रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धिरन सिर्पाली विमर्सले वडामा सुत्केरी हुने महिलाहरुलाई सुत्केरी स्याहार खर्च प्रदान गर्दै आएका छन । उक्त सुत्केरी स्याहार खर्च वडा तथा अन्य कुनै सरकारी निकायको नभएर ब्यक्तिगत रुपमा प्रदान गर्दै आएका छन ।
उनले आफु वडा अध्यक्षमा निर्वाचित भएर पदभार ग्रहण गर्दा जनतासंग गरेको घोषणा र प्रतिवद्धता अनुसार गाउँमा कोहि महिला सुत्केरी हुँदा घरमै पुगेर सुत्केरी स्याहार खर्च स्वरुप ३ हजार रुपैयाँ ब्यक्तिगत रुपमा प्रदान गर्दै आएका छन । यसअघि सरकारले नियमित गर्भजाँच तथा स्वास्थ्य संस्थामा बच्चा जन्माउदा सुत्केरीलाई नियमअनुसारको रकम तथा लत्ता कपडा दिने गरेको भएपनि उनले ब्यक्तिगत रुपमै सुत्केरी स्याहार खर्च दिने काम अभियानमै रुपमा चलाएका हुन । आफु निर्वाचित भएर पदभार ग्रहण गरेदेखि हालसम्म ३३ जना सुत्केरी महिलाहरुलाई उक्त रकम प्रदान गरिएको उनले बताए । उनका अनुसार पछिल्लो पटक मुसिकोट नगरपालिका १२ जमारु लक्कु डाडा बस्ने खिमा बिकलाई सुत्केरी स्याहार खर्च बाफत ३ हजार रुपैयाँ हस्तान्तरण गरेका छन । मुसिकोट नगरपालिका १२ जमारुकी खिमा विकले उक्त सुत्केरी स्याहार रकमले सुत्केरीको समयमा पोसिलो खानेकुरा तथा न्यानो लत्ता कपडा जुटाउनको लागि सहयोग पुग्ने भन्दै वडा अध्यक्षलाई धन्यवाद समेत ब्यक्त गरिन ।
उक्त सुत्केरी स्याहार खर्च प्रदान बाट गरिब तथा विपन्न परिवारलाई निकै राहत पुगेको छ । ‘मैले चुनावको बेला घोषणा गरे अनुसारको कुरा कार्यन्वयन गरेको हुँ’ वडा अध्यक्ष सिर्पालीले भने, ‘स्वास्थ्यकर्मी सहितको टिम सुत्केरीको घरमै पुगेर आमा र बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र आवश्यक सुझाब सल्लाह दिनुका साथै उक्त रकम पनि हस्तान्तरण गर्दै आएको छु ।’ त्यस्तै मुसिकोट नगरपालिकाका अन्य वडाहरुले पनि व्यक्तिगत तथा वडाबाटै कार्यक्रम बनाएर पनि सुत्केरी स्याहारका लागि सहयोग गर्दै आएका छन ।
मुसिकोट नगरपालिका वडा नम्बर १३ ले पनि असल आमा सुत्केरी स्याहार कार्यक्रम सञ्चालन गरिरहेको छ । वडा अध्यक्ष खल बहादुर खड्काका अनुसार वडाले उक्त कार्यक्रम मार्फत सुत्केरी स्याहार खर्च र न्यानो कपडा प्रदान गर्दै आएको छ । वडा कार्यालयले कार्यक्रम बनाएर आफ्नो वडामा हुने सुत्केरीलाई घरमै पुगेर सुत्केरी स्याहार रकम स्वरुप १ हजार नगद र न्यानो कपडा प्रदान गर्दै आउको छ । हालसम्म तीन दर्जन बढी सुत्केरी महिलाहरूलाई उक्त रकम प्रदान गरिसकिएको छ । ‘आमा र बच्चाको स्वास्थ्यको लागि वडा कार्यालयले सबै सुत्केरी महिलाहरुलाई उक्त रकम र न्यानो कपडा प्रदान गर्छ’ उनले भने ।