रुकुम पश्चिममा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । २०७८ सालमा सञ्चालन हुने १२ औं जनगणना सञ्चालनका लागि जिल्ला कार्यालय स्थापना गरिएको हो । चैत १ गते देखि २०७८ असार मसान्तसम्मको कार्यअवधीका लागि स्थापना भएको यस कार्यालयले जिल्ला भित्रको जनशक्ति व्यवस्थापन, परिचालन र तालिम सञ्चालन लगायतका काम गर्ने जिल्ला जनगणना अधिकारी मेघराज पौडेलले जानकारी दिए ।
उनका अनुसार उक्त कार्यालय मार्फत गणकहरुबाट भरिएका प्रश्नावली फारमहरुको सुरक्षित भण्डारण र केन्द्रीय तथ्यांक बिभागमा पठाउने कार्य पनि गर्नेछ । जिल्ला कार्यालय संगै जिल्लाका अन्य ३ ठाउँमा पनि स्थानीय जनगणना कार्यालय स्थापना हुनेछन । जस अनुसार रुकुम पश्चिमका दुई÷दुई वटा स्थानीय तह हेर्नेगरि आठविकासकोट, चौरजहारी र मुसीकोटमा स्थानीय कार्यालय समेत रहने छन । जसबाट स्थानीय स्तरका गणक र सुपरिबेक्षकको परिचालन हुनेछ । जिल्लामा २ सय बढी गणक तथा सुपरिबेक्षक खटिने भएपनि हालसम्म छनोट भएका छैनन । तथ्यांक बिभागले यसपटक केन्द्रबाटै अनलाईन मार्फत गणक तथा सुपरिबेक्षक आबेदन मागेको र केन्द्रबाटै छनौट हुने बताईएको छ । देश संघिय संरचनामा गएपछिको पहिलो जनगणना भएका कारण सहि विवरण आउन सबैले आआफ्नो ठाउँमा सहयोग गर्न जिल्ला जनगणना कार्यालय सबैमा अनुरोध गरेको छ ।