कर्णबहादुर नेपाली
१.पृष्ठभुमीः
नेपालीमा एक उखान छ मामाको बारीमा साग छ, भान्जीको के लाग्छ । विद्यमान नेपाली समाजलाई नियाल्ने हो भने कतै यसै विषयसँग अन्तरसम्बन्ध भए जस्तो लाग्छ । नेपालको समकालीन अवस्थालाई हेर्दा हामी नेपालीहरु लगभग सबैजसो उपभोग्य समानका लागि आयातित वस्तुहरुमा नै भरपर्नु परेको अवस्था देखिन्छ । पहिलो कुरा त नेपाली उत्पादन नै वृहत रुपमा छैन तर पनि कहिँकतै उत्पादन भएका सामग्रीहरुको समेतको बजारीकरण छैन । नेपाली उत्पादनले आयातित उत्पादनसँग प्रतिस्पर्धा गर्न सकेको छैन । त्यसकारण हामी र हाम्रो देशमा भएका राजनीतिक दलहरु वा सरकार सञ्चालनमा बसिरहेका व्यक्तिहरुको यस्तो अवस्था छ मानौं श्वास फेरिरहेका लासहरु हुन् । मानव हुन् तर हातखुट्टा बाँधिएका र मुखमा सिक्री लगाईएका व्यक्तिहरु हुन् किनभने नागरिकहरुको आवश्यकता एकातिर छ, आपुर्ति अर्कैतिर भईरहेको छ । सरकारको आ.व.०७९÷०८० को बजेटमा समेत निर्यातलाई बढाउने भनी नीति तथा कार्यक्रममा उल्लेख गरिएको भएतापनि खासमा नीति कार्यक्रम अनुसार कार्यान्वयनमा प्रभावकारीता आउन सकेको छैन ।
यस्तो खालको नेपालको उत्पादन र यसको बजारीकरणले खासमा प्रत्यक्ष नकारात्मक असर बेहोरिरहेका नेपाली जनतालाई निरीह अवस्थामा देख्नुको कुनै विकल्प नै छैन । नेताका ओठे देशभक्तिका भाषणहरु सुन्ने अनि समस्या समस्यै भित्र रहने यही नै नियति बनेको छ । प्रत्येक नेपालीहरुको प्रभावकारी रुपमा चुल्हो बल्न सकेको छैन, बजारमा महँगी छ तर सडकमा किसानहरुले उत्पादित तरकारीहरु फ्याँकिरहेका छन् यो भन्दा ठुलो चुनौति समाजवाद उन्मुख सरकारका लागि के हुन्छ ? के यही हो एक देशले आफ्नो देशको समृद्धिका लागि बनाएको संविधानको प्रतिफल ? यो कुराहरु शासन सत्तामा रहने व्यक्तिहरुले बुझ्नु पर्छ कि कसरी देशलाई आर्थिक समृद्धि र दीगो शान्तिको बाटोमा लैजाने ? यो देशलाई हाँकिरहेका नेताका मुखारविन्दुबाट उच्च देशभक्ति वा स्वाधीनताका चर्का भाषणहरु सुनिरहँदा, जति मजा लाग्छ, त्यो भन्दा कैयौं गुणा दुःख हामीले आफ्नो उत्पादन प्रणाली र उत्पादन सम्बन्ध लाई सुधार नगरेकोमा लाग्नु पर्ने हो । गरिबहरु दिनानुदिन गरिबहरु बन्दै जाने र देश नै असफल बन्ने अवस्थामा पुग्ने हो भने राज्यले उपलब्ध गराउने आधारभुत अधिकारहरु समेत दिन नसक्ने हो भने किन चाहियो राज्य ? किन चाहियो नेतृत्व ? सबैभन्दा मुख्य कुरा देशको मुल नेतृत्व नै मुख्य कुरा हो । जब एक दूरदर्शी नेताले सपना देख्छ र त्यो सपना सम्पुर्ण देशबासीलाई बराबर तरिकाले सहभागीतामुलक तरिकाले आदानप्रदान गर्छ र अपनत्वको विकास हुन्छ भने मात्र चाहिन्छ नेतृत्व, देश आफैले केही गर्ने भन्दा पनि राज्यसत्तामा आसीन व्यक्तिहरुले यसको बारेमा नबुझेसम्म केही हुँदैन । मात्र हुन्छ कि नेपाली उखान जब भयो राती अनि बुढी ताती जस्तो ।
यस्तो खालको अवस्थामा आत्मनिर्भर अर्थतन्त्रका लागि एक मात्र उपाय भनेको स्थानीय आर्थिक वृद्धिलाई जोड गर्नु साथै उक्त उत्पादित वस्तुहरुको पनि मुल्य श्रृंखलामा आधारित बजारीकरण गर्न सक्नुपर्छ ।
२. स्थानीय आर्थिक विकास कसरी हुनसक्छ आत्मनिर्भर अर्थतन्त्रको आधार
स्थानीय आर्थिक विकास भन्नाले विशेष गरी प्रतिस्पर्धी वस्तुको पहिचान मार्फन स्थानीय रैथाने उत्पादन, ती वस्तुहरुको ब्रान्डिंग र बजारीकरण गरी समुदायको आर्थिक अवस्थामा सुधार ल्याउनु हो । जब हामी स्थानीय रैथाने तथा परम्परागत उत्पादनको आधुनिकीकरण, प्रविधिकरण, उद्यमशीलता मार्फत मुल्य श्रृंखलामा जोड्न सकियो भने त्यसलाई दिगो स्थानीय आर्थिक विकास भनिन्छ । मानौ यसकालाई पहिलो आवश्यकता भने स्थानीय स्तरको अनुसन्धान हो । स्थानीय सरकारले व्यवस्थित अनुसन्धान मार्फत हाम्रो क्षेत्रका सम्भावना र अवसरहरु के के हुन् ? के बाट धेरै फाईदा लिन सकिन्छ । कुन वस्तुको उत्पादनलाई प्रविधिकरण गर्ने ? उद्यमशीलता मार्फत साना तथा घरेलु उद्योगहरुलाई कसरी प्रवद्र्धन गरी एक घर एक रोजगारीमा लिने भन्ने कुराको वृहत र वहुक्षेत्रगत अनुसन्धान हुन जरुरी छ । स्थानीय स्तरमा नै उद्यमशीलता, वा उद्योग निर्माणा गरी कसरी रोजगारी श्रृजना गर्न सकिन्छ भन्ने कुरा पहिलो विषय हो । हामीले निर्माण गर्ने योजनाहरु कसरी एकीकृत र दिगो तथा आत्मनिर्भर बन्न सक्ने खालका हुन सक्छन् । यी पक्षहरुमा सृजनात्मक र नवपवर्तनका हिसाबले प्रभावकारी पहल लिनुपर्छ । अर्को कुरा विकासमा अहिले प्रयोग हुँदै आएको शब्द हो अन्तरनिर्भर , यसको मतलब हुन्छ कुनै पनि व्यक्ति आफु एकलै आत्मनिर्भर हुन सक्दैन किनभने उसलाई आवश्यक पर्ने आधारभुत कुराहरु आफु एक्लैले पुरा गर्न सक्दैन । त्यसकारण राज्यको स्तरमा आउँदा समेत यो अन्तरनिर्भर भन्ने शब्दको प्रयोग गर्दा पनि अन्यथा हुन सक्दैन किनभने संसारमा भएका सबै