डिल्लीबहादुर खत्री
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा स्थापना भएको आरटि पिसिआर मेसिन पछिल्लो समय बन्द भएको छ । कोरोनाको दोस्रो लहर बढेसंगै पिसिआर मेसिन मार्फत स्वाव परिक्षण गर्नुपर्ने आवश्यकता बढेपनि आर्थिक अभावले कोरोना परिक्षण बन्द भएको छ ।
कोरोनाको पहिलो लहर शुरुभएलगतै कर्णाली प्रदेश सरकार र चौरजहारी नगरपालिको सहयोगमा वडा न. २ मा आरटि पिसिआर कोरोना परिक्षण प्रयोगशाला सञ्चालनमा ल्याईएको थियो ।
रुकुम, जाजरकोट, सल्यानका कोरोना बिरामीको स्वाब जांच गर्न चौरजहारीमा प्रयोगशाला सन्चालनमा ल्याइएको हो । तर बजेट र जनशक्ति अभावले उक्त प्रयोगशाला ५ महिनादेखि बन्द भएको छ । नगरपालिकाले पटकपटक प्रदेश र संघीय सरकारमा प्रयोगशाला पुनः सञ्चालनमा ल्याउन माग गर्दै आए पनि कुनै सुनुवाइ हुन सकेको छैन । पिसिआर प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि नगरपालिकाले एन्टिजन परिक्षणबाट कोरोना परिक्षण गर्दै आएको थियो त्यो पनि किट सकिदा ४ दिनदेखि बन्द भएको छ । दोस्रो चरणको कोरोना महामारी बढीरहेको छ । यस्तो अवस्थामा समेत कोरोना परिक्षण हुन सकेको छैन ।
नगर स्वास्थ्य शाखा सहसंयोजक डन्ड शर्माका अनुसार किट सकिएको जानकारी सहित जिल्ला स्वास्थ्य कार्यालय लगायतका निकायमा किटको माग गरिएको छ । ‘अहिले जिल्ला स्वास्थ्य कार्यालयमा समेत किट अभाव भएकोले अझै किट पुग्न १/२ दिन लाग्छ , किट पुग्ने बित्तिकै फेरि परिक्षणको दायरा बढाउछौ’ उनले भने ।
