काठमाडौं । प्रेस काउन्सिल नेपालले वर्षेनी प्रदान गर्ने गोपालदास पत्रकारिता लगायतका पुरस्कारको निर्णय यतिबेला चर्चामा छ । नेपाली पत्रकारितामा सबैभन्दा बढी गरिमामय ठानिने एक लाख ५१ हजार रुपैयाँको पुरस्कार अग्रज पत्रकार भारतदत्त कोइरालालाई प्रदान गर्ने निर्णय भएको छ ।
कोइराला कुनै राजनीतिक वाद, सिद्धान्त भन्दा माथि उठेको व्यक्तित्व हुन् । उनको अन्तराष्ट्यि व्यक्तित्व छ । एशियाको नोवेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार समेत उनले नेपाली पत्रकारिताको विकासमा पुर्याएको योगदानकै कारण पाइसकेका छन् । गोरखापत्र दैनिकको चिफ रिपोर्टरदेखि सम्पादक र महाप्रवन्धकसम्म भइसकेका छन् ।
उनीसहितको पहलमा स्थापना भएको प्रेस इन्टिच्युटबाट सयौं पत्रकार उत्पादन भएका छन् । कोइराला स्वयं काउन्सिलको सदस्य रही यसको कामलाई विवादरहित बनाउने काममा भूमिका खेलेका थिए ।
नेपाली पत्रकारिताका होनहार व्यक्तित्व स्व।गोपालदास श्रेष्ठको सम्मानमा स्थापित उक्त पुरस्कार कोइरालाले भने पाएका थिएनन् । उनीभन्दा थुप्रै कनिष्ठ पत्रकारलाई यसअघि यो पुरस्कार दिइँदा मिडिया र सम्बद्ध निकायबाट चर्को आलोचना पनि भएको थियो । काउन्सिलका अघिल्ला नेतृत्वले सही पात्र छनौट गर्न नसकेको, पुरस्कारमा भागवण्डा गरेको, सम्मानित गर्नुपर्ने व्यक्तित्वलाई अनदेखा गरेको भन्दै विरोध समेत हुँदै आएको थियो ।
अहिले काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत युवा पुस्ताको प्रतिनिधित्व गर्छन् । त्यसमाथि अघिल्लो सरकारले नियुक्त गरेको भन्दै पूर्वाग्रह राख्छन् भन्ने मिडिया बजारमा चर्चा थियो । कान्तिपुर दैनिकमा २० वर्ष सक्रिय पत्रकारिता गरेका बस्नेतले आफ्नो परिपक्वता देखाएका छन् यसपटकको पुरस्कार छनौटमा । उनले यसपटकको काउन्सिल पुरस्कार कुनै राजनीतिक भागवण्डा भन्दा पनि माथि उठेर पत्रकारितामा सक्रिय व्यक्तिलाई छनौट गरेका छन् । यसले काउन्सिलको उचाई त बढाएकै छ, काउन्सिलमा युवा पुस्ताको नेतृत्वलाई स्वीकार्य पनि गराएको छ ।
धेरैले अनुमान गरेभन्दा विपरित प्रेस काउन्सिल नेपालले यो वर्षको अन्य पुरस्कार पनि पत्रकारितामा सक्रिय भएकालाई मात्र रोजेको छ ।
अघिल्लो केपी ओली सरकारले नियुक्त गरेका काउन्सिल पदाधिकारीले एमाले निकटका पत्रकारलाई मात्र छानीछानी पुरस्कार दिन्छ भन्ने कतिपयको बुझाईलाई समेत काउन्सिलले चिरेको छ । देशका विभिन्न दूरदराजमा रहेर कठिन साथ काम गरिरहेका व्यावसायिक पत्रकार पुरस्कार पाउने सूचीमा परेका छन् । यसले काउन्सिलको निष्पक्षतालाई समेत दर्शाएको छ ।
काउन्सिलले ६ गते बुधवार आफ्नो वार्षिकोत्सवका अवसरमा नेपाली पत्रकारिताका पायोनियर व्यक्तित्व भारतदत्त कोइरालासहितलाई यी पुरस्कार प्रदान गर्दैछ ।
बरिष्ठ पत्रकार कोइराला नेपालमा ग्रामीण विकासमूलक पत्रकारिताको सम्द्र्धनमा एक नम्बरमा नाम आउँछ । त्यतिमात्र होइन, उहाँ प्रेस काउन्सिलको स्थापना र विकास, नेपाल प्रेस इन्स्टिच्युट, नेपाल टेलिभिजन र मिडिया विकास कोषको स्थापनामा अगुवाई गर्ने मध्येमा पर्छन् । ८० वर्ष उमेर हाराहारीका बरिष्ठ पत्रकार कोइरालालाई यो पुरस्कारमा छनौट गरी काउन्सिलले निकै परिपक्वता देखाएको छ ।
काउन्सिल स्रोतका अनुसार, अध्यक्ष बस्नेतलाई कोइरालाको सट्टा अन्य नाम गोपालदाश पुरस्कारका लागि छान्न विभिन्न राजनीतिक केन्द्रबाट दवाव नआएको होइन । अन्य नामहरु आउँदा पनि उनले अग्रजहरुसँग सल्लाह लिए, बोर्ड सदस्यहरुसँग घण्टौं बसे । र, गोपालदाशसहित विभिन्न पुरस्कारको निर्णयमा पुगेका थिए । यसपटकका सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार एक लाख १० हजार राशिसहितको भने पोखराका बरिष्ठ पत्रकार बद्रीविनोद प्रतिकलाई दिइने निर्णय भएको छ । काउन्सिलले यस्तो छनौट प्रक्रियालाई निरन्तरता दियो भने पहिले धूमिल भएको पुरस्कारप्रतिको धारणा मेटिदै जानेछ र काउन्सिलको प्रतिष्ठा र गरिमा झनै बढ्ने पक्का छ ।
छनौटमा परेका सबै पत्रकारलाई राष्टपति विद्यादेवी भण्डारीबाट पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको बुझिएको छ ।