देशहरु पनि आफु एक्लै सबै आवश्यक वस्तुहरुको परिपूर्ति गर्न नसक्ने हुन सक्छ । त्यसरकाण पनि आत्मनिर्भर उन्मुख हुनका लागि राज्यले नै पहल गरेको हुनुपर्छ । हाम्रो देश नजिकै रहेको विहार हिजोको अवस्था भन्दा धेरै विकास भएको छ एक जना साथीले भन्नुहुन्थ्यो नेपालका नेताहरुको भ्रमण विहारमा हुँदा त्यहाँका मुख्य मन्त्री नितिशकुमारलाई प्रश्न सोधेछन् कि कसरी विहारलाई यस्तो सबल अवस्थामा पुरयाउनु भो उनको एक मात्र जवाफ थियो रे विधिको शासन ।
अहिले समयमा नेपालको आर्थिक वृद्धिको हालत के छ यहीबाट मात्र बुझ्न सक्छौ कि हाम्रो देशको विद्यमान अवस्था कस्तो छ ? हामी कस्ता देशका नागरिक हौं भलै हाम्रो देश प्राकृतिक हिसाबले सबल छ , देशलाई समुन्नत बनाउन सम्भावनाहरु छन् तर हाम्रो अवस्था हेरौं, हामी यति धेरै परनिर्भर भईसक्यौं कि सामान्य कुरामा पनि हामी अरुको भर पर्नुपर्ने हुन्छ । हाम्रो देश बीरहरुको देश हो , प्राकृतिक छटाले भरिपुर्ण देश हो, प्रशस्त नदीनालाहरु भएको देश हो । आहिले आएर त कस्तो भयो जो सँग धन छ तर उसको नाम धनबहादुर होईन । हामी नेपालीहरु वा नेपालराज्यलाई नेतृत्व गर्नेहरु त छेपारा जस्ता जसको उपयुक्त योजना नभएका, दुरदृष्टि नभएका, नीति तथा नियमहरु आफ्नो आवश्यकता भन्दा पनि अरुले भनेको भरमा बनाउने जस्ता भयौं । अरुलाई थुप्रै भन्न सक्ने तर त्यसलाई व्यवहारमा उतार्न नसक्ने । सरकारका नीति तथा कार्यक्रमहरुमा पनि विचौलियाहरुको हालीमुहाली हुने उनीहरुलाई फाईदा हुने मात्र कार्यक्रमहरु सरकारले ल्याउनुपर्ने जस्ता विविध निरीहता भईरहेको छ । हाल विश्व नै एक घर जस्तो भएको अवस्थामा हामी आफैले किन हाम्रो देशलाई आत्मनिर्भर बन्ने प्रक्रियामा लिन सकेनौं, यसबारेमा हामीले गहिरो गरी अध्ययन नगरीकन, यी र यस्तै राजनीतिक भाषणले त देशलाई प्रगति तिर होईन अधोगति तिर लिएर जान्छ । खासमा भन्दा हाम्रो सबलता के हो, हामी कुन धरातलमा टेकेर देशको समृद्धि यात्रामा लागिरहेका छौं । एक जना विद्धान Reshabeth Moss Keuter ले भन्नुभएको छ ः The world is becoming a global shopping mall in which ideas and produces are available everywhere at the same time. यो एउटा भनाई त हो तर हामी आफैमा आत्मनिर्भर नभएसम्म सधै अघोषित रुपमा हस्तक्षेप नै बेहोर्नुपर्ने हुन्छ ।
३. आत्मनिर्भर अर्थतन्त्रको विकास कसरी गर्ने ?
