त्रिबेणीका किसान अदुवा खेतीतिर

Byआहा सञ्चार

२०७७ कार्तिक २६, बुधबार १२:०९

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका किसानले यसवर्ष खेतबारीमा लगाएको अदुवाखेती फस्टाउँदै गएको छ । जिल्लामै अदुवा पकेट क्षेत्रको रुपमा चिनिएको त्रिवेणीका १० वडाका किसानले लगाएको अदुवाखेती फस्टाएको हो । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका किसानले नगदेबालीको रुपमा वर्षेणी अदुवा खेती गर्दै आएका छन् ।
अन्नबाली भन्दा नगदेबालीका रुपमा लिईएको अदुवाखेतीबाट राम्रो आम्दानी हुने भएकाले त्रिवेणीका १० वटै वडाका किसानले अदुवाखेती गर्दै आएका हुन् । अदुवा उत्पादनका लागि पकेट क्षेत्रका रुपमा चिनिएको त्रिवेणीमा यसवर्ष पनि किसानको पाखो र खेतबारीमा लगाएको अदुवा फस्टाएको छ । अदुवा खेतीमा गहुँ तथा मकै बाली जस्तो धेरै दुख नहुने भएकाले यसबाट गाउँमै राम्रो आम्दानी गर्न सकिने किसान रोशन ओलीको भनाई छ । त्रिवेणीको दहबाङ्गमा यसवर्ष अदुवा प्रशोधन केन्द्र समेत निर्माण भएकाले यहाँका किसानमा थप उत्साह बढेको छ । किसानले वर्षेणी उत्पादन गरेको अदुवा निर्यातमा विचौलियाका कारण बजारभाउमा समस्या देखिएकाले गाउँपालिकाले नै १० वटै वडाका अदुवा किसानलाई लक्षित गरी यसवर्ष अदुवा प्रशोधन केन्द्र स्थापना गरेको छ ।
तर गाउँपालिका अध्यक्ष झक्कुप्रासद घर्तीले भने अदुवा प्रशोधन मेसिन आउन ढिलाई भएकाले केहि समयपछिबाटमात्र अदुवा प्रशोधनको काम शुरु हुने बताए । अदुवा प्रशोधन केन्द्रमा गाउँपालिकाका ३ हजार ५ सय ६५ घरधुरी लाभान्वित हुने भएका छन् । विशेषगरी त्रिवेणीको मुरु, खारा र पेउघाका किसानको खेतबारीमा वर्षेणी ४ टन भन्दा बढि अदुवा उत्पादन हुने गर्दछ ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto