रुकुम पश्चिमका विभिन्न क्षेत्रमा अझै पनि घरमै सुत्केरी हुने गरिएको पाइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका विभिन्न गाउँबस्तीहरूमा अझै पनि घरमै सुत्केरी हुने गरिएको पाइएको हो । चालु आर्थिक वर्षको साउन देखि जेठ मसान्त सम्म १४ जना महिलाहरू स्वास्थ्य संस्था नगएर घरमै सुत्केरी भएका छन । चालु आर्थिकको ११ महिनामा सुत्केरी भएका जम्मा तीन हजार ५१ महिलाहरू मध्य १४ जना घरमै सुत्केरी भएको तथ्याङ्कबाट देखिएको हो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका डा. शुसिल पोखरेलका अनुसार नागरिकमा अझै सचेतनाको कमीको कारण घरमै सुत्केरी हुने र बनाउने संख्या रहेको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा आमा बच्चाको स्वास्थ्यमा राम्रो सँगै प्रोत्साहन स्वरुप सरकारले रकम र अन्य सुविधा समेत प्रदान गर्दै आएको भएपनि अशिक्षा तथा चेतनाको कमीले त्यस्तो समस्या रहेको हुनसक्ने उनको भनाई छ । केही दिन अघि जिल्ला स्थित सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले त्यसका लागि संचार जगतले प्रचारप्रसार गरेर आम नागरिकको मनमनमा सन्देश पु¥याउन जरुरी रहेको बताए । ‘सुत्केरीको लागि सरकारले उच्च प्राथामिकता राखेर हेलिकप्टर चार्टर देखि अन्य प्रोत्साहनमूलक कार्यक्रमहरू राखेको छ’ उनले भने, ‘यस्तो सुविधा हुँदा हुदै पनि अझै घरमै सुत्केरी बन्नु/बनाउनु आमा र बच्चाको स्वास्थ्यमा जोखिम गराउनु हो ।’ उनका अनुसार पहिलेको तुलनामा अस्पताल गराउने महिलाहरूको संख्या बढेपनि घरमा गराउने सुत्केरी संख्या शून्यमा झर्न नसकेको हो । कार्यालयको तथ्यांक अनुसार पछिल्लो तीन आर्थिक बर्षमा ३० जना महिलाको घरमै उत्केरी भएको छ । जसमा आर्थिक वर्ष २०७७÷७८ मा ११ जना र आर्थिक वर्ष २०७८/७९ मा ५ जना रहेका छन । चालु आर्थिक वर्षको ११ महिनामा अघिल्लो आर्थिक वर्षको भन्दा घरमा सुत्केरी हुनेको संख्या दोब्बर भन्दा बढी १४ जना रहेको छ ।
स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी कालिबहादुर ओलीका अनुसार चालु आर्थिक वर्षमा स्वास्थ्य संस्थामा सुत्केरी भए मध्य १ सय ७७ जनालाई अप्रेसन गरेर सुत्केरी गराइएको थियो भने अन्य सामान्य सुत्केरी हुने महिलाहरू रहेका छन । रुकुम पश्चिममा २४ वटा अस्पताल तथा स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा सुत्केरी गराउने सुविधा छ । जसमा जिल्लाको चौरजहारीमा रहेको चौरजहारी सामुदायिक अस्पतालमा सबैभन्दा बढी सुत्केरी हुने गरेका छन । चालक आर्थिक वर्षको साउन देखि जेठ मसान्तसम्म चौरजहारी अस्पतालमा ८ सय २९ जना सुत्केरी भएका छन । त्यस्तै जिल्ला अस्पताल सल्लेमा ७ सय ४१, आठविसकोट अस्पतालमा ३ सय १४, सानोभेरी अस्पतालमा १ सय ७३ र सहिद स्मृति अस्पताल चौरजहारीमा ९९ जना महिलाहरू सुत्केरी भएका छन । चालु आर्थिक वर्षको असार महिनामा हुने सुत्केरीको तथ्यांक नआइसकेका कारण सुत्केरी हुनेहरूको संख्या अझै बढ्नसक्ने बताईएको छ ।
स्वास्थ्य संस्थामा सुत्केरी नबनाउँदा आमा बच्चाको तत्कालीन स्वास्थ्यमा समस्या हुने देखि दिर्घकालिन रुपमा समेत आमाको स्वास्थ्यमा समस्या देखिने चिकित्सकहरू बताउँछन । पाठेघर खस्ने समस्या देखि अन्य संक्रमणहरु हुनसक्ने जोखिमहरु हुने गरेको छ । महिला पुनःस्थापना केन्द्र आरेक नेपालले पनि घरमा हुने सुत्केरी रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ । गाउँटोलमा आमा तथा युवा समूहहरू मार्फत स्वास्थ्य संस्थामा सुत्केरी बनाउँदा हुने फाइदा र घरमै सुत्केरी बनाउँदा हुने जोखिमहरूको बारेमा सचेतना फैलाउने काम गरिएको जिल्ला कार्यक्रम संयोजक गीता धितालले जानकारी दिइन । उनका अनुसार संस्थाले पाठेघर खस्ने समस्या देखि सुरक्षित रुपमा सुत्केरी नहुँदा हुने फिस्टुला जस्ता समस्याहरूको पनि बेलाबेला शिविर आयोजना गरेर चेकजाँच, उपचार, सल्लाह तथा रिफर समेत गर्दै आएको छ ।