हामी सामान्य रुपमा हाम्रै एउटा गाउँको उदाहरण लिऊँ , पहिले पहिले नेपालीहरु मौसमी कामका लागि भारतका विभिन्न ठाउँहरुमा मात्र जाने गर्दथे , त्यसको कारण हो खुला सिमाना । पछिल्लो समयमा यही विश्वव्यापीकरणका विभिन्न कुराहरुले गर्दा विश्वका अन्य देशमा पनि मजदुरीका रुपमा नेपालीहरु काम गर्न थाले र अहिले आएर हेर्ने भने झण्डै स्वस्थ युवाहरु सबै विदेशमा छन् नेपालबाट औसतमा १५०० जना विदेश जान्छन् तिनीहरु एकातिर ऋण लिएर जान्छन् अर्कोतिर उनका परिवारका सदस्यहरु विशेष गरी श्रीमति गाउँ छाडेर सदरमुकाम आउँछन् । उनीहरुले नत परम्परागत रुपमा गर्दै आएको पेशालाई खेतीपाती समेत चटक्क छोड्छन् भने अर्को सदरमुकामतिर बस्ने अनि पुरा भर विदेश गएको व्यक्तिमा पर्ने कुराले उनीहरुको उत्पादन सम्बन्धलाई विच्छेद गरिदिन्छ । अनि रेमिट्यान्सबाट चलेको यो देश कसरी आत्मनिर्भर हुन सक्छ । नेपाल एक कृषि प्रधान देश हो । मानिसहरु कृषिलाई आधुनिकीकरण गर्नु वा यसको विस्तारिकरण गरी व्यवसायिकरण गर्ने विषय एकादेशको कथा जस्तै भयो अनि कसरी हुन्छ देश आत्मनिर्भर ? देशलाई आत्मनिर्भर बनाउने बाटो होईन सधै कसरी अस्थिर बनाईराख्ने भन्ने राजनितिक दलका व्यक्तिहरु हुनुहुन्छ कसरी हुन्छ आत्मनिर्भर ? त्यसकारण मेरो विचारमा आत्मनिर्भर अर्थतन्त्र विकासकालागि केही उपायहरु अपनाउन सकिन्छ ?
यसका लागि पनि धेरै विषयहरु उठान गर्नुभन्दा पनि खासमा आत्मनिर्भर अर्थतन्त्र विकासका लागि पहिलो कुरा त सम्भावनाहरुको खोजी गर्ने जस्तै हामीले विभिन्न दस्तावेजहरुमा अध्ययन गर्छौ कि हाम्रो देशमा पर्यटनको सम्भावना छ, विद्युत उत्पादन, प्राकृतिक श्रोतको अधिकतम वैज्ञानिक परिचालन, श्रोतको प्रयोग तथा त्यसको उपयुक्त वितरण प्रणाली प्रावधान एवं कृषिको आधुनिकीकरण र राज्यको नेतृत्वमा गरिने विकास भएमा केही मात्रामा भएपनि अर्थतन्त्रको विकासमा योगदान पुग्न सक्छ । हामीले वि.सं. २०६८ को जनगणनालाई अध्ययन गर्ने हो भने जनसंख्याको ५७ प्रतिशत सक्रिय जनसंख्या छ जुन एक शताब्दीमा एक पटक आउँछ । यसलाई मात्र ध्यान दिने हो भने राज्यले जनशक्ति परिचालनका लागि एक गुरुयोजना नबनाए अवको २५ वर्षमा फेरि वृद्ध वा बालबालिकाहरुले देशको जनसंख्याको अधिक हिस्सा लिनेछन् र विकासको गति पछि पर्ने छ ।
