रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका वडा नम्बर १० मा रहेको वाल कल्यान माध्यामिक विद्यालय टोट्केका विद्यार्थीहरुलाई खुवाईने दिवाखाजाका विषयमा भएको गलत प्रचारवाजी प्रति विद्यालयले आपत्ति जनाएको छ । विद्यालयले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रावि तहका बालबालिकाहरुलाई खुवाउने दिवाखाजा कार्यक्रम अन्तर्गत विद्यालयमा सडेको अण्डा खाजा खुवाएको भनेर केहि सामाजिक सञ्जाल प्रयोगकर्ता तथा अनलाइन सञ्चार माध्यमहरुमा आएको समाचारप्रति ध्यानकर्षण भएको बताएको हो ।
विज्ञप्तीमा उक्त समाचारहरुको खण्डन गर्दै विद्यालय जस्तो पवित्र संस्थाको बदनाम गराउन फेसवुक तथा अनलाइनहरुमा कुप्रचार गरिएको उल्लेख गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरवहादुर खड्का र प्रध्यानध्यापक खम्मबहादुर केसीको हस्ताक्षरमा निकालिएको उक्त विज्ञप्तीमा कार्तिक २६ गते शुक्रबारको दिन दिवा खाजा खुवाउने क्रममा २ वटा अण्डा विग्रेको भेटिएपछि त्यसलाई फाल्न लगाएर थप राम्रो अण्डा खुवाएको स्पष्ट पारेको छ ।
पोल्ट्रीफमबाट उत्पादित अण्डामा चल्ला बन्न नसक्ने तथ्य हुदा हुदै फेसवुक तथा अनलाइनमा आएको समाचारमा सडेको अण्डामा चल्ला भेटिएको जस्ता प्रचारवाजी गरेको भन्दै विद्यार्थी तथा अभिभावकहरुलाई भ्रममा नपर्न समेत अनुरोध गरेको छ ।
