रुकुम पश्चिमका एक परिवारले आफ्नी स्वर्गीय आमाको नाममा ५ लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन । रुकुम पश्चिम मुसीकोट नगरपालिका ४, सोलाबाङ निवासी समाजसेवी योगमाया ओलीको निधन भएको ४५ औं तिथिको अवसरमा छोराहरु पूर्ण ओली र प्रकाश ओली लगायत परिवारका सदस्यहरुको सहयोगमा उक्त कोष स्थापना गर्ने घोषणा गरिएको हो । राप्ती साहित्य परिषदका केन्द्रीय सदस्य समेत रहेका छोरा पूर्ण ओलीको घरमा राप्ती साहित्य परिषद रुकुम शाखाले आयोजना गरेको शोकसभा तथा रुकुम साहित्यमालाको ९५ औं शृङ्खला कार्यक्रममा उक्त घोाषणा गरेको हो । कार्यविधि बनाएर केहि दिन भित्रै उक्त रकम कोष संचालक राप्ती साहित्य परिषद रुकुमलाई प्रदान गरिने छ ।
उक्त रकमको लाभांशबाट प्राप्त रकम मध्य ७० प्रतिशत रकमबाट लोक साहित्यमा विशिस्ट योगदान गर्ने कर्णाली प्रदेश भित्रका एकजना साहित्यकारलाई सम्मान गरिने छ भने ३० प्रतिशत रकमबाट स्थानीय बालकल्याण मावि सोलाबाङ रुकुम पश्चिममा अध्ययनरत एसईईमा उत्कृष्ट अंक ल्याउने दुई जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिने भएको छ । स्वर्गीय योगमाया ओली ठाडी भाकामा रुचि राख्ने र बालकल्याण मावि सोलाबाङ रुकुम (पश्चिम्) को विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत भैसकेको समाजसेवी भएकोले यी दुई क्षेत्रमा अक्षयकोषको रकम वितरण गरिने बताईएको छ ।
उक्त कार्यक्रममा वक्ताहरुले समाजसेवी स्वर्गीय योगमाया ओलीको सामाजिक योगदानको व्यापक चर्चा गरेका थिए । त्यस्तै स्वर्गीय ओलीको योगदामा केन्द्रीत रचनाबाचन समेत गरिएको थियो । राप्ती साहित्य परिषद रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा भएको शोकसभा तथा रुकुम साहित्यमालाको ९५ औं शृङ्खला कार्यक्रममा प्रगतिशिल लेखक संघका केन्द्रीय सचिब गिरीप्रसाद बुढाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा राप्ती साहित्य परिषद रुकुमका सल्लाहकार तथा मुसीकोट खलंगा बहुमुखि क्याम्पसका उपप्राध्यापक मुकुन्द शर्मा, परिषदका सल्लाहकार तथा आहा सञ्चार साप्ताहिकका सम्पादक मेगराज खड्का, परिषदका सदस्य एक्कबहादुर केसी, प्राइमटाइम टेलिभिजनमा रुकुम संवाददाता भरत चन्द लगायत ओली परिवारका सदस्यहरुको सहभागीता रहेको थियो ।