आत्मनिर्भर अर्थतन्त्रका लागि पहिलो कुरा त किन हामी परनिर्भर भयौं भनी जनचेतनाको विकास र जनतालाई श्रमसँगै जोड्ने, उत्पादन गरेर मात्र खानुपर्छ भन्ने मान्यता, शिक्षित वा अशिक्षित युवाजनशक्तिलाई कृषि तथा पशुपालनको आधुनिकीकरण गरी संलग्नता गर्ने, पेशाको सम्मान, जुन पेशा गर्छ त्यसको आधुनिकीकरण, राज्यले बजारीकरणको ग्यारेन्टी, अनिवार्य रुपमा एक घर एक उद्यमको व्यवस्था, हाम्रा उत्पादन प्रणालीलाई प्रविधिकरण, आधुनिक प्रविधिसँग व्यापक सम्बन्ध विस्तार, हामीसँग जुन पेशा छ त्यसको व्यापकता र जो व्यवसायमा संलग्न छ, उसलाई आधुनिक वजारीकरण सीप अभिवृद्धि, नयाँ प्रविधिसँगको निकटता जस्ता विषयलाई एकाकार गर्न सकियो भने आत्मनिर्भर हुन सकिन्छ । यस सँगै नैतिकता र सदाचार पनि जरुरी छ , मानिसहरु अमेरिका जानेको ठुलो ताँती छ, यसमा हेर्यो भने सरदर ५० लाख खर्च वा लगानी गरेर जान्छन, त्यहा गएर पनि कमसल दर्जाकै काम गर्छन तर त्यहाँको डलरलाई नेपाली पैसामा रुपान्तरण गरेर भन्छन कि हामी नेपाली पैसामा यति कमाउँछौं जुन निन्दनीय छ । यसमा युवाहरुलाई अमेरिका जानुको साटो त्यो ५० लाख नेपालमै लगानी गर्ने अनि उचित जीवनशैली पनि बनाउनेमा राज्यले किन ध्यान नदिने त्यसो भयो भने थुप्रै सामाजिक समस्याहरुको पनि हल हुन्छ र अनिमात्र हामी सोच्न सक्छौं कि स्वाधीनता वा आत्मनिर्भरता । हामी छाती फुलाएर बोल्न सक्छौं कि हाम्रो देश एक सबल, सक्षम र आत्मनिर्भर देश हो र हामी आत्मनिर्भर देशका सक्षम जनता हौं । संसारलाई एक नमुना देशको परिचय दिन सक्छौं । हामी कति दिन अरुको देश निर्माणमा योगदान गर्ने ??? अब आफ्नै देश बनाउन तिर लागौं ।
४. निष्कर्ष
हामी सबै नेपालीहरु मिलेर हाम्रा पुर्खाको स्वाधीन र सार्वभौमिक बन्ने कुरालाई अक्षरशः लिएर अव अन्तरनिर्भर बन्ने अभियानमा लाग्नुपर्छ । देशमा भएको युवा शक्तिको जोश, जाँगर र बललाई नेपाल निर्माणमा लगानी गर्नुपर्छ । रातारात धनी बन्ने होईन कि दिगो तरिकाले सम्मानित जीवन कसरी विताउने भन्ने पक्षमा ध्यान दिनु नै अहिलेको आवश्यकता हो । सिंगापुर एकजना कुशल नेतृत्वको कारणले हाल कुन अवस्थामा पुग्यो ? दक्षिण कोरिया लगायत हामी भन्दा पनि कमसल देशहरुको आर्थिक विकासको सूचकांक अहिले कहाँ छ ? यसको सही महसुशीकरण गरी, हाम्रो देशको शान सगरमाथा जस्तै उचो राख्न तपाई हामी सबैले श्रम तथा उत्पादनमा जोड दिनै पर्छ । परिश्रमी नेपालीको पहिचान देशभित्रै गराउनु आवश्यक छ । one person can make a different भने जस्तै , कसले के गर्यो होईन कि मैले के गरेर अन्तरनिर्भर बन्ने वा विश्व मै असल नेपालीको पहिचान देखाउने कुरामा लागौं । गरे पछि नहुने भन्ने केही पनि रहेनछ, हामी सक्छौं र हामी गर्छौ, यसका लागि आजै देखि एकीकृत र दिगो विकासका योजना निर्माण गरौं । तपाई र म सकारात्मक भएर लागौं , अरुले के गरे भन्नेतिर धेरै ध्यान नदिऊ । अनि मात्र देश बन्छ आत्मनिर्भर वा अन्तरनिर्भर । जय देश जय स्वाभिमान ।
सल्लाह तथा सुझाव karnanepali777@gmail.com;
