आइएनएफ सुर्खेतले महिलाहरुमा हुने प्रसव फिस्टुला सम्वन्धी समस्या भए निःशुल्क उपचार गर्न जानकारी गराएको छ । रुकुम सदरमुकाम खलंगामा सोमबार जानकारीमुलक कार्यक्रमको आयोजना गरि यस्तो जानकारी दिएको हो ।
संस्थामार्फत सुर्खेतको प्रदेश अस्पताल परिसरमा स्थापना भएको फिस्टुला अस्पतालमा यसको निःशुल्क उपचार गरिने जानकारी गराएको हो । संस्थाले फिस्टुला समस्या भएका महिलाहरुको निःशुल्क उपचार संगै विरामीहरुलाई अस्पताल सम्म जान र आउन भाडा समेत उपलब्ध गराउदै आएको छ । गैरसरकारी संस्था महासंघ रुकुम पश्चिमका अध्यक्ष नारायणकुमार शाहको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला स्थित सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो । प्रसव फिस्टुला भन्नाले सुत्केरी हुँदा वा अन्य समस्याबाट महिलाहरुको दिसा तथा पिसाव नलिमा प्वाल परेर दिसा वा पिसाव चुहिरहने समस्या हो ।
पुरुषहरुमा पनि फिस्टुलाको समस्या हुने गरेको भएपनि उक्त संस्थाले महिलाहरुको मात्र फिस्टुलाको निःशुल्क उपचार गर्दै आएको छ । यस सम्बन्धी समस्या भए फिस्टुला उपचार केन्द्रको फोन नम्बर ०८३५२०९१५ र ९८६४७३८८९८ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।