही झिल्कोमा तेल थप्नु छ र लगाइदिनु छ पुरानो सत्तामा त्यही झिल्कोले डढेलो र बनाइदिनु छ खरानी सबै पुराना मानवहित विरोधी सामाजिक संरचनाहरु, मुल्यमान्यता र संस्कृतिलाई र शुरु गर्नु छ हुर्काउन बैज्ञानिक समाजवादको बिरुवा !!
जसले भोलिको यो देशको विकास र समृद्धिको चित्र कोर्न सकोस्, सगरमाथाको देशबाट नागरिकहरुको शिर विश्वसामु सगरमाथा झैँ ठाडो बनाउने चिन्तन गरोस्, वर्तमानको मुर्दा शान्ति होइन बुद्धको देशबाट जनताको जीवनमा वास्तविक शान्ति फैलाउन सकियोस्, सिताको जन्मभुमिमा जीवन गुजारा चलाउन यौवन बेच्ने वर्तमानको बाध्यता बाट हाम्रा नारीहरुलाई मुक्त बनाउन सकियोस्, सधैं स्वाभिमान र स्वाधीनताको गौरवशाली इतिहास बोकेको हाम्रो देश वर्तमानमा भित्रभित्रै विदेशीको पन्जामा परेको तितो यथार्थ बाट मुक्त गरि स्वाधिन राष्ट्र र स्वाभिमान जनता भएर बाँच्न सकियोस् ।
त्यस्तै युवाहरूलाई यहीँ रोजगारीको वातावरण सिर्जना गर्न सकियोस्, मजदुरले मजदुरी र सेवासुविधा पाओस्, किसानले मल र बीउ समयमै पाओस्, उत्पादन गरेको अनाजको बजार पाओस्, बिमा र पेन्सनको राज्यले ग्यारेन्टी गरोस्, हरेक बालबालिकाले उच्च शिक्षासम्म निशुल्क, समान र बैज्ञानिक शिक्षा पाउने वातावरण निर्माण गर्न सकियोस्, उच्च शिक्षा पढ्ने विद्यार्थीहरुको लागि पढाइ सँगै कामको व्यवस्था गर्न सकियोस्, कोही पनि मान्छे पैसा नभएको कारण उपचार नपाएर मृत्युवरण गर्न नपर्ने वातावरण निर्माण गर्न सकियोस्, हरेक जाती, समुदाय, लिङ्ग, धर्म, वर्ण र वर्गका मान्छेहरूको बीचमा समानता कायम गर्न सकोस्। सुशासनको जग बसोस । हरेक मान्छेले यहि देशको माटोमा आफ्ना सपनाका बीउ रोप्न, फुल फुलाउन र फल फलाउन सकोस् !! वैज्ञानिक समाजवाद जिन्दावाद !!