रुकुम पश्चिमका पालिका प्रमुखहरुको बैठकले कोभिड महामारीबाट जनताको सुरक्षा गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति कार्यक्रम तय गर्ने निर्णय गरेका छन ।
जिल्ला समन्वय समिति प्रमुख राजकुमर शर्माको संयोजनमा भएको बैठकमा विगतका कार्यक्रमहरुको समीक्षा गर्दै आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा समेटनुपर्ने विषयबारे विस्तृत रुपमा छलफल भएको छ । जिल्लास्थित छ वटै पालिहरुमा कोभिड–१९ महामारीका कारण सोचेजति काम गर्न नसकिएतापनि लक्ष अनुरुपका कार्यक्रमहरु आधारभूत रुपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ । आगामी वर्षको लागि कोभिड महामारी न्युनिकरण र विगतका अधुरा आयोजनाहरु सम्पन्न गर्ने कार्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने निर्णय भएको जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले जानकारी दिए ।
पूर्वमन्त्री एवं सांसद जनार्दन शर्माको पहलकमी, पालिका र जिल्लास्थित सरकारी निकाय तथा स्वास्थ्य संस्थाहरुको सक्रिय परिचालनका कारण जिल्लामा कोभिड महामारीले उग्र रुप लिन नपाएको निष्कर्ष निकालिएको बताइएको छ ।
मुसिकोट नगरपालिकामा दुग्ध उद्योग, चौरजहारी नगरपालिकामा बीउ प्रशोधन उद्योग तथा आठविसकोट नगरपालिकामा ड्राइफुड र काष्ठ उद्योग सञ्चालनमा ल्याउने गरी नयाँ कार्यक्रम तय गर्ने निर्णय भएको छ । यसैगरी सानीभेरी गाउँपालिकामा गार्मेन्ट उद्योग, त्रिवेणी गाउँपालिकामा अदुवा प्रशोधन उद्योग र बाँफिकोट गाउँपालिकामा जलविद्युत र गलैंचा उद्योग सञ्चालनमा ल्याउने गरी बजेट विनियोजन गरिने भएको छ ।
पूर्वमन्त्री जनार्दन शर्माले कोभिड नियन्त्रणलाई उच्च प्राथमिकता दिएर नीति कार्यक्रम तय गर्न पालिका प्रमुखहरुलाई आग्रह गरे । उनले रुकुम पश्चिमलाई केही वर्षभित्रै गरिबीमुक्त जिल्ला बनाउने गरी अघि बढ्न निर्देशन गदिएको आठविसकोट नगरपालिका प्रमुुख गोरखबहादुर केसीले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु