आहा सञ्चार

सोमबार मुसीकोट नगरपालिकामा नगर बिपद् ब्यबस्थापन समितिको बैठक सम्पन्न भएको छ । बैठकले बिश्वमा महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड १९) बाट सचेत रहन माइकिङ र गस्ती गरेर जनतालाई सुसुचित गर्नुका सँगसँगै सचेतनामुलक पर्चा पम्पलेट बितरण गर्ने र अत्यावश्यक काम बाहेक बाहिर ननिस्की घरभित्रै बस्न अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै बिपद् ब्यबस्थापन कोषमा यस आर्थिक बर्षमा बिनियोजित भएको रकम रु. ७ लाख बिपद् ब्यबस्थापन कोष सञ्चालन कार्यबीधि २०७५ अनुसार खर्च गर्ने, एम्बुलेन्स तथा आवश्यक सवारी साधनहरुको ब्यबस्था गर्ने र बिदेश वा बाहिरबाट आएका ब्यक्तिहरुलाई स्वास्थ्य चेकजाँच गर्न आउनका लागि अनुरोध गर्ने र सो कार्यका लागि वडा कार्यालयहरुले आवश्यक सहयोग गर्ने ब्यबस्था मिलाउने निर्णय गरेको छ । त्यसैगरि वडा स्तरमा सुचना प्रणालीलाई ब्यबस्थीत गराइ दैनिक रुपमा सूचना प्रबिधि शाखा मार्फत नोभल कोरोना भाइरस (कोभिड – १९) सम्बन्धीका सम्पूर्ण जानकारीहरु प्रकाशन प्रसारण गर्ने, नोभल कोरोना भाइरस (कोभिड – १९) सम्बन्धीका आवश्यक जानकारी तथा सुचनाहरु उपलब्ध गराउन र आफ्नो घर, छिमेक र टोलमा बाहिरबाट आएका ब्यक्तिहरुको सूचना दिन पैसा नलाग्ने नम्बर १६६०८८५३००१ सञ्चालन गर्ने, वडा कार्यालय लगायत बढि भिडभाड तथा आवत जावत हुने स्थानहरुमा हात धुने ब्यबस्था गर्न र उक्त ठाउँको सरसफाई गर्न वडा कार्यालयहरुलाई निर्देशन गर्ने लगायतका निर्णय गरेको बताइएको छ ।

स्थानीय बिपद् ब्यबस्थापन समितिका संयोजक एबं नगर प्रमुख देबीलाल गौतमको अध्यक्षतामा सोमबार सम्पन्न बैठकले आवश्यक औषधी एबं अन्य सामाग्री खरिद गर्नका लागि खरिद इकाइलाई जिम्मा दिन, बिपद् ब्यबस्थापन कार्यमा खटिने कर्मचारीहरुको लागि आवश्यक सामाग्री र संघिय सरकारले उपलब्ध गराए बमोजिमको प्रोत्सहान भत्ता उपलब्ध गराउने, नोभल कोरोना भाइरस (कोभिड – १९) रोकथामका लागि आवश्यक सहयोग गर्ने संघ संस्था र ब्यक्तिहरुले नगरपालिकासँग आवश्यक समन्वय गरि सहयोग बितरण गर्न सक्ने ब्यबस्था मिलाउने, क्वारेन्टाइन निर्माणका लागि जिल्ला बिपद् ब्यबस्थापन समितिसँग आवश्यक समन्वय गरि बिद्यालयहरु, शहिद स्मृति सभाहल तथा स्व–इच्छीक रुपमा उपलब्ध हुन सक्ने घर, होटेल, रेष्टुरेन्टहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न आवश्यक तयारी गर्ने पनि निर्णय गरेको छ । नगरपालिकाको सभाहल सेरीगाउँमा सम्पन्न बैठकले बिभिन्न स्थानमा स्वास्थ्य सहायता कक्ष निर्माण गरि सञ्चालन गर्नका लागि स्वास्थ्य शाखालाई जिम्मेवारी दिने, नगरपालिकाभित्रका अत्यावश्यक बाहेकका सवारी साधनहरु पूर्ण रुपमा आवत जावत गर्न रोक लगाउने, नगरपालिका अन्तरगत हुने आवश्यक बैठकहरु, फोन÷भिडियो कन्फरेन्स तथा अन्य भर्चुवल बिधिबाट गर्ने र बिपद् ब्यबस्थापन कार्यका लागि आवश्यक निर्णय गर्ने अधिकार नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सुम्पने समेत निर्णय गरेको छ । त्यसैगरि बैठकले नोभल कोरोना भाइरस (कोभिड – १९) सम्बन्धी आवश्यक कार्य गर्न सामाजिक विकास समितिका संयोजक एबं वडा नम्बर ५ का अध्यक्ष शुसिल गौतमको संयोजकत्वमा नेपाल पत्रकार महाँसघका उपाध्यक्ष मनिसा केसी, रुकुम उद्योग बाणिज्य सँघका अध्यक्ष पहल बहादुर खड्का, नेपाल रेडक्रस शोसाइटीका कोषाध्यक्ष यज्ञ बहादुर केसी र नगर सहायक प्रहरी निरिक्षक उमेश केसी सदस्य रहने गरि आपतकालिन प्रतिकार्य गर्ने समिति गठन गरेको छ भने निर्णयहरु कार्यान्वयन भए नभएको अनुगमन गर्न र आवश्यक निर्देशन दिन नगर प्रमुखको संयोजकत्वमा उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र बिषयगत समितिका संयोजकहरु सदस्य तथा स्वास्थ्य संयोजक सदस्य सचिव रहने गरि अनुगमन तथा निर्देशन समिति समेत गठन गरेको छ ।

बैठकमा उप–प्रमुख प्रेम कुमारी सुनार केसी, जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम¬)का प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, नरसिंह दल गण सल्ले ब्यारेकका गणपति दिनेश गौतम, जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम¬)का प्रहरी नायव उपरिक्षक ठकबहादुर केसी, शसस्त्र प्रहरी बल मठका प्रहरी नायव उपरिक्षक धनबहादुर सिंह, मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरविर खड्का, रुकुम उद्योग बाणिज्य सँघका अध्यक्ष पहल बहादुर खड्का, नेपाल पत्रकार महाँसघका उपाध्यक्ष मनिसा केसी, नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष यज्ञ बहादुर केसी, नगरपालिका अन्तरगत बिषयगत समितिका संयोजकहरु, स्वास्थ्य शाखाका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । यसैबिच जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम¬)ले सोमबारदेखि नगरपालिकाको प्राङ्गणमा स्वास्थ्य सहायता कक्ष एबं २ बेडको क्वारेनटाइन निर्माण गरेको छ । शंकास्पद ब्यक्ति वा बाहिरबाट आएका ब्यक्तिलाई १४ दिनसम्म उक्त घरमा राख्न सकिने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto