सर्जना कार्की
रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर ३ पोखरामा मह उद्योग सञ्चालनमा आएको छ । पोखरामा स्थापना गरिएको मौरी पालन तथा मह उद्योगको साता अघि सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले उद्धघाटन गरिन ।
टीडीएच विएमजेटको आर्थिक सहयोगमा हुरेड–कार्स नेपाल रुकुम पूर्व द्धारा सञ्चालित खाद्य सुरक्षा तथा वातावरणमैत्री उद्यम प्रवर्दन परियोजना अन्तर्गत पोखरामा उद्योग स्थापना गरिएको हो । माहुरीको पकेट क्षेत्र घोषणा गरिएको पोखरामा व्यवसायिक रुपमा मह उत्पादन हुने भएपनि उद्योग पनि स्थापना गरिएको हो । उक्त उद्योग पोखरामै रहेको सिर्जनशील माहुरी पालन सहकारी संस्थामार्फत सञ्चालन हुने छ । उद्योगमा माहुरी पालन व्यवसाय गर्दा चाहिने विभिन्न आवश्यक सामाग्रीसँगै मह छान्ने मेसीनहरु छन् भने बजार नपाएको मह पनि संकलन गरिने सहकारीका अध्यक्ष ओमप्रकाश खड्काले बताए । हुरेड–कार्सले स्थापना गरेको उक्त उद्योग पूर्ण रुपमा सहकारीको स्वामित्वमा रहनेगरी हस्तान्त्रण गरिएको हुरेड कार्सका अध्यक्ष दामोदर गौतमले घोषणा गरे । यस्तै वडाका १५ जना कृषकलाई माहुरीसहितका घार वितरण गरिएको छ । वडाका १५ जना कृषकलाई पाँच पाँचवटाका दरले माहुरीसहितका आधुनिक घार वितरण गरिएको छ । यस्तै उनिहरुलाई मह काढ्ने बेलामा चाहीने सामाग्रीहरु पनि वितरण गरिएको छ । उद्योग स्थापना, घार वितरण र तालिम सञ्चालन सबैमा गरेर साढे ११ लाख रकम खर्च भएको हुरेड कार्स रुकुम पूर्व ले जनाएको छ । मह उद्योग उद्धघाटन एवम् घार वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बरालले स्थानीय सरकारले गर्दै आएको काममा हुरेड कार्सले इट्टा थप्ने काम गरेको बताईन । कृषकहरुलाई पनि आफुले पाएका सामाग्रीको सहि सदुपयोग गरेर व्यवसायिक बन्न अध्यक्ष बरालले आग्रह गरिन । यस वर्ष गाउँपालिकाले पनि पकेट क्षेत्रमा माहुरी प्रवद्र्धन वर्ष मनाउने नीति लिएको छ ।
सिर्जनशील माहुरी पालन सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश खड्काको अध्यक्षतामा भएको मह उद्योग उद्धघाटन एवम् घार वितरण कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराललको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा नेकपा सिस्ने गाउँपालिका इन्चार्ज वासुदेव गौतम, नेकपा गाउँपालिका अध्यक्ष महेन्द्र केसी, ३ नम्बरका वडा अध्यक्ष पशुपति खड्का, हुरेड कार्स रुकुम पूर्व का अध्यक्ष दामोदर गौतमलगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन खाद्य सुरक्षा तथा वातावरणमैत्री उद्यम प्रवर्दन परियोजनाका जिल्ला संयोजक उत्तम अर्यालले गरेका थिए ।