पूर्वमन्त्री तथा रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकर नागरिकका समस्या बुझ्न गाउँगाउँमा निस्किएका छन । चुनाव प्रचारको झल्को दिनेगरी उनी अहिले रुकुम पश्चिमका नागरिकका गाउँ देखि घरटोलमा पुगेर समस्या बुझ्ने, सुझाव लिने देखि चालु तथा अलपत्र रहेका विकास आयोजनाहरूको अनुगमन समेत गरिरहेका छन ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका शर्मा पार्टीको जिल्ला समितिको बैठकका लागि जिल्लामा आएका थिए भने त्यस लगतै एक हप्ताको कार्यक्रम बनाएर गाउँ निस्किएका हुन । जिल्लाका सबै स्थानीय तहमा पुग्ने गरी जनभेटघाट तय गरिएको छ भने मुसिकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र चौरजहारी नगरपालिकाका विभिन्न गाउँटोलमा पुगेर नागरिकसंग छलफल, अन्तरक्रिया र समस्याबारे जानकारी लिएका छन । उनीसंगै नेकपा माओवादी केन्द्रका अन्य केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिका स्तरका नेता कार्यकर्ताहरू पनि परिचालन गरेका छन ।
उनले बाँफिकोट गाउँपालिकाका झुलाठाँटी, छिन्खेत, पिपल, लागिम लगायतका ठाउँमा जनभेटघाट गरेको छन । त्यस्तै रातामाटा–राउखेत–घ्युखोला–मध्यपहाडि लोकमार्ग र निर्माणाधीन गाराघाट पुलको निरीक्षण गर्ने देखि छिटो निर्माण पहल गरेका छन । त्यस्तै उनले जिल्लाको चौरजहारी नगरपालिका विभिन्न टोलमा पुगेर पनि जनतासँग छलफल गरेका छन । शर्माले जनभेटघाट गर्न बाँकी रहेका जिल्लाका सबै पालिकासम्म पुग्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोकाले जानकारी दिए । उनका अनुसार जनताका पीर मर्का बुझ्न, सुझाव लिन र चालु अवस्थामा रहेका आयोजनाहरूको अनुगमनका लागि समेत पूर्व मन्त्री शर्माले जनभेटघाट थालेका हुन ।
