रुकुम पश्चिममा स्थापना भएका तीन वटा सरकारी कार्यालयले जनतालाई सेवा दिन सकेका छैनन् । तामझामका साथ उद्घाटन गरिएका ती कार्यालयहरुको अहिले कार्यालयमा साईनबोर्ड मात्र झुण्डिएको छ । बजेट तथा कर्मचारी व्यवस्थापन विनै हचुवाको भरमा कार्यालय स्थापना गर्दा यस्तो समस्या भएको हो । रुकुम पश्चिमको चौरजहारीमा यातायात सेवा कार्यालय र आठविसकोटमा स्थापना भएको नापी र मालापोत कार्यालयमा बर्षौसम्म नागरिकलाई सेवा छैन । नागरिकको महत्वपूर्ण सेवा जोडिएका कार्यालय नै बषौंसम्म संचालनमा नआउँदा सेवाग्राहीहरु अचम्ममा परेका छन ।
रुकुम पश्चिमको चौरजहारीमा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालय स्थापना भएको तीन बर्ष सम्म पनि सेवा दिन दिन सकेको छैन । २०७६ भदौमा कार्यालय स्थापना भएपनि हालसम्म मन्त्रालयले कर्मचारी व्यवस्थापन नगरिदिदा नागरिकलाई सेवा दिन नसकिएको कार्यालय प्रमुख प्रदिप रेग्मीले बताए । उनका अनुसार सेवा सूचारु गर्न जनस्तरबाट ब्यापक जनगुणासो आएपनि कर्मचारी अभावका कारण सेवा दिन नसकेको बताए । कर्मचारी अभावका कारण कार्यालय उद्घाटन बाहेक अन्य कुनै काम भएको छैन । ‘जतिसक्दो छिटो आवश्यक कर्मचारी व्यवस्थापन गरिदिन मन्त्रालयमा पटक पटक मैले माग गरेको छु, नयाँ मन्त्री ज्यूलाई पनि जानकारी गराएको छु’ प्रमुख रेग्मीले भने, ‘यसपटक जसरी पनि कर्मचारी व्यवस्थापन गरेर सेवा सुचारु गराउने आश्वासन आएको छ, के हुन्छ हेरौं ।’
यातायात व्यवस्था सेवा कार्यालय कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको हो । वर्षाैदेखि यस क्षेत्रका सेवाग्राहीले यातायातसम्वन्धी काम गर्न दाङ, सुर्खेत र नेपालगञ्ज जानुपर्ने वाध्यतालाई मध्यनजर गरी चौरजहारीमा यातायात कार्यालय स्थापनाको भएको थियो । चौरजहारीमा यातायात सेवा कार्यालय स्थापना भए सँगै साना तथा ठूला सवारी साधनको लिखित एवं ट्रायल परिक्षा, विल वुक नविकरण, सवारी साधनको नाम सारी लगायतका सेवा प्रदान मार्फत रुकुम पश्चिम, सल्यान र जाजरकोट लगायतका नागरिकलाई सेवा दिने उदेश्य राखिएको थियो । कार्यालय स्थापना हुँदा जिल्लामै यातायात सम्बन्धी सेवा पाउने आशा राखेर खुसि भएका सेवाग्राहीहरु अहिले निराश भएका छन । सांसद वा मन्त्री हुँदा आफुले काम गरेको देखाउनलाई चुनावताका प्रचार गर्न कार्यालय उद्घाटन गर्ने संस्कारले नागरिकमा झन निराशा पैदा गर्ने रुकुम मुसिकोटमा स्थानीय भरत ओलीले जानकारी दिए । उनका अनुसार कार्यालय उद्घाटन संगै सेवा सुचारु गर्न सरोकारवाला निकायहरु लाग्नुपर्ने उनको भनाई छ ।
रुकुम पश्चिमका नागरिकले अहिले यातायातको सेवा लिन दाङ, सुर्खेत र नेपालगञ्ज लगायतका क्षेत्रमा जानुपर्ने बाध्यता छ । त्यस्तै रुकुमको आठविसकोट नगरपालिकामा स्थापना भएका दुई सरकारी कार्यालयहरुको अवस्था पनि त्यस्तै छ । मन्त्रीपरिषदले नै निर्णय गरेर आठविकासकोटमा स्थापना भएको मालपोत र नापी कार्यालय हालसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । कार्यालय उद्घाटन भएको ४ महिना वितिसक्दा पनि कार्यालयमा साइनबोर्ड झुन्ड्याउने बाहेक अन्य प्रगति भएको छैन । कार्यालय स्थापना भएपनि लामो समय सम्म सेवा प्रदान नगरेपछि त्यस क्षेत्रका नागरिकहरु समेत आन्दोलित बनेका छन । सदरमुकाम मुसिकोटमा रहेका मालपोत तथा नापी कार्यालयबाट त्यस क्षेत्रका नागरिकलाई सेवा लिन टाढा पर्ने भएपछि नगरमै सेवा दिन कार्यालय स्थापना भएको थियो ।
उद्घाटन गरिएको चार महिना बितिसक्दा पनि रुकुम पश्चिमको आठबिसकोटमा स्थापना भएको नापी तथा मालपोत कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन । आठबिसकोट स्थित भाडाको घरमा उक्त कार्यालय स्थापना गरिएको हो । केहि दिनमै सञ्चालनमा आउने आश्वासन देखाए पनि अहिलेसम्म कार्यालय सञ्चालनमा आएको छैन । स्थानीय स्तरबाटै जग्गा सम्बन्धि हरेक कामकाज गराउन पाउने भएपछि हर्षित भएका स्थानियहरु स्थापना भएको चार महिना पुग्नै लाग्दा कार्यालयको ढोका समेत नखुल्दा स्थानीय मर्कमा परेका छन् । मालपोत कार्यालय प्रमुख तोकिएका निलधोज पाण्डेले बजेट अभावका कारण सेवा दिन नसकिएको बताए ।
‘मलाई कार्यालय प्रमुखको जिम्मेवारी सहितको परिपत्र आयो, केन्द्रबाट सरहरु र मन्त्री ज्यू सहितको टिमले कार्यालय उद्घाटन भयो’ उनले भने, ‘म प्रमुखले मात्र केहि गर्न सक्ने अवस्था भएन, कार्यालय उद्घाटन भएपनि आवश्यक बजेट व्यवस्था नहुँदा सेवा प्रदान हुन सकेको छैन ।’ उनका अनुसार केन्द्रबाट नै बजेटको व्यवस्था नभएको कारण यस आर्थिक बर्षमा सेवा दिन संभव नहुन सक्ने र बजेट व्यवस्था भएर आए अर्को आर्थिक बर्षबाट मात्र कार्यालय संचालन हुने उनको भनाई छ । त्यस्तै नापी कार्यालय पनि उद्घाटन गरिएपनि बजेट अभावका कारण सेवा संचालनमा छैन ।
